समग्रमा सारा नेपालीलाई हेर्ने हो र सबै भाषिक सबै जातिलाई नेपाली भन्ने हो भने र यदि नेपालको संविधानले नेपाली भन्ने अधिकार दिन्छ भने आज यो बिषम परिस्थितिमा अर्थात सबै नेपालीले एक सरो कपडा पनि एक बर्षमा फेर्न नसक्ने बेला ६/६ महिनामा सरकार परिबर्तन गरि कहिलेसम्म यो भोका नांगा नेपालीले मौसमी प्रधानमन्त्री पाली रहने हो ? कहिलेसम्म यो महान शीर्ष नेताहरुको चाकडी गरिरहने ??
सम्पूर्ण नेता गणहरु कहिलेसम्म यो राजनीति फोहोरी खेल खेली नेपाली अर्थतन्त्रमा पौडी खेल्नु हुनेछ ? एक साधारण नेपालीको घरमा गएर एकरात बस्नुहोस् र हेर्नुहोस्, सुन्नुहोस उनीहरुको पिडा के छ । सिहदरबारको चार दिवारीमात्र नेपाल हैन । त्यहाँ मात्र नेपाली छैनन ।
महाभूकम्प गएको १ वर्ष पुगिसक्यो । आजसम्म पीडितहरुको उचित वेवस्थापन हुन सकेको छैन । एकसरो कपडा र एकछाक पेटभरि खान उनीहरुलाई रहर भएको छ भने यस्तो परिस्थितीमा कति जना प्रधानमन्त्री पाल्न सक्छन नेपालीले ? ५ महिना लामो अघोषित नाकाबन्दी सकिएर बोडर खुला भएको आज करिब ४ महिना बितिसक्दा पनि जनताको अपरिहार्य बस्तु ग्यास, पेट्रोल, मट्टितेलको सहजीकरण हुन सकेको छैन । यसतर्फ तपाइहरुको ध्यान कहिले पुग्ने ?
प्रतेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानुस् र हेर्नुहोस । कति रातो बाकसमा प्याक भएर आएका छन् नेपाली युबा । कति बिदेशिन तछाड मछाड गरि लामबद्ध भएर बसेका छन् । कहिले रोक्ने ती युवा जनशक्तिलाई । कहिले भन्ने हो हाम्रा कर्मठ युवा शक्ति हामीलाई र हाम्रो नेपाल आमालाई खाँचो छ भनेर ।

कति दिन नेपाली गरिब जनता ले नाङ्गो अंग र भोको पेट लिएर हेरिरहने यो तपाईहरुको सरकार बनाउने र गिराउने चलचित्र ? आखिर कहिले सम्म ? के आज सरकार बदलेर यो सोझा जनताको भोको पेट ले खान र नाङ्गो अंगले एक सरो कपडा पाउला ?
केहि समय अगाडीसम्म कुनै पनि हालतमा हामी हाम्रो स्वाभिमान नेपालीको स्वाभिमानमा आंच आउन दिनेछैन भनेर टुँडीखेलमा खुब चर्का र गुलिया भाषण गरेर ताली पाउनुभयो तर आज किन छिमेकीको ग्राण्ड डिजाइनमा सरकार परिवर्तन को कुरा आयो ?
सक्नुहुन्छ भने त्यो काम गर्नु । अहिले भैरहेको चरम कालोबजारीलाई रोक्नुहोस् । नेपाली जनता साथमा छ । चरम भ्रष्टाचारलाई नियन्त्रण गर्नुहोस् । हामी युवा जनशक्ति साथमा छौ । किन नेपालीको स्वाभिमान र सहिदको रगतको बली चढाइ रहनु भएको छ । के सहिदको सम्मान सहिद दिबसको दिनमा मात्र माल्यार्पण गरेर मात्र पुग्छ ?
नेता गणहरुलाई मेरो बिनम्र अनुरोध यो छ कि तपाईहरु आफ्नो र आफ्नो पार्टीको मात्र सोच्न छोड्नुहोस् । ब्यक्तिबादी सोच बन्द गर्नुहोस । सबै नेपाली र नेपालीको नेता भएर कार्य गर्नुहोस् अवश्य तपाइको कार्यको मुल्यांकन नेपाली जनताले गर्ने छ । आशा छ तपाहीहरुको सतबुद्धी श्री पशुपतिनाथले अबश्य दिनेछन् र हाम्रो देशले पनि केहि मौसमी काचुली फेरि नयाँ आर्थिक क्रान्ति र गरिबको रोजी रोटीमा टेवा पुग्ने गरि परिवर्तनको मवोल पाउने छ । सबै नेताहरुलाई यो मरुभूमि बाट मेरो सलाम ।
सतिश बाबु पाठक (कतार)
















प्रतिक्रिया