२९ आश्विन २०८३, बिहिबार

माफ गर्नुहोला मलाई केपी ओलीले चिन्दैनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram Bdr G C– रामबहादुर जिसी
२०७२ साल मंसिरको पहिलो साताको एक साँझ कार्यालयको सम्पादन कक्षमा बसेर काम गर्दै थिएँ । एउटा अपरिचित काठमाडौंतिरको फोन नम्बरबाट फोन आयो, फोन उठाएर हेल्लो नभन्दै उताबाट एक जना पुरुषको आवाजमा नमस्कार, गुड इभिनिङ, के छ हाल खबर, के गर्दै हुुनु हुन्छ, तपाईको फेसबुक दिन दिनै हेर्छु निक्कै खुशी लाग्छ भन्दै मलाई चिन्नुभयो ? भने । मैले हजुरलाई अलि चिनिन त ! भन्नासाथ उनले चिन्नु पनि कसरी तपाईं र म भेट नभएको दशक भइसक्यो, मैले त फेसबुक, पत्रपत्रिका हेरेर हजुरको बारेमा जानकारी लिइरहन्छु । उनको यो भनाईपछि पनि मैले उनलाई चिनिन् । उनले आफ्नो परिचय दिए । उनी २०६१÷०६२ तिर बाग्लुङको एक सरकारी कार्यालयमा जागिरे रहेछन्, त्यसपछि पोखरा, चितवन, वीरगन्ज, काठमाडौंलगायतका ठाउँमा जागिरको सिलसिलामा गएछन् । उनले मलाई बाग्लुङमा बस्दा पत्रिकामा मेरा लेख, समाचार हेरेर चिनेका रहेछन्, उनीसँग सम्वाद भयो की भएन, मेरो सम्झनामा छैन, तर उनले मसँग वर्षौंसम्म बसेको जस्तै गरी कुरा गर्दा मलाई आफ्नो स्मरण कमजोर भएको हो की भन्ने चिन्ता लाग्यो । करिब १५ मिनेटको भलाकुसारी पछि उनले काठमाडौं आउँदा भेट्नका लागि आग्रह गरे र आफ्नो ठेगाना र नम्बर उपलब्ध गराए ।

प्रधानमन्त्री, मन्त्रीहरुसँग कहिं कतै साइनो सम्बन्ध नभएको मसँग यसरी पछि परेर काम पटाउन खोज्नेहरु प्रधानमन्त्री, मन्त्रीका नजिकका मान्छेहरु कहाँ कति जान्छन्, होला ? इमान्दार मानिसलाई काम गर्न कति गाह्रो छ होला र बेइमानहरुले यस्तैबाट कति कमाउँछन् होला ? मेरो मनमा अनेक तर्कहरु खेलिरेका छन् ।

मेरो मनमा उनका बारेमा अनेक तर्क चल्न थाल्यो । किन उनले यसरी मलाई सम्झे, यति लामो समयपछि मलाई सम्झनुको के छ रहस्य ? आदि इत्यादी मनमा खेलीरह्यो । फेरी सोचें कुनै सन्दर्भले उनले मलाई सम्झेका होलान, एक मन यो फेसबुकले पनि सबै जानकारी दिएर कतै समस्यामा त पार्ने होइन ? मनमा अनेक तर्क खेले । उनको नम्बर सेभ गरें । फेसबुकमा खोजेर उनको बारेमा अध्ययन गरें । फेसबुक उनी त्यति चलाउँदा रहेनछन् । ७० जना जति साथी रहेछन् । उनको बारेमा धेरै कुरा फेसबुकबाट जानकारी पाउन सकिँन । त्यसपछि आफ्नो काममा लागियो ।

त्यसपछि हरेक साता जस्तो उनको फोन आउन थाल्यो, घरायसी कुरा हुन थाले । फोनमा कामको बाहेक धेरै कुरा म कसैसँग पनि गर्दिन, काम नपरी मैले मेरी आमालाई पनि फोन गर्दिन । बिना काममा फोन किन गरिरहनु जस्तो मलाई लाग्छ । यो कारणले कति पटक आमा र श्रीमतीको गाली पनि मैले खाएको छु । तर उनले धेरै कुरा गर्न खोज्थे, मैले व्यस्त छु भनेर उनीसँग छोटो सम्वाद गर्न खोजें, उनले हरेक पटक काठमाडौं आउँदा भेटौं भन्न छोडेनन् । त्यसपछि म धेरै पटक काठमाडौं गए, तर उनीसँग भेट हुने मेसो परेन, आफ्नो काममा गयो, काम सकिदा साथ फर्कनै हतार हुने । उनले काठमाडौं आएर नभेट्ने भन्न थाले । मैले उनलाई त्यति महत्व दिईंन, किनकी उनको कुरा गराईबाटै जानकारी पाइन्थ्यो कि उनले मबाट कुनै काम लिन चाहन्छन् । नत्र यति धेरै चासो किन हुन्छ ? मेरो मनमा यस्तै तर्कहरु खेल्थे ।

