२५ कार्तिक २०८३, बुधबार

समस्याको समाधान खोज्न कांग्रेस आफैले नेतृत्व लिने, सरकारले कुरा धेरै गरेको निष्कर्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deubaकाठमाडौं, २१ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधान जारी भएको लामो समय बितिसकेको र संविधान कार्यान्वयन गर्ने समय कम हुँदै गएको अवस्थाप्रति वर्तमान केपी ओली सरकार गम्भीर नदेखिएको आरोप लगाएको छ ।

दुई दिनसम्म काठमाडौंमा चलेको संसदीय दलको बैठकपछि जारी विज्ञप्तिअनुसार मधेसमा उठेका सिमाङ्कन लगायतका मुद्दाहरु हल गर्ने विषयले गति नलिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले वार्तामार्फत समस्याको सम्बोधन गरी संविधान कार्यान्वयनको प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको गम्भीर ध्यान आकर्षण गराएको छ ।

संसदीय दलले आफ्नो नेतृत्वलाई वार्ता प्रक्रियाको अगुवाई गर्न पनि आग्रह गरेको छ ।

‘सरकार जनताका समस्या र आवश्यकताप्रति उदासिन रहेको मात्र होइन राज्य संरचनाहरुमा राजनैतिकरण गर्न उद्धत रहेको र भ्रष्टचार, कालोबजारी तथा कृत्रिम अभावलाई संस्थागत गर्न सहयोगी भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पपीडित जनताका दुःखकष्ट र पुनर्निर्माण प्रक्रियालाई समेत राजनीतिकरण गर्न अग्रसर भएको महसुश हामीले गरेका छौं । हुलाकी मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमान स्थल र काठमाडौं–निजगढ फास्ट ट्रयाक लगायत देशभरी हुनुपर्ने विकास निर्माणका काम अगाडि बढ्न नसकेको र यो सरकार कामभन्दा ज्यादा कुरामा विश्वास गर्दछ भन्ने निष्कर्षमा आम जनता पुगेका छन् ।’

न्यायपालिका, कुटनैतिक तथा राज्यका अन्य संरचनाहरुमा तीब्र राजनीतिकरण रोक्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ ।

हुम्ला जिल्लामा रुघाखोकी महामारीबाट बीस जनाको ज्यान गइसकेको र ३/४ हजार मानिस विरामी परिरहेको अवस्थामा पनि सरकारको त्यसप्रति ध्यान नगएकोले तत्काल राहत र उपचारको व्यवस्था गर्न सरकारसँग कांग्रेसले माग गरेको छ ।