उर्लाबारी, १८ वैशाख । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बेलायती संसद्मा कुरो उठ्दैमा सरकार परिवर्तन नहुने बताएका छन् ।
मोरङको विराटनगर विमानस्थलमा शनिबार साँझ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारको कार्यसञ्चालन सन्तोषजनक हुन नसके पनि तत्कालै अर्को सरकार बन्ने अवस्था भने नरहेको बताए । उनले संविधान कार्यान्वयनमा अहिले पनि समस्या रहेको र राजनीतिक संक्रमणकाल जारी रहेकाले संविधान कार्यान्वयनका विषयमा अवरोध गर्नु उपयुक्त नहुने धारणा राखे ।
उनले संसद् नियमावली, न्यायाधीश र राजदूत नियुक्तिका विषयमा अवरोध पुर्याउँदा यसले दीर्घकालीन असर पुग्ने बताए ।
सरकार सञ्चालनमा विमति राख्नु जायज भए पनि राष्ट्रिय मुद्दामा सत्ता पक्ष र विपक्षी दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो । ‘संसद् सुरु भएपछि विवादका विषय संसद्बाटै टुङ्गो लाग्नछन्’ उपप्रधानमन्त्री गच्छदारले भने । रासस













प्रतिक्रिया