काठमाडौं, २२ वैशाख । सत्तारुढ दल नेकपा एमालेले पनि आफू १६ बुँदेप्रति प्रतिवद्ध रहेको भन्दै राजनीतिक घटना क्रमप्रति गम्भीर रहेको जनाएको छ ।
राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने र संविधानको कार्यान्वयन, भूकम्प पछिको पुनःनिर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्न सबै राजनीतिक दलहरुलाई एमालेको आज बिहान बालुवाटारमा बसेको स्थायी समिति बैठकले आह्वान गरेको छ ।
‘संविधानको निर्माणमा पार्टीको निर्णायक भूमिका, संविधान कार्यान्वयनका निम्ति पार्टीले गर्दै आएको अथक प्रयास, राष्ट्रिय हितको रक्षाका लागि पार्टी र वर्तमान सरकारले लिएका अविचलित अडान र मुलुकलाई आर्थिक समृद्धिको दिशामा तीब्ररुपले अगाडि बढाउन पार्टीले लिएको पहलकदमी सर्वविदितै छ’, विज्ञप्तिमा भनिएको छ ।
‘मुलुकमा राजनीतिक अस्थिरतालाई बढावा दिने प्रयासलाई बृहत्तर राष्ट्रिय सहमतिका आधारमा निस्तेज पार्दै अगाडि बढ्न पार्टीले संविधान निर्माण पूर्वदेखि नै र विशेषगरी १६ बुँदे सहमतिदेखि निरन्तर राष्ट्रिय सहमतिको पक्षमा आफूलाई उभ्याउँदै आएको सबैलाई विदितै छ । आजको स्थायी समिति बैठकले राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने र संविधानको कार्यान्वयन, भूकम्प पछिको पुनःनिर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ’, सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।












प्रतिक्रिया