
काठमाडौं, २० वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले एमाले नेतृत्वको वर्तमान सरकारले न्यायक्षेत्रलगायत हरेक स्थानमा चरम राजनीतिक नियुक्ति गरेको भन्दै तत्काल नयाँ सरकार गठनका लागि पहल गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आजदेखि सुरू भएको संसदीय दलको बैठकमा धारणा राख्ने सांसदहरूले एमालेले न्यायालयलाई समेत चरम राजनीतिक घेराबन्दी गरेको आरोप लगाए । उनीहरूले न्यायालयजस्तो निकायमा पूर्व सांसद सपना प्रधान मल्ललाई सिफारिस गरेर केपी ओली नेतृत्वको वर्तमान सरकारले गलत नजिर बसाल्न खोजेको बताए ।
बैठकपछि पत्रकारसँग कुरागर्दै सांसद राजु खनालले भन्नुभयो, ‘पूर्व सांसद सपना प्रधान मल्ल, बारका पूर्व अध्यक्ष तथा कानुन मन्त्री अग्निप्रसाद खरेलका एउटै ‘ल’ फर्मका कानुनी व्यावसायिक साझेदार हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेर सरकारले न्यायालयमा राजनीतिक हस्तक्षेप बढाएको छ ।’
उहाँले न्यायालय जस्तो स्वतन्त्र निकायमा भएका यस्ता गलत सिफारिसले जनताको न्याया पाउने अधिकार हनन् हुने बताउनुभयो । एमालेकी पूर्व सांसद प्रधान र कार्कीलाई रोलक्रममा प्रधानन्यायाधीश हुने गरी सिफारिस गरिएको सांसद खनालले बताउनुभयो ।
सांसद बालकृष्ण खाँड, महेन्द्र यादव, रामहरि खतिवडालगायत दर्जन सांसदले बामपन्थी गठबन्धनको वर्तमान सरकारलाई तत्काल हटाएर कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा राखेका थिए । ‘सकिन्छ भने कांग्रेसका नेतृत्वमा सरकार बनाउनु पर्छ’, उनीहरूको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सकिँदैन भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएर भएपनि अर्को नयाँ सरकार मुलुकका लागि अनिर्वाय भइसकेको छ । मधेसी मोर्चासँग पनि वार्ता थाल्नुपर्छ ।’
कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनका लागि सत्तामा कांग्रेस पुग्नै पर्ने अनिवार्यता रहेको भन्दै सांसदहरूले छिटो राजनीतिक पहल थाल्न सुझाव दिएका छन् । उनीहरूले संविधान कार्यान्वयनमा एमालेले आलटाल गरिरहेको आरोप लगाए ।
भोलिदेखि सुरू हुन लागेको संसदको अधिवेशनमा भूकम्पपीडितका पक्षमा सरकारले काम गर्न नसेकोमा जोडदार रुपमा कुरा उठाउने सहमति पनि कांग्रेसले गरेको छ । आवश्यक परे सरकारविरुद्ध कठोर कदम चाल्न पनि कांग्रेसले तयारी गरेको सांसद खनालले बताउनुभयो । अर्को बैठक भोलिको संसद अधिवेशनपछि पुनः बस्ने गरी स्थगित भएको छ ।












प्रतिक्रिया