
– गणेश पाण्डे
म बोल्नै सक्दिन…(थर्रर्र काम्दै)…त्यो कालो अँध्यारो कोठा…राति सांढे ९ बजे… बृद्ध आमा र कलिल बालबच्चाको रुवाबासी… (गहभरि आँशु)…अँध्यारो…त्यो २४ दिनको अन्धकार… म वर्णन गर्नै सक्दिन….
२०६९ पुस १० गते । सर्वनाम थिएटरको अँध्यारो कोठा । ‘अन्तिम सन्देश’ र ‘मरेर बाँचेकाहरु’ बृत्तचित्रको प्रदर्शनी भर्खरै सकिएको थियो । मैले धमाधम वरिष्ठ संचारकर्मीहरुलाई प्रतिक्रियाका लागि मन्चमा बोलाउँदै थिएँ । तर, धन्यवाद ‘गणेश भाइ’ भन्दाभन्दै गोपाल बुढाथोकी भन्कानिए । केही समय चुप बसे, आँशुलाई गहबाटै सुकाउने कोसिस गरे, तर सकेनन । र, भक्कानिँदै रोए । २४ दिन लामो मृत्युलोकको सम्झनामा पत्रकारहरुले भरिएको हलमा बर्रर्र आँशु झारे गोपाल दाइले । सुरुमा म आफै अन्यौलमा परें, लाग्यो गोपाल दाइ अब बेहोस भएर ढल्ने भए । तर, आफूलाई थाम्दै आँशु मिश्रित आक्रोशित तर मिलिन अनुहारमा उनी भन्न थाले – ‘मैले आज मेरा अतितका ती कालरात्री सम्झिएँ, सम्झँदै भक्कानो फुटेर आउँछ ।’
बृत्तचित्र ‘मरेर बाँचेकाहरु’ले गोपाल दाइलाई निकै घोचेछ । थप भन्दै थिए–‘मैले त गल्ती गरेर सजाय पाएँ, तर यिनी (बृत्तचित्रका पात्र) हरुले निर्दोर्षीमै हात, खुट्टा गुमाए । मेरो गल्ती यही थियो कि मैले यिनीहरु जस्तै हातखुट्टा गुमाएकाहरुको विषयमा लेखें ।’ सशस्त्र द्वन्द्वका क्रममा राज्यको ज्यादतीका विषयमा लेखेबापत सेनाबाट भोग्नुपरेको यातना स्मरण गर्दै थिए, उनी । सकी–नसकी गोपालले आफ्ना दुर्दिनहरु सुनाइरहँदा हलमा पूरै सन्नाटा छाएको थियो, पत्रकारहरु टंक पन्त, दीपक रिजाल, बालकुमार नेपाल, यम विरही, श्रीओम श्रेष्ठ, सुबासे गोतामे, पूर्वन्यायाधिश डा. हरिबंश त्रिपाठी, संविधानविद् भीमार्जुन आचार्य, अम्बर राउतको अनुहार ओइलाएको फूलझैं भयो । सर्वनाम थिएटरमा गोपाल दाइको त्यो कारुणिक कथा सुन्नेहरु राज्य र उसको व्यवहारप्रति लज्जित भए ।
२०५८ साल फागुन १९ गते राति साँघु साप्ताहिकमा लेखिएको एउटा समाचारको दुई शब्दले गोपाल बुढाथोकीलाई २४ दिनसम्म अन्धकार कोठामा कालो खोल ओढाएर अपराधीझैं हातखुट्टा डोरीले बाँधेर मरेतुल्य जीवन बाँच्न विवश बनायो । जनताको सच्चा पहरेदार भएबापत अपराधीलाई झैं कालो खोल ओढाएर उज्यालो दुनियाँ देख्ने आँखाहरु छोपिए । गोपाल अहिले त्यही सम्झँदै भक्कानिरहेछन् । अर्थात, हाम्रो डकुमेन्ट्रीका केही प्रतिनिधि पात्रहरुझैं गोपाल पनि ‘मरेर बाँचेकाहरु’मा पर्छन ।
गोपाल बुढाथोकीजस्तै हजारौं नागरिक छन, जो मरेर बाँचेका छन् । मानौं, उनीहरु नाफाको जीवन बाँचिरहेका छन् । थुप्रै शारिरीक रुपमा अंगभंग छन्, थुप्रैको दिल–दिमाग दुःखेको छ । मानवीय संवेदनालाई अतिशय पीडाले हल्लाइदिन्छ, ऊ भक्कानिन्छ र आँशु झर्छ । पीडित राज्यबाट होस या माओवादीबाट उसको आँशुको रंग एउटै छ । कहालाग्दो युद्धमा ३० जना भन्दा बढी पत्रकारको त मृत्यु भएको छ, कयौं पत्रकार अहिले पनि बेपत्ता छन्, उनीहरुको अत्तोपत्तो छैन ।
