३० आश्विन २०८३, शुक्रबार

मोदीको दर्शन गराउन पशुपतिमा तयारी पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasupati

काठमाडौँ, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोमबार पशुपतिनाथको दर्शन एवम् विशेष पूजा गराउन पशुपति क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा सरसफाइका सम्पूर्ण तयारी सकिनुका साथै स्वागतका लागि पनि तयारी सम्पन्न भएको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

मोदी बिहान ९ बजे पशुपति आइपुगेपछि ब्राह्मण बटुकहरुले स्वस्ति वाचनसहित वैदिक मन्त्रोच्चारण गरेर स्वागत गर्ने कार्यक्रम बनेको छ । त्यस्तै पञ्चेबाजा, धिमेबाजा, गुँलाबाजा र बाँसुरीवादनसहित स्वागत गरिने कार्यक्रम तय गरिएको पनि कोषका निर्देशक भोला सिटौलाले बताउनु भयो ।

मोदीले पशुपति दर्शनलाई महत्वपूर्णरुपमा लिनुभएका कारण कोषले पनि त्यहीरुपमा तयारी गरेको पनि निर्देशक सिटौलाको भनाई छ ।

नेपाल भ्रमणको पूर्वसन्ध्यामा शनिबार मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् साउन महिनामा पशुपतिको दर्शन गर्न पाउनु आफ्नो सौभाग्यको भएको सार्वजनिक गर्नुभएको थियो । यसबाट पनि मोदीले पशुपति दर्शनलाई महत्वपूर्ण कार्यका रुपमा लिनुभएको बुझ्न सकिन्छ ।

साउनको सोमबार पशुपति दर्शनको शुभ साइत मिलाएर नै मोदीले पशुपतिको दर्शन गर्ने उद्देश्यले नेपाल भ्रमणको कार्यक्रम राखेको हुनसक्ने धार्मिक विश्लेषण नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले गर्नुभएको छ ।

पशुपति दर्शनको अवसर पारेर मोदीले पशुपति क्षेत्र विकास कोषलाई भारत सरकारका तर्फबाट दुई हजार ५०० किलो श्रीखण्ड उपहार दिनुहुने भएको छ ।

रु एक करोड ६९ लाख मूल्य पर्ने श्रीखण्डले पशुपतिमा पूजाका लागि तीन वर्षसम्म पुग्ने सदस्य सचिव डा टण्डनले बताउनुभयो । यसअघि पाँच वर्ष पहिले पनि भारत सरकारले पशुपतिमा ५०० किलो श्रीखण्ड दिएको पनि निर्देशक सिटौलाले जानकारी दिनुभयो । बीचमा पूजाका लागि कोषले एक हजार किलो श्रीखण्ड किनेको थियो ।