काठमाडौं, १९ वैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नाम लिँदा प्रचण्ड शब्द उच्चारण नगरेकामा चित्त दुखाएका छन् ।
शनिबार विहान आफ्नै निवास लाजिम्पाटबाट रेडियो कान्तिपुरको कार्यक्रम ‘घुम्ने मेच’को प्रत्यक्ष प्रसारणमा बोल्दै उनले आफ्नो नाम लिँदा सञ्चारमाध्यमले प्रचण्ड नामलाई हाइलाइट नगरेर पुष्पकमल दाहाल मात्र लेखेकोमा चित्त दुखाएका हुन् ।
कल्याण र विश्वास हुँदै प्रचण्ड नाम आफैले राखेका दाहालले प्रचण्ड नाम ओजसहितको गतिशील र प्रभावकारी लाग्ने हुनाले आफूलाई प्रचण्ड भन्दा र लेख्दा खुशी लाग्ने बताए ।
फरक र रमाइलो विषयमा वार्ता गर्ने आवाजको दुनियाँको साथी दिनेश डिसीको यो कार्यक्रम ‘घुम्ने मेच’मा जिन्सको कमिजको पहिरनमा देखिएका प्रचण्डले पत्नी सीता दाहाल सबैभन्दा नजिकको साथी भएको र विवाहको ५० वर्ष भएकाले एक पटक पुनः विवाह गर्ने रिती भएकाले के गर्ने भन्दै ठट्टा गरेका थिए ।
१० वर्षपछि रेडियो कान्तिपुरमा पछिल्लो दुई महिनाबाट पुनः सञ्चालनमा आएको घुम्ने मेच कार्यक्रममा कुराकानीको क्रममा पूर्व राष्ट्रपति रामवरण यादवले एक सार्वजनिक कार्यक्रममा ‘आफूलाई संविधान जारी गर्न मन नभएको’ भन्ने भनाईप्रति खेद व्यक्त गर्दै उनको त्यो भनाईले पूर्व राष्ट्रपतिको उचाई घटाएको बताए ।
प्रधानमन्त्रीको कुर्सीको दौडमा आफू कतैपनि नभएको र सहमतिको राष्ट्रिय सरकारको लागि एमाओवादी लचिलो हुने बताए । प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध सुमधुर रहेको र सरकार गिराउने सांसदको जोड घटाउको कुरा जुन केही पार्टीबाट आएको छ त्यसमा आफूलाई विश्वास नलागेको बताउँदै राष्ट्रिय एकताको विकल्प नभएकाले अब सबै एकजुट भएर संविधान कार्यान्वयन गर्नेपर्ने धारणा राखे ।
















प्रतिक्रिया