रेनुको रोदन
डकुमेन्ट्री देखाउँदाको अर्को स्मरण पनि ताजै छ । प्रसंग हो, पत्रकार बिके पाल्पालीको ।
‘बिके पाल्पाली राम्रो पत्रकार हुनुहुन्छ, उहाँले १२ वटा त कृति नै प्रकाशित गरिसक्नुभएको छ, उहाँ लेख्नु चाहनुहुन्छ, तर आज उहाँ लेख्न सक्नुहुन्न’ मैले मञ्चमा निम्ता गर्नासाथ काठमाडौंको मण्डला थिएटरको पोडियममा पाल्पाली पत्नी रेनुकाबाट निस्किएको यो वाक्यले सबैको अनुहार मलिन बन्यो । रेनुकाजीका दुवै आँखाबाट छुटेका आँशुका बलेनीले हलमा उपस्थित सबै निःशब्द थिए । रेनुकाजी सम्हालिनुभयो । र, भन्नुभयो — ‘म मेरो श्रीमानलाई बचाउनुस भन्दिन, तर एकजना कुशल पत्रकारलाई बचाइदिनुस ।’
सायद २ बर्षअघि भेट भएको थियो मेरो पत्रकार बिके पाल्पालीसँग, प्रेस चौतारी काठमाडौंको अधिवेशनका क्रममा । उहाँका श्रीमान—श्रीमती दुवै पत्रकार । नयाँ कार्यसमितिमा कस्लाई राख्ने दुविधा भयो । पाल्पालीजी कार्यसमितिमा अटाउनुभयो, उहाँकी धर्मपत्नी रेनुका भट्टराई भने नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा प्रत्यासी हुने तय भयो, सोहीबमोजिम उहाँ सदस्यमा निर्वाचित पनि हुनुभयो पनि । त्यतिबेलादेखि नै मेरो पाल्पाली परिवारसँग औपचारिक सम्बन्ध गाँसिएको हो । पाल्पालीजीसँग प्रेस चौतारी र पत्रकार महासंघले गरेको अनगिन्ती कार्यक्रममा भलाकुसरी गर्नेे मौका मिलेको थियो, उहाँ शिष्ट र शालिन रुपमा प्रस्तुत हुनुहुन्थ्यो ।
योबीचमा पाल्पालीजी बिरामी भएको खबर पाएँ, प्रेस चौतारी उपत्यका कमिटिका अध्यक्ष सन्तराम बिडारी, काठमाडौंका तत्कालिन अध्यक्ष राजीव सिलवाल र नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष गोबिन्द चौंलागाईंमार्फत । उहाँहरु अन्यौलमा हुनुहुन्थ्यो, विगतको आफ्नै कमिटीका साथीको जीवन रक्षा कसरी गर्ने भनेर । प्रेस चौतारी केन्द्रले पनि पाल्पालीलाई सहयोग गर्ने बारे सोचिरहेको थियो, तर पाल्पालीजीका लागि सहयोग छिटो चाहिने भयो । एकरात शन्तराजजीलाई मैले सुझाएँ — मेरो निर्देशनमा बनेको ‘बहादुर बहिनी’ डकुमेन्ट्री देखाएर पैसा उठाउँ, दर्शकहरु पनि मै जुटाउँछु । बिडारीजी सहमत हुनुभयो र निधो भयो डकुमेन्ट्री देखाएर पैसा जुटाउने । उहाँहरु पनि आवश्यक सहयोग जुटाउन सक्रिय हुनुभयो ।
आँटेपछि सहयोगी हातहरु धेरै पाइन्छन् । २०७० असोज २१ गते आयोजित कार्यक्रममा अधिकांश वरिष्ठ पत्रकारहरु आमन्त्रित थिए, प्रेस चौतारी, प्रेस युनियन र नेपाल पत्रकार महासंघका प्रायः सबै पदाधिकारीलाई खबर थियो । तर, सोचे जस्तो उपस्थिति भएन । यो या त्यो बहानामा टार्ने काम गरे, अधिकांशले । अरुको मुख ताक्ने बानी परेका हामीलाई आफैले सहयोग गर्नुपर्छ भन्ने भावना नजागेको दुख्दा दुःख पनि लाग्यो ।
