२९ आश्विन २०८३, बिहिबार

मोदीको कारकेड एक्कासि रोकिँदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modiकाठमाडौं, २१ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको गाडी नयाँबानेश्वर चोकभन्दा दुई सय मिटरवरै एक्कासि रोकियो। सुरक्षा दृष्टिमा कारकेडमा रहेको भिभिआइपीको गाडी बिनासूचना रोकिनु विपतको संकेत थियो।

कारकेड अगाडि रहेका सुरक्षकर्मीले त भिभिआइपी गाडी रोकिएको पत्तै पाएनन्। उनीहरू तोकिएको रुटअनुसार संविधानसभा भवनको गेटसम्मै पुगे।

हवाई गस्तीमा खटिएका दुई हेलिकप्टरसमेत संविधानसभा भवन वरपर पुगिसकेका थिए। पछाडिका सुरक्षाकर्मी भने एक्कासि भिभिआइपी गाडी रोकिएपछि आत्तिएर दौडँदै अगाडि गए।

उनीहरू नजिक पुग्दा मोदी कारबाट निस्किएर सडक किनारमा उभिएका सर्वसाधारणतिर हात हल्लाइरहेका थिए। त्यो देखेपछि बल्ल सुरक्षाकर्मीहरू ढुक्क भए।

‘कारकेड रोकिँदा छाती ढक्क फुल्यो, हात कम्मरमा रहेको पेस्तोलमा पुग्यो,’ मोदीको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले मंगलबार भने, ‘पेस्तोलको पिन अन गरेर भिभिआइपी गाडीतिर दौडँदा उहाँ (मोदी) सवारीभन्दा बाहिर उभिएर हात हल्लाइरहनुभएको देखेपछि बल्ल मन हल्का भयो।’

त्यसपछि बल्लबल्ल हात समातेर मोदीलाई गोलो सुरक्षा घेरा बनाउँदा एक मिनेट समय कटिसकेको थियो। मोदीको सुरक्षा जोखिम विश्लेषण गर्दै नेपाल सरकारले सेनाको कमान्डमा ६ तहको सुरक्षा घेरा कार्यान्वयनमा ल्याएको थियो।

भारतीय ब्ल्याक कमान्डो, नेपाली सेना, नेपाल प्रहरीका तालिमप्राप्त सुरक्षाकर्मीसँगै हवाई सुरक्षामा दुई हेलिकप्टर खटिएका थिए भन्दै आजको नागरिक दैनिकले समाचार लेखेको छ ।

कारकेड निस्किएको समयभन्दा आधा घन्टाअगाडि नै सडक रित्तो पारिएको थियो। सडक किनारको प्रत्येक ५० मिटरमा प्रहरी तैनाथ थिए। अग्ला भवनमा हाइप्वाइन्टको सुरक्षार्थ सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटिएका थिए।