
काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका सांसदहरूले संसदमा चार वर्षसम्म विताएको राजनीतिक दलका नेतालाई सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनाउन लागेको भन्दै आपत्ति जनाएका छन् ।
संसदको आजको बैठकमा धारणा राख्ने क्रममा कांग्रेसका सांसदहरूले राजनीतिक दलको झण्डा बोकेको व्यक्तिलाई न्यायाधीशमा नियुक्त गर्न नहुने बताए । ‘संसदमा चार वर्ष विताएको व्यक्तिलाई न्यायाधीशमा सिफारिस गरेर सरकारले न्यायालयमाथि एमालेकरण गर्न प्रयास गरिएको छ’, कांग्रेसका सांसद रामहरि खतिवडाले भन्नुभयो, ‘स्वतन्त्र रहनु पर्ने न्यायालयमा एमालेको झण्डा बोकेको नेतालाई कसरी प्रधानन्यायाधीश बनाउन सकिन्छ ?’
नाकाबन्दी हटेको लामो समय भइसक्दा पनि वर्तमान सरकारले इन्धनको सहज आपूर्ति गर्न नसकेको खतिवडाले आरोप लगाउनुभयो । ‘कालोबजारी र तस्करीलाई सरकारले संरक्षण गरेको छ’- उहाँले भन्नुभयो, ‘यो सरकार जनताको काम गर्नका लागि निकम्मा सावित भएको छ ।’
सरकारका उपप्रधानमन्त्रीहरू संविधान कार्यान्वयनभन्दा पनि त्यसको विरोधमा बोलेर जग हसाइ रहेको उहाँले आरोप लगाउनुभयो । ‘सरकारमा रहेका मन्त्री र उपप्रधानमन्त्रीहरू संविधान विपरित संघीयता, गणतन्त्रको विरुद्ध अभिव्यक्ति दिँदै आएका छन् ।
कांग्रेसका सांसद कमल पंगेनीले सरकार कुटनीतिमा पनि असफल भएको आरोप लगाउनुभयो । उहाँले लामो समय भइसक्दा पनि सरकारले भूकम्पपीडितहरूलाई राहत र पुनर्निर्माण गर्न नसकेको भन्दै आपत्ति प्रकट गर्नुभयो ।












प्रतिक्रिया