धन्न नेपाल पत्रकार महासंघका तत्कालिन उपाध्यक्ष यशोदा तिमिल्सिना, केन्द्रीय सदस्य दीपक पाण्डे र सल्लाहकार पोषण केसी केहीबेरका लागि भएपनि साथ दिन आइपुग्नुभयो । एनआरएनका नेताहरु तेन्जी शेर्पा, टिबी कार्की, कलाकार भुवन केसी, व्यवसायी गणेशमान लामा र निमा लामा, बैंकर बसुधा पोखरेलले पनि सक्दो सहयोग गर्नुभयो । डकुमेन्ट्री हेरिसकेपछि व्यवसायी होमकुमार श्रेष्ठले त एक्लै ४२ हजार ६ सय प्रदान गर्नुभयो, द्वन्द्वपीडित सावित्री श्रेष्ठले ‘पीडाका ५००० दिन’ नामक आफ्नो पुस्तक बिक्रीबाट प्राप्त २५ हजार ५ रुपैंया सहयोग दिनुभयो । पत्रकार महासंघ काठमाडौंका अध्यक्ष गोविन्द चौलागाईं र प्रेस चौतारी उपत्यका कमिटीका अध्यक्ष सन्तराम बिडारीले १०/१० हजार सहयोग गर्ने घोषणा गर्नुभयो । अन्य अतिथिबाट समेत गरी एक घण्टाको कार्यक्रममा नै ९९ हजार १ सय रुपैंया संकलन भएपछि हामी उत्साहित भयौं, पाल्पालीजीको जीवन रक्षाका लागि गरिएको पहिलो कार्यक्रम थियो, जुन एक हदसम्म सफल भयो । त्यही दिन नेपाल पत्रकार महासंघले पनि पाल्पालीको उपचारार्थ रकम संकलन अभियानको उद्घोष ग¥यो, पदाधिकारीहरुले ५ सय रुपैंया प्रदान गरे भन्ने खबर आयो ।
एकजना पत्रकार थलिए । उनका सिर्जनशील मस्तिष्कमा अनिश्चियको बादल मडारिएको थियो, दुवै मिर्गौला काम गर्दैन, मधुमेह पनि देखियो । मानिस जन्मिएपछि मृत्यु अवश्वमभावी छ । मृत्युलाई कसैले रोक्न सक्दैन । तर, पाल्पालीजीलाई अल्पायुमै हामीबाट टाढा हुन जोगाउन सक्छौं, त्यसका लागि राजधानीमा रहेका संचारकर्मीहरुबाट मात्रै रकम संकलन गर्ने हो भने पनि पर्याप्त थियो । तर, त्यसो गर्न हामी पत्रकारहरुले चाँहदैनौं । ढिलै भएपनि विभिन्न जिल्ला र प्रवासबाट प्राप्त रकमले अहिले पाल्पालीको जीवन रक्षा हुने सम्भवना देखिएको छ, उहाँ पूर्णरुपमा निको नभए पनि ।
यस दिनबाट मेरो मनमा सँधै एउटा कुरा घोत्लिन्छ– नेपाल पत्रकार महासंघ होस या अन्य पेशागत संघसंस्थाका बैठक र कार्यक्रमहरु निकै महंगा हुन्छन् । केन्द्रीय समितिका बैठकमा नाममा डांडाकांडाका सबै होटलहरु भ्याइन्छिन् । खान र पिउन हजारौं खर्च गरिन्छ । राति साथीभाईसंगको जमघटमा हजारौं खर्च गरिन्छ । तर, एकजना श्रमजीवि पत्रकार थला पर्दा हाम्रा पेशागत संघसंस्थाहरुसँग आवश्यक सहयोग गर्ने सामथ्र्य रहन्न ? हामी प्रेस स्वतन्त्रताको नारामात्रै अलापिरहने कि एकजना सहकर्मी बचाउन तिर पनि लाग्ने ? आफ्नै एकजना सहयोद्धा मृत्युको मुखमा पुग्दा पनि बचाउन नसक्ने हो भने पेशागत संघसंस्था पो किन चाहियो ? संचारजगतलाई चौंथो अंगको उपमा दिने राज्य त झन यस्ता संकटमा निरीह बन्ने गर्छ ।
‘मरेर बाँचेकाहरु’ पछि आयो ‘भाग्यले बाँचेकाहरु’
