२९ आश्विन २०८३, बिहिबार

मोदीलाई पशुपतिनाथको ‘दृष्टिप्रसाद’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-decकाठमाडौं, १९ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पशुपतिनाथ दर्शन गर्ने क्रममा महादेवको आँखाको चन्दन (दृष्टिप्रसाद) पाउने भएका छन्। करिब पौने घन्टा विशेष पूजापछि मन्दिरका मूलभट्ट गणेश भट्टले मोदीलाई विशेष उपहारका रूपमा महादेवको आँखाको चन्दन दिनेछन्।

‘भगवानको नेत्रको चन्दनको विशेष महत्व हुन्छ, जुन विशेष व्यक्तिका लागि मात्रै दिइन्छ,’ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनले आइतबार भने, ‘उहाँको पशुपतिप्रतिको आस्था अतुलनीय छ। पहिलोपटक यति ठूलो व्यक्तित्व आउनुभएको छ। हाम्रो तर्फबाट यो उपहार हुनेछ।’

जानकारका अनुसार पशुपतिनाथका चारै शिवलिंगको आँखाबाट भट्टहरूले चन्दनको आँखा बनाइदिने गर्छन्। सर्वसाधारणको दर्शनका लागि मन्दिर खोल्नुअगाडि गंगाजल, गाईको दूध, मह लगायत पञ्चामृतले शिवलिंग नुहाएपछि चाँदीको आँखा अड्काउन उक्त चन्दन प्रयोग हुन्छ।

मन्दिरको चार ढोकामध्ये शिवलिंगबाट सबैभन्दा नजिक पर्ने दक्षिण ढोकाबाट मोदीले पशुपतिनाथ दर्शन गर्नेछन् भन्दै आजको नागरिक दैनिकले समाचार लेखेको छ । मोदीले शनिबारै नेपाल भ्रमण क्रममा पशुपति दर्शन महवपूर्ण क्षण हुने सामाजिक सञ्जाल ट्विटरबाट जनाएका थिए। ‘साउनको सोमबारमा पशुपति दर्शन पाउनु सौभाग्य हुनेछ,’ उनले भनेका थिए।

पूजाका क्रममा संकल्प, रुद्राभिषेक, पञ्चामृत स्नान, शृगार, मंगल आरती हुने सदस्यसचिव टण्डनले बताए। ‘विशेष पूजापछि उहाँलाई शिवलिंगको आँखाको चन्दन मूल भट्टले प्रदान गर्नुहुनेछ,’ उनले भने, ‘पूजापछि मिठाई, फलफूल लगायत प्रसाद मोदीलाई प्रदान गरिन्छ।’ पशुपतिमा पूजा सकेपछि बासुकी मन्दिरमा पनि मोदीले विशेष पूजा गर्ने उनले जनाए।