
काठमाडौ, १८ बैशाख । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भए आफूहरु पनि उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक समितिमा सहभागी हुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘कमल थापा संघीयता विरोधी भएपनि आफू मधेसमा दुई प्रदेश दिन तयार रहेको तर मैले यो कुरा गर्न सक्दिन भन्ने गरेका छन् । यस्तो भन्दा भन्दै उनीसँग किन बार्ता गर्ने ? ओली, देउवा र प्रचण्ड समितिमा आए हामी पनि सहभागि हुन्छौ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा बोल्दै कर्णले थपे, ‘हामी उपलब्धिमुलक र परिणामुखि बार्ताको लागि सधै तयार छौ । उपलब्धि विहीन बार्तामा कहिल्यै पनि सहभागी हुँदैनौ ।’
प्रधानमन्त्रीले शनिवार एजेण्डा विहीन रुपमा सर्वदलिय बैठक बोलाएकोले आफूहरु नगएको स्पष्ट पार्दै उनले सरकार टिकाउने रणनीति स्वरुप प्रधानमन्त्रीले बैठक बोलाएको दावी गरे । उनले भने, ‘बैठकको एजेण्डाको विषयमा हामीलाई केही थाँहा छैन, अनि किन बैठकमा जाने ? प्रधानमन्त्री भगवान हो र उसले बोलाउने बित्तिकै दौडिएर हामी जाने ?’
कर्णले मधेसी मोर्चाले संसद बहिष्कार नगरेको स्पष्ट पार्दै आगामी संसदको बैठकमा सहभागी हुने तर त्यसलाई आन्दोलनकै मोर्चाको रुपमा उपयोग गर्ने स्पष्ट पारे ।
उनले भने, ‘हामीले संसद बहिस्कार गरेका छैनौ । हाम्रो माग पनि संसदबाटै पुरा हुने हो संसोधन मार्फत । त्यसैले हामी संसदमा जान्छौ तर त्यसलाई आन्दोलनको थलोको रुपमा उपयोग गर्छौ ।’
बर्तमान सरकार सबै क्षेत्रमा असफल भएको, तस्करले सञ्चालन गरेको र भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै प्रधानमन्त्रीले शनिवार पुनःनिर्माणको लागि आएको रकम हिनामिना गर्न दलहरुलाई साक्षी बनाउन सर्वदलीय बैठक बोलाएको दावी पनि गरे ।
कर्णले आफूहरुले आन्दोलनमै जीवन विताउन नभई मुलुकको निकास र विकासका लागि गरेको दावी गर्दै जनताको असन्तुष्टी कायम रहँदा सम्म विकास सम्भव नभएको टिप्पणी गरे ।
उनले प्रधानमन्त्रीले मधेस आन्दोलनलाई विखण्डनकारी आन्दोलन भनेर विल्ला भिराएकोले आफुहरुले देशै भरी आन्दोलन गरेको बताउँदै अब पनि आन्दोलनलाई विखण्डनकारीको विल्ला भिराउन प्रधानमन्त्रीलाई चेतावनी दिए ।
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले संघीयता नचाहिएको कमल थापालाई संघीयताको सीमांकन मिलाउने जिम्मेवारी दिएकोप्रति असन्तुष्टी ब्यक्त गर्दै प्रमुख दलका शिर्ष नेताहरु सहभागी भए थापा नेतृत्वको समितिमा आफूहरु पनि सहभागी हुने स्पष्ट पारे । उनले भने, ‘धर्मको बुई चढेर छलछाम गर्नेको जिम्मामा संघीयता दिनु बेईमानी हो ।’
सरकारले सर्वदलीय बैठक झारा टार्न र भूकम्प पीडितको पैसामा भएको भ्रष्टाचारमा सबैलाई दोषी बनाउन बोलाएको भन्दै त्यसको साक्षी किनारा बस्न मोर्चा नगएको दावी गरे ।
यादवले आफूहरुको आन्दोलन विभेद हटाउने शान्तिपूर्ण अहिंसात्मक आन्दोलन भएको भन्दै आफुहरुको आन्दोलनले नेपाललाई जोडने दावी गरे ।












प्रतिक्रिया