मरेर बाँचेका, अन्तिम सन्देश र बहादुर बहिनी । बितेका चार बर्षमा मैले बनाएका यी वृत्तचित्र सफल छँदै थिए । २०७२ सालको विनाशकारी भूकम्पसँगै आयो मेरो नयाँ वृत्तचित्र– भाग्यले बाँचेकाहरु । बाँच्ने र बचाउनेहरुको कथामा आधारित हाम्रो वृत्तचित्र भाग्यले बाँचेकाहरुले अहिलेसम्म ६ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । ३२ वटा देशको चलचित्र महोत्सवमा नेपालका तर्फबाट छनौट समेत भइसकेको छ । भाग्यले बाँचेकाहरु नेपालका विभिन्न जिल्लामा मात्रै होइन्, अमेरिका, अष्ट्रेलिया र मलेसियामा नेपालीहरुले च्यारिटी शो गरेका छन् । अमेरिकाको दुईवटा विश्वविद्यालयले त मलाई नै निम्ता गरेर प्रदर्शनको अवसर जुराइदिएको थियो । अमेरिकाको सनफ्रान्सिसकोमा यो वृत्तचित्र प्रदर्शनीबाट नेपाली महिला दिदीबहिनीहरुले आपतविपतमा सहयोगका लागि कोष निर्माण गरे ।
भाग्यले बाँचेकाहरु निर्माणका क्रममा तीनवटा सोच थियो– पहिलो, भावी पुस्ताका लागि दस्तावेज बनाउने । दोस्रो, यही वृत्तचित्रका पात्रहरुलाई जीवन निर्वाहका लागि सहयोग गर्ने । तेस्रो– परोपकारी कार्यमा लगाउने ।
हो, त्यसै अनुरुप अहिले हामीले वृत्तचित्रका पात्रहरु २२ घण्टापछि जीवित उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, काठमाडौँ बसपार्कमा ८२ घण्टापछि जीवित उद्दार गरिएका अर्घाखाँचीका ऋषि खनाल, भूकम्पमा परेर दुबै खुट्टा गुमाएका दैलेखका रमेश खत्री र काठमाडौँमै भूकम्पमा परेर मकवानपुरकी प्रिया बिकको १–१ लाख गरी चार लाख रुपैँयाको जीवन बिमा गरिदिन सफल भएका छौँ। यी र यस्तै मृत्युको मुखबाट फर्किएकाहरुलाई हामीले यसअघि जीवन निर्वाहका लागि सहयोग गरिसकेका छौँ । प्रिया विकलाई त एसएलसीसम्म पढ्ने शैक्षिक शुल्क तिरिदिएका छौँ ।
‘भाग्यले बाँचेकाहरु’ ले जसरी अन्तर्राष्ट्रिय जगतमा जसरी चर्चा कमाउन सफल भएको छ, त्यो भन्दा अझ बढी मलाई यो वृत्तचित्रलाई परोपकारी कार्यमा लगाउन पाउँदा निकै खुसी लागेको छ । यस अवधिमा विभिन्न जिल्लामा पत्रकारिता अक्षयकोष स्थापना, पत्रकारिता पुरस्कार स्थापना, विद्यालय निर्माण तथा अन्य सामाजिक कोषका लागि अक्षयकोष स्थापना गर्न ‘भाग्यले बाँचेकाहरु’ को च्यारिटी शो आयोजना गरियो । अहिलेसम्म १६ वटा जिल्लामा प्रेस चौतारी, पत्रकार महासंघ, संचारिका समूह, क्रियाशिल पत्रकार महिलाका लागि १ लाखदेखि ५ लाख रुपैँयासम्मको अक्षयकोष स्थापना गर्न सफल भएका छौँ । यो एउटा नयाँ प्रयोग थियो, डकुमेन्ट्री दर्शकसम्म पनि पु¥याउने अनि पत्रकारसम्बन्धी अक्षयकोष पनि बनाउने । ती जिल्ला जहाँ म पुगेँ र डकुमेन्ट्री देखाउँदै अक्षयकोष बनाउन सहयोग गरें, ती साथीहरुले मलाई सम्झिउन्, नसम्झिउन्, गौण विषय हो । गर्व यसमा छ, मेरो सानो प्रयत्नबाट विभिन्न जिल्लामा बनेका अक्षयकोषबाट बर्षेनी १६ जना पत्रकार सम्मान हुन्छन् । अनि अन्य सामाजिक संघसंस्थाले बनाएको कोषको प्रतिफलबाट समुदायमा विभिन्न रचनात्मक काम भइरहेको छ ।















प्रतिक्रिया