२५ कार्तिक २०८३, बुधबार

थारु आन्दोलनकारी यसरी आए मैदानमा, संघीय गठबन्धनसँग जुध्यो आन्दोलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tharu Aandolankariकाठमाडौं, २१ वैशाख । अलग थरुहट प्रदेशको माग गर्दै आन्दोलन गर्दै आएको थारुहट/थारुवान संघर्ष समितिले वैशाख २४ गतेबाट विरोधसभादेखि आमहडतालसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रमहरूमा वैशाख २४ गते सम्पूर्ण जिल्लामा थारुजातीय संगठनवीच सर्वपक्षीय बैठक गर्ने, २५ गते महोत्तरी, सर्लाही, रौतहत, २६ गते बारा र पर्सा, २७ गते झापा, मोरङ, सुनसरी, २८ गते सप्तरी, सिराहा, उदयपुर, २९ गते रुपन्देही, कपिलबस्तु, ३० गते बर्दिया, ३१ गते कैलाली, चितवन, नवलपरासी, जेठ १ गते कञ्चनपुर, दाङमा विरोधसभा गर्ने, जेठ १ गते मशाल जुलुस गर्ने र जेठ २ गते थारुहट जिल्लामा आमहडताल गर्ने रहेको छ । थारु आन्दोलनकारीका कतिपय आन्दोलन संघीय गठबन्धनसँग जुधेका पनि छन् ।

समितिले आफूहरूले प्रस्तुत गरेको सात बुँदे सर्त र १३ बुँदे राजनीति मागहरूमा नौ महिनादेखि छलफल समेत हुन नसकेको गुनासो गर्दै आफूहरू बाध्य भई आन्दोलनमा जानु परेको दावी गरेको थियो ।

पत्रकार सम्मेलनमा नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले राजनीतिक दलहरुवीच श्रीपेच विनाका राजाहरूको जन्म भएको र उनीहरुले थारु आन्दोलनलाई बेवास्ता गरेकोले आन्दोलनमा जान बाध्य हुनु परेको दावी गनुभयो । उहाँले आन्दोलन कुनै जाति र क्षेत्र विशेषविरुद्ध नभई सिंगो राज्य सत्ता, सरकारको विभेदकारी ब्यवहार, विभेदकारी संविधान, विभेदकारी सरकारको विरुद्ध भएको बताउनुभयो ।

थारु कल्याणकारी सभाका केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीले विभेदको अन्त्य नभएसम्म अबको आन्दोलन सशक्त रुपमा अघि बढ्ने चेतावनी दिँदै राज्य जनताको भावना सुन्न तयार नभएकोले आन्दोलनमा जानु आफूहरुको बाध्यता भएको बताउनुभयो ।

थरुहट तराई पार्टी नेपालकी सांसद गंगा चौधरीले आन्दोलनरत सबै पक्षसँग सहकार्य बनाएर आन्दोलनलाई सशक्त बनाउने योजना सुनाउनुभयो । उहाँले कैलाली र कञ्चनपुरलाई थारुहट प्रदेशमै राख्नु पर्ने अडान समेत ब्यक्त गर्नुभयो ।

आन्दोलन परिचालन कमिटीका केन्द्रीय सदस्य किशोर विश्वासले आन्दोलनरत संघीय गठबन्धन वा मधेसी मोर्चासँग सहकार्य नगर्ने स्पष्ट पार्दै आफूहरु मधेसी नभएको दावी गर्नुभयो ।