– सतिशबाबु पाठक
प्रचण्ड गर्मी । छायाँ बस्ने ठाउँसम्म थिएन ! गर्मीको स्केल करिब ४८/४९ डिग्री हुनुपर्दछ । होटेलमा खान खाएर भर्खरै काम गर्ने ठाउँसम्म पुगेको थिएँ । एक साथीको फोन आयो । हेलो भन्दै फोन उठाएँ । उसले हेलो पनि नभनी एकदम आत्तिएकै अवस्थामा एकै वाक्यमा सबै कुरा भन्यो । मलाई त्यत्ति चर्को गर्मीले केही असर गरेन । दिन नै अँध्यारो जस्तो लाग्यो । कता–कता जमिन भासिए जस्तो लाग्यो । अनि हात खुट्टाले काम गर्न छाडे । एक अनौठो छटपटाहट भयो । काम गर्ने जाँगर पनि चलेन । एक कुनामा गएर कसैले नदेख्ने गरी डाको छोडेर रोएँ । काम गर्ने समय पनि कहिले सकिएला जस्तो भयो । जसो तसो मन सम्हालेर कामको समय सकिएपछि कोठातिर जाने बेला भयो ।
जीवन चलाउन मायाले मात्र पुग्दो रहेनछ । पैसा पनि चाहिने रहेछ । त्यो घरको खेतीबालीले त मुस्किलले ६ महिना पनि चलाउन गाह्रो थियो । आमा हजुरलाई सुख दिन र बुहारीका हरेक आशा अभिलासा पुरा गर्न र सानी छोरी पुन्टिको उज्ज्वल भविष्यका लागि मैले खाडी मुलुक जाने निर्णय गरें ।
म कोठामा नगई सिधै अस्पतालतिर गएँ । मभन्दा पनि पहिला मेरा साथीहरु पुगेका रहेछन् । सबैको अनुहार मनिल थियो । मैले सोधे कहाँ छ उ ? एक साथीको जवाफ थियो– अहिलेसम्म हेर्न दिएको छैन । उसलाई मुर्दा घरमा राखिएको छ । केहीबेरमा हेर्न मिल्छ रे । त्यति बोल्न नपाउँदै एक अरबी आएर भन्यो ‘इंत अब्बी सुफ हुवा ताल’ (तँ हेर्न चाहन्छस् भने आइज) । जब उसले बोलायो हामी सबै जना गयौं तर सबै एक साथ जान दिँदो रहेनछ । २–२ जना गरेर जानु भन्ने निर्देशन आयो । हामीले त्यही गर्यौं । मलाई जान कस्तो कस्तो लग्यो पहिला अरु साथीलाई जान आग्रह गरें । सबैभन्दापछि म र अर्को एक साथी गयौं । त्यहीँका एक कर्मचारीले ‘आइस बक्स’ खोल्यो । उसको अनुहार मात्र देखाइएको थियो । अनुहार हेर्दा यस्तो लाग्यो कि उ अहिले नै बोल्ला जस्तो तर कहाँ त्यस्तो हुँदो रहेछ र जीवन ? मेरा आँखा रसाए, मन कस्तो कस्तो अनौठो प्रकारले अमिलियो उसलाई हेरें र संसारलाई सम्झिएँ । यो तेरो यो मेरो तर खै त के पायौं हामीले उसलाई हेरें ऊ ‘आइस बक्स’मा मस्त निन्द्रामा थियो । कहिले पनि नउठ्ने गरि सुतेको थियो ! धेरै बेर त्यहाँ बस्न नदिने भएकाले साथी ले जाऊँ बाहिर भन्यो म पनि जाउँ भनि बहिरिएँ । उसलाई त्यही बाकसमा बन्द गरियो ।
बाहिर आएपछि एक कर्मचारीले भन्यो ५ दिनपछि लैजानुपर्छ । उसको कोठामा भएको सबै सामान लिएर यहिँ आउनु बेलुकाको समय छ भनेर भन्यो । हामी त्यहाँबाट अलि पर गएर साथीहरु सल्लाह गर्यौं । अब उसको कोठाको समान लिन जाने भयौं । मेरो गाडि भएकाले म जाने र भएको सामान लिएर उसलाई पठाउने दिन अस्पतालमा आउँछु भनें । त्यसपछि हामी बिदा भयौं ।
म सरासर उसको कोठामा गएँ । पहिला पनि गएकाले मलाई त्यहाँ सबैले चिनेका थिए । सबै साथीसँग कुरा गरें । सबैको मन अमिलो थियो, आँखामा आँशु थिए । मैले सबै साथीलाई सम्झाउने प्रयास गरें । उसको जे जति समान छ सबै झोलामा हाल्न आग्रह गरें । पाँच दिनपछि सँगै घर पठाउनुपर्छ भनेर । हामी सबै मिलेर सामान झोलामा राख्न थाल्यौं । उसको सामान राख्ने ठाउँ खोलियो, यादहरु धेरै भेटियो । सबै जना मिलेर समान मिलाउँदै थियौं । म भने उसको विस्तरामा पल्टिरहेको थिए । अचानक उसको सिरानी मुनि मेरो हात पुग्यो । केही कागज भएको जस्तो लाग्यो । सिरानी निकालेर हेरें उसले घरमा पठाउन लेखेको चिठी रहेछ । साथमा उसकी आमा, श्रीमती र सानी छोरीको फोटो रहेछ । सायद उसले त्यही तस्बिर हेरेर आफ्नो परदेशी दिनलाई कटाइ रहेको भान हुन्थ्यो । दिनभरि काममा थाकेर आए पनि जब सानी छोरीको तस्बिर हेथ्र्यो पक्कै पनि उसको थकाइ मथ्र्यो होला ! यस्तै यस्तै सोच्दा मेरा आँखा रस्याएछन् पत्तै भएन ।
अर्को साथीले सरसामन तयार भयो भन्दा म झसङ्ग भएँ । हतार हतार आँशु पुछें अनुहारमा मुस्कान लिएर आउने कोसिस गरें तर कहाँ सकिदो रहेछ र ! सबैले थाहा पाइहाले । मलाई सम्झाउन थाले यस्तै हो भोलि हाम्रो पनि के थाह के लेखेको छ भने । सबै सामान तयार भएपछि उसले राखेका तस्बिरसहित म त्यहाँबाट बिदा भएँ ।
कोठामा आइसकेपछि पनि उसको यादले सताइरह्यो । उसको निर्जिव अनुहार मेरो मानसपटलमा घुमिरह्यो । कयौं प्रयास गर्दा पनि म त्यहाँबाट निस्कनै सकिरहेको थिईंन । खाना पकाउने र खाने जाँगर नै चलेन । उसले लेखेका चिठी पढ्न मन लाग्यो । हुन त कसैले व्यक्तिगत कुरा लेखेको चिठी पढ्न हुँदैन । तर मेरो मनले मान्दै मानेन र उसले आफ्नी आमा र श्रीमतीलाई सम्बोधन गरेर लेखेको चिठी पढ्न थालें । चिठी यस्तो थियो ।
पुजनीय आमामा सादर प्रणाम !
प्रिय तिमीलाई असिम अनगिन्ति मायाका कोसेलीका साथै एक मीठो चुम्बन स्वीकार ल !
सानी छोरी यो प्ररदेशी बाबुका तर्फबाट शुभ आशिर्वाद साथै मीठो प्यार !
आमा यो बिरानो मुलुकमा प्रचण्ड गर्मीमा पनि हजुरको मायाममताले गर्दा सन्चो आराम नै छु ! हजुर अनि बुहारी र नातिनीलाई पनि आराम कुशल होला भन्ने आशा राखेको छु ! सदा हजुरहरुको आराम कुसलको लागि पशुपतिनाथलाई पुकार्छु । आमा म सानो हुँदा नै बाबु परलोक हुनुभयो । हरेक दुःखकष्टट सहेर मलाई ठूलो र लायक बनाउनुभयो । हजुरले भनेजस्तै गरी मैले पनि मेहनत गरें र पढें । विवाह पनि हजुरले भने बमोजिम नै गरें । बुहारीले पनि हजुरलाई कहिले पनि मेरो अभाव महसुस हुन दिइनन् । हजुरको सपना थियो– एक छोराको सन्तान हेर्ने त्यो पनि भगवान्ले पुरा गरिदिए । तर आमा छोरा भएपछि कहाँ सधैं माया ममताको छत्रछायाँमा बस्न पाउने रहेछ र । जीवन चलाउन मायाले मात्र पुग्दो रहेनछ । पैसा पनि चाहिने रहेछ । त्यो घरको खेतीबालीले त मुस्किलले ६ महिना पनि चलाउन गाह्रो थियो । आमा हजुरलाई सुख दिन र बुहारीका हरेक आशा अभिलासा पुरा गर्न र सानी छोरी पुन्टिको उज्ज्वल भविष्यका लागि मैले खाडी मुलुक जाने निर्णय गरें । आमा, हजुरले डल्ले साहुसँग छोरा विदेश पठाउँछु भनेर लिएको असी हजार मेरो हातमा राखि मन अमिलो बनाई आँखामा टलपल टलपल आँशु बनाई घरबाट बिदाइ गर्नुभयो । सानु मैले तिम्रो अनुहारसम्म हेर्न सकिँन । छोरी त बिहान चाँडो भएर होला सुतिरहेकी थिई । पक्कै पनि उठेर मलाई बाबा भनेर बोलाई होली । फरक्क फर्केर जब मेरा पाइला विदेश यात्रामा धन कमाउन होमिए तब मात्र थाहा भयो म एक्लो भएछु । काठमाडौं झिलीमिली शहर हुँदै म खाडी मुलुक कतारतिर प्रस्थान गरें एक उज्ज्वल भविष्यको कल्पना गर्दै ।
कतारको दोहा विमानस्थलमा पुगेर मेरो जहाज रोकियो । बाहिर निस्किएँ, मलाई सबै कुरा बिरानो थियो । म अलमलमा परिरहेको थिएँ, कहाँ जाने के गर्ने ? म ‘वेटिङ’ कक्षमा बसिरहेको थिएँ । एक जना कालो व्यक्ति मेरो सामु आयो र हातको इसारा गर्दै मलाई उसँग जान आग्रह ग¥यो । म पनि उसको पछिपछि लागें । उसले आफ्नो गाडिमा राखेर मलाई घरमा लिएर गयो । कोठामा छिर्नासाथ अनौठो गन्ध आएको थियो । भोलिपल्ट थाहा भयो त्यो अनौठो गन्ध त काम गर्ने मानिसको जुत्ताको पो रहेछ ! भोलिपल्ट मलाई एक बंगालीका साथमा मुख्य कार्यालय लगियो र विभिन्न कागजमा हस्तक्षर गराइयो । मेरो तलब महिनाको ६०० र खानको लागी भनेर २०० भनी हस्तक्षर गरियो । भोलिबाट काममा जानु भनिएको थियो । म कोठामा आएँ, सँगै अरु नेपाली साथीहरु पनि थिए । उनीहरुले भने बमोजिम काममा जान खाना लिएर जानुपर्ने रहेछ, मैले पनि त्यसै गरें ।
आमा हजुरले पकाएर दिएको खाना आज साह्रै याद आयो ! तर पनि मन बिचलित छैन । म हजुरको छोरा हुँ जसरी पनि काम गर्छु । भोलिपल्टबाट मेरो काम पनि सुरु भयो ।
आमा मेरो कामको बयान म गर्न सक्दिन । कहिले पनि नसोध्नु के काम भनेर । आज मेरो पहिलो महिनाको तलब पनि पाएँ । म छिटै घर पठाउँछु । आमा, अब हजुरले दुःख नगर्नु है छोरा पैसा कमाउन सक्ने भएको छ ।
प्यारी, अब तिम्रा संगानीले जस्तै गहना ढपक्क लगाउने दिन आयो जस्तो छ । तिमी गहनामा सजिएर तिजमा नाचेको हेर्ने साह्रै रहर छ मलाई ! तिम्रा हर इच्छा र आकांक्षा अवश्य पूरा गर्ने छु । पुन्टि तिमीलाई पनि आउने दसैँमा राम्रो लुगा किनेर रिमोटबाट चल्ने हवाई जहाज पठाउँछु है ! पल्लो घर गएर सानाकाजीको छोरासँग झगडा नगर है । उनीहरु हामीभन्दा धेरै धनी छन्, पैसा छ । अब तिमो बाबासँग पनि धेरै पैसा हुने छ । तिमीले जे भने पनि म पठाउने छु । ज्ञानी हुनु, आमा र मम्मीलाई धेरै नपिरोल्नु है ।
ल आमा, आफ्नो ख्याल गर्नुहोला । अबेर भइसक्यो । भोलि बिहानै झिसमिसेमै काममा जानुपर्छ ! छिट्टै पैसा पठाउने छु । मेरो पीर नगर्नु । प्यारी आमाको ख्याल गर्नु अनि नानी को पनि र आफ्नो पनि सबैमा मीठो सम्झना । बाँकी अर्को पत्र र भेटमा है ! शुभरात्री ।
उही हजुरको छोरा
तिम्रो माया गर्ने
चिठी पढी सक्दा मेरो आँखाबाट बलिन्द्र आँशुका धारा बगेका रहेछन् । मैले मन थाम्न सकिँन, डाको छोडेर रोएछु ! म एक्लै कोठामा भएकाले कसैले पनि थाहा पायनन् । त्यो रात मेरो निन्द्रा पनि परेन । उसको त्यो चिठी, त्यो अनुहार, त्यो उसको मनमा रहेका इच्छाहरु मात्र खेलिरहे ।
यस्तै गरी चार दिन सकियो । उसलाई पठाउने दिन पनि आयो । सबै साथीलाई फोन गरी आज बेलुका ७ बजे आउनु भनेर खबर गरें । म पनि त्यही समयमा पुगें । सबै साथी आइसकेका रहेछन् ।
उनीहरुले भने बमोजिम काममा जान खाना लिएर जानुपर्ने रहेछ, मैले पनि त्यसै गरें । आमा हजुरले पकाएर दिएको खाना आज सार्है याद आयो ! तर पनि मन बिचलित छैन । म हजुरको छोरा हुँ जसरी पनि काम गर्छु । भोलिपल्टबाट मेरो काम पनि सुरु भयो ।
मैले केही साथीहरुले एक पटक हेर्न इच्छा गरेका छन् । मिल्छ कि मिल्दैन भनेर सोधें । उसको सकारात्मक जवाफ पाएपछि हामी पालैपालो उसलाई हेर्न गयौं । केहीबेरमा पुनः चार जनालाई भित्र बोलाइयो, लाश राखेको ठाउँमा । चार जनाले बोकेर बाकसमा राख्नुपर्ने रहेछ । हामी सबै जना असहज र अलमलमा प¥यौं । भित्रकै कर्मचारीले रातो बाकस देखाउँदै खोल्न भन्यो । मैले त्यो बाकसको माथिपट्टीको भाग खोलें । भित्र सेतो थ्रमकूलमा सेतो कपडा राखिएको रहेछ । आजसम्म मैले यस्तो देखेको थिईंनँ । एक मनले सोचे हामी यो मेरो र तेरो भनेर कुटाकुट अनि गाली गरिरहेका हुन्छौं । तर वास्तविक जीवन त एउटा बाकसभित्र मात्र पो रहेछ भन्ने थाहा भयो ।
बाकस खोलेर माथिको ढकन एक साईटमा राखेपछि त्यहाँको कर्मचारीले ‘आइस बक्स’ खोल्यो र उसलाई राखिएको स्ट्रेचर भुईंमा राखियो । उसलाई ढाकिएका सम्पूर्ण कपडा निकालेर उसले भन्यो– तपाईंहरु चार जनामध्ये दुई जनाले खुट्टातिर र दुई जनाले टाउको र हाततिर समात्नुहोस् । मेरो भागमा टाउको तिर परेको थियो । कर्मचारीसहित हामी पाँच जना भएर उसलाई रातो बाकसमा राखियो ।
मलाई यस्तो लग्यो कि मलाई ऊ बिरामी छ, उसलाई उपचारका लागि लगिँदैछ । जब मैले उसको टाउको उठाएँ म भावविह्व भइसकेको थिएँ । मेरा आँखाबाट आँशु बगिरहेको थियो । एक थोपा आँशु उसको निधारमा पनि पर्यो । त्यही आँशु निधारबाट बगेर उसको आँखासम्म पुग्यो । मैले उसको आँखामा परेको आँशु पुछिदिएँ । जब उसलाई बाकसमा राखियो त्यसपछि कर्मचारीले एक प्रकारको सेतो पानी जस्तो तरल पदार्थ हालिदियो । यो के हो भनेर जान्ने कोसिस गरें । उसले भयो यो केमिकल हो यो राखेपछि शरीर बिग्रिँदैन । तरल पदार्थ राखी सकेपछि माथिबाट सेतो कपडाले छोपिदियो । अनि अघि राखेको रातो बाकसको ढकन लगाउन भनियो । मैले त्यो ढकन लिएर लगाएँ । ४ इञ्चको फलामे काँटीले ढकन बन्द गरी त्यो रातो बाकस हामीले उठायौं अनि बाहिर भएको मुर्दा बोक्ने गाडीमा राखियो र उसको सामान पनि त्यहीँ राखेर उसलाई अन्तिम बिदाई गरियो रातो बाकसमा ! मैले प्रार्थना गरि रहेँ कि उसको आत्माले शान्ति पाओस् र कसैलाई पनि त्यस्तो रातो बाकसमा देख्नु नपरोस् । सहन नसक्ने पीडा हुँदो रहेछ, यो रातो बाकस ।
















प्रतिक्रिया