काठमाडौं । नेपाल पत्रकार महासंघको २४ औँ महाधिवेशनले अध्यक्षमा डा महेन्द्र विष्टलाई निर्वाचित गरेको छ ।
डा विष्ट ८०८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी पोषण केसीले ७०४ मत प्राप्त गर्नुभयो । प्रेस चौतारीका तर्फबाट उम्मेदवार बनेका डा विष्ट क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघ नेपालको संयुक्त प्यानलबाट मैदानमा होमिनुभएको थियो । केसी भने प्रजातन्त्रवादीका तर्फबाट उम्मेदवार हुनुभएको थियो ।
प्रेस चौतारीको अध्यक्ष, सचिव, कोषाध्यक्षसहित बहुमत सदस्यमा प्रेस चौतारीले वर्चश्व कायम राखेको छ । महासंघको छ दशक लामो इतिहासमा डा. विष्ट दोस्रोपटक प्रगतिशील समूहबाट अध्यक्ष बन्नुभएको हो ।
उपाध्यक्षमा डा विष्ट समूहकै क्रान्तिकारी पत्रकार संघका खिलबहादुर भण्डारी ७२६ मत ल्याई विजयी हुनुभयो भने उहाँका निकतम् प्रतिस्पर्धी प्रेस युनियनका रामजी दाहालले ७१६ मत प्राप्त गर्नुभयो । समावेशी उपाध्यक्षमा युनियनकै अनिता विन्दू ७७७ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी प्रेस चौतारीका महेश दासले ४४९ मत प्राप्त गर्नुभयो ।
महासचिवमा क्रान्तिकारी पत्रकार संघका उजिर मगरले ५११ मत ल्याई विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी प्रेस युनियनका जगत नेपालले ६९५ मत ल्याउनुभयो ।
खुल्ला सचिवमा क्रान्तिकारी पत्रकार महासंघका प्रभात चलाउने, महिला सचिवमा क्रान्तिकारी पत्रकार संघकी संगीता खड्का, समावेशी सचिवमा क्रान्तिकारी पत्रकार महासंघकै धर्मेन्द्र कर्ण र एसोसिएट सचिवमा प्रेस चौतारीका ध्रुव लम्साल विजयी हुनुभयो । यसैगरी, कोषाध्यक्षमा चौतारीकै सूर्यमणि गौतम विजयी हुनुभयो ।
महासंघको लेखा समिति संयोजकमा दीपक पाण्डे, सदस्यमा सुनील दाहाल र रञ्जना पौडेल विजयी हुनुभएको छ ।
यसैगरी, पाँच जना खुल्ला केन्द्रीय सदस्यमा दीपेन्द्र कुँबर, रोहित दाहाल, सुष्मा पौडेल, माधव दुलाल र राजु लामा निर्वाचित भएका छन् । यसैगरी आदिबासी जनजातिमा लक्की चौधरी र मोहनसिंह लामा, दलितमा किसान संगीत नेपाली र कमल परियार, अल्पसंख्यकमा अब्दुल्लाह मियाँ, अपांगता क्षेत्रबाट भवानी ऐर निर्वाचित भएका छन् । यसैगरी, महिलामा पवन बर्षा शाह, सरिता पौडेल र निलिफा सुब्बा, मधेशीमा बेचु गौड र अजयकुमार मिश्र अनुरागी निर्वाचित भएका छन् ।
यसैगरी, पूर्वाञ्चलमा गणेश पोखरेल र गणेश लम्साल, मध्यमाञ्चलमा शीतल महतो र चिरञ्जीवी मास्के, पश्चिमाञ्चलमा हरिनारायण गौतम र रुद्र भट्ट, मध्यपश्चिममा झलक गैरे र अजयदीप शर्मा, सुदूरपश्चिमाञ्चलमा प्रकाश विक्रम शाह र खगेन्द्र पन्त, उपत्यकामा रामहरि सिलवाल र इश्वरी वाग्ले तथा प्रतिष्ठानमा सुरज आचार्य र रोशन पुरी निर्वाचित भएका छन् ।
विजयी भएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै अध्यक्ष डा विष्टले आफूले यो विजयलाई सबैको जितका रूपमा लिएको र अब श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले मुलुकका आम पत्रकारको पहिचान र पत्रकारिताको वास्तविक छविलाई माथि लैजान पनि आफूले भूमिका निर्वाह गर्ने विश्वास दिनुभयो ।















प्रतिक्रिया