पछिल्लो समय उनले सहकारीका बारेमा अलिक बढी कुरा गर्न थाले । राष्ट्रिय सहकारी बैंक वा अन्य कुनै सहकारीका निकायमार्फत् केही पाउने चाहना उनको छ भन्ने मलाई लाग्न थाल्यो । जे होस् उनी र मेरोबीच मंसिरदेखि चैत अन्तिम सातासम्म राम्रै कुराकानी भयो । चैत २१ देखि २५ गतेसम्म म धुलिखेलमा सहकारी बैंकको कार्यक्रममा रहेको कुरा उनले फेसबुकमार्फत् थाहा पाएछन् र उनले मलाई जसरी पनि भेट हुने कुरा राखे । म घर फर्कनका लागि विमानस्थल ट्याक्सीमा जाँदै थिए । उनको फोन आयो, मैले आज भ्याइएन, म फर्कंदै छु, अर्को महिना आउँदा भेटौंला भने । उनले म पनि एयरपोर्ट जाँदैछु । त्यही भेटौं भने । अब मेरो उम्कन सक्ने अवस्था थिएन । धुलिखेलबाट म एयरपोर्ट पुग्दा उनी पुगिसकेका रहेछन् । त्यहा पुग्दासाथ उनले अभिवादन गरे । भेट भएर खुशी लागेको बताए । कुरा गर्दै विमानस्थलभित्रसम्म पुग्यौ । केही समय कुराकानी भयो ।

कुरा गर्दै जाँदा उनले मलाई प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तै नजिकको मान्छेको रुपमा लिएको मैले बुझें । विस्तारै उनको कुरा बुझ्न थाले । छोरालाई जागिरको बन्दोवस्त गर्नुपर्ने, आफू राम्रो कार्यालयमा सरुवा हुनुपर्ने, छोरीको विवाहका लागि पनि राम्रो जागिरमा घुसाउनेलगायत उनका धेरै कुरा खुल्दै गए । उडान समय भएको थिएन । कफीसँगै उनका कुरा म ध्यानमग्न भएर सुन्दै गए । उनले सबै भूमिका बाँधिसकेपछि अलिक नजिक सरेर भने यो मौकामा हजुरले प्रधानमन्त्रीज्यूलाई भनेर केही गरिदिनुपर्यो । प्रधानमन्त्रीको प्रेस सल्लाहकार पनि तपाईकै प्रेस चौतारीको हुनुहुँदो रहेछ । तपाईसँग राम्रो सम्बन्ध रहेछ पनि भन्न उनले भ्याए । फेसबुकमा प्रमोदजीलाई शुभकामना दिएको कुरालाई पनि उनले अत्यन्तै नजिकको सम्बन्धको रुपमा लिएछन् ।

उनको सबै कुरा सुनि सकेपछि म अवाक् भएँ । के भन्ने, के गर्ने, भन्ने की नभन्ने अलमलको अवस्था सिर्जना भयो । उनी फेरि पनि बोल्दै गए, हजुरलाई के सहयोग गर्नुपर्छ म गरौंला, हजुरले यति काम गरिदिनुप¥यो । उनको भनाई थप १० मिनेट जारी रह्यो । प्राविधिक कारणले पोखराको मेरो उडान क्यान्सिल भयो । उनले त्यसलाई विजयको रुपमा लिए, भगवानले जुराएको हो सर आज सँगै बस्नुपर्छ । भोलि बिहान प्रधानमन्त्रीलाई भेटेर कुरा गरौं, उनको उत्साह असाध्यै थपियो । मलाई भोलिपल्ट बिहान ८ बजे बाग्लुङ पुग्नु थियो । एसी बसको नम्बर खोजेर मैले एउटा सिट मिलाइदिन भने । उनले मलाई गाली गरेको शैलीमा भने ए सर हजुर पनि नाइट बसमा जाने ? हुँदैन भोलि ११ बजेको टिकट म मिलाउँछु । तर म उनको कुरामा कत्ति पनि इच्छुक थिईंन ।

एयरपोर्टबाट बाहिर निस्क्यौं, उनको कुरा जारी नै थियो । म चुपचाप नै थिए । उनले ट्याक्सी चढौं भने मैले मानिन् । गफ गर्दै जाउन त गेटसम्म भने । उनले यो पनि ठीक छ भने र हामी गफिँदै बाहिर पैदल नै हिड्यौं ।

सर त बोल्दै बोल्नु भएन, भन्दै उनले मलाई बोल्न कर लगाए । मैले उनलाई भने मेरो बारेमा तपाईंले गलत बुझ्नु भएजस्तो लाग्यो । म प्रधानमन्त्रीसँग गएर यसरी तपाईंको काम गर्न सक्ने हैसियतको मानिस पनि होइन र मेरो स्वभावले यस्तो गर्दा पनि गर्दैन । तपाईंमा भ्रम परे जस्तो छ । यति भन्ना साथ उनी मजाले हाँसे र भने सर सबै क्षमतावान मानिसले यस्तै भन्छन् । उनको र मेरो छलफल बढ्दै गयो । उनले केपी ओली अध्यक्ष हुने समयमा मैले फेसबुकमा उनको पक्षमा गरेको प्रचार, केपी ओलीलाई प्रधानमन्त्री बनाउन पर्ने भन्ने मेरो लेख, प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएपछि प्रमोद दाहाललाई मैले दिएको शुभकामना लगायत धेरै कुराको बारेमा बेली विस्तार लगाए ।

कुरा गर्दै जाँदा हामी मुल गेटमा पुगि सकेका थियौ । मैले नै प्रस्ताव गरें भोक लागेको छ खाजा पनि खाउँ र अलिक विस्तारमा कुरा पनि गरौं । किनकी उनमा रहेको भ्रम चिर्न सकें भने आजैदेखि उनको कचकच सुन्न पर्दैन भन्ने मलाई लाग्यो । उनले मेरो यो भनाई पछि राहतको सास फेरे र खुशी देखिए । अब उनलाई लाग्यो बाटो घाटोमा मैले यस्ता कुरा गरेर यो मान्छेलाई विच्क्याउँदै छु । उनले चावहिलमा राम्रो रेष्टुरेण्टमा गएर खाजा खाने प्रस्ताव राखे । तर मैले धेरै भोक लागेको छ, यही नै खाऔं भनें । त्यही अगाडिको एउटा रेष्टुरेण्टमा पसेर हामीले चिकेन मम अर्डर गर्यौं ।

खाजासँगै मैले कुराको शुरुवात गरे । तपाईंले मेरो फेसबुक, लेखमार्फत् पाएको तथ्य सही हो । मैले एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनुपर्छ भनेर लविङ गरेको हो । पछि प्रधानमन्त्री बनाउने विषयमा पनि लेख लेखेर समर्थन गरेको हो । यसको अर्थ म ओलीको भित्रिया मान्छे होइन, मलाई ओलीले चिन्दा पनि चिन्दैनन् । ओली एमालेका एक जना नेता हुन्, सानै उमेरदेखि राजनीतिमा लागेका, आमाको माया नपाएका, जेलनेल बसेका, जहिले पनि पार्टीको दोस्रो तहमा रहेका र एउटा अडान भएका नेता भएकाले मलाई ओलीको अडान मन पथ्र्यो त्यसकारण एकपटक ओलीलाई अध्यक्ष बनाउनु पर्छ भन्ने मेरो भित्री चाहना भएर मैले ओलीको समर्थनमा प्रचार गरेको हो । मेरो फेसबुकलाई ओलीको समर्थनमा उपयोग गरेको हुँ । उहासँग सामान्य भेटघाटबाहेक मेरो अरु केही सम्बन्ध छैन । उहाँ एमालेको अध्यक्ष र म एमालेको समर्थक भएका कारण उहाँप्रति मेरो सम्मान छ । मैले मेरो कुरा सुनाए ।

राज्य सञ्चालकहरु नाताबाद र कृपावादको विरुद्धमा कठोर बनेर जनताका दैनिक समस्या समाधान गर्नतर्फ लाग्नुपर्दछ । स्वार्थहरुको समुहले मुलुकको आर्थिक विकाससँगै सामाजिक रुपान्तरणमा ल्याएको अवरोधलाई चिरेर अगाडि बढ्न सकेमा मात्रै समाज रुपान्तरण सम्भव छ ।

मेरो हकमा अध्यक्षमा ओलीलाई समर्थन गर्नुको अर्थ अर्को पनि छ, उहाँसँग प्रतिस्पर्धा गर्ने माधव नेपाल २०५० सालमा पार्टीको कार्यकारी महासचिव हुनुभएको हो । मनमोहन अधिकारी अध्यक्ष भए पनि त्यहाँदेखि पार्टीको खास नेतृत्व माधव नेपालमा नै थियो । मनमोहनको निधनपछि उहाँ शक्तिशाली महासचिव बन्नुभएको हो । उहाँको कार्यकालमा एमालेको पहिचान कमजोर भयो । उहाँले आफूले राम्रोसँग चलाउन सकिन भनेर राजीनामा पनि दिनुभएको हो । एक पटक परिक्षण भइसकेको भन्दा नयाँलाई जिम्मेवारी दिँदा राम्रो हुन्छ भन्ने लागेर मैले ओलीको समर्थन गरेको हुँ यसमा उनीसँगको सम्बन्धको कुनै कुरा छैन, मैले भनें । आगामी दसौं महाधिवेशनमा केपी शर्मा ओली, झलनाथ खनाल र माधव नेपालले अध्यक्षको उमेदवारी दिन थाल्नुभयो भने म यी तