काठमाडौं, २१ वैशाख । एकीकृत माओवादीसँगको पार्टी एकताका लागि दबाब दिँदै आएका नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव रामबहादुर थापा ‘बादल’ले पार्टी फुटाउनेभित्रैदेखि तयारी थालेका छन् ।
महासचिव थापाले आफू निकट केन्द्रीय सदस्यहरूलाई गोप्य रुपमा सर्कुलर गरेर वैशाख २८ गतेदेखि केन्द्रीय समितिको बैठक बस्ने जानकारी गराएका हुन् । बैठकका लागि वैशाख २७ गते सम्पर्क गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन थापाले दिएका छन् ।
यसअघि बसेको केन्द्रीय कार्यसमितिमा एमाओवादीसँगको पार्टी एकीकरणको विषयलाई लिएर बिबाद भएपछि अध्यक्ष मोहन बैद्यले जेठ २७ गतेतिर केन्द्रीय समितिको बैठक एक महिनाका लागि स्थगित गरेका थिए ।
अध्यक्ष बैद्यले केन्द्रीय समितिको बैठक बोलाउने कुनै तयारी नगरेपछि महासचिव थापाले पार्टी फुटाउने तयारीसहित आफ्नो समूहको बैठक बोलाएको स्रोतको भनाइ छ ।
थापाले सके सिङ्गो अन्यथा आफ्नो समूहलाई मात्रै लिएर भए पनि एमाओवादीमा बिलय हुने तयारी गरेका छन् । केन्द्रीय समितिमा थापाको बहुमत रहेको दाबी यो समूहले गर्दै आएको छ ।












प्रतिक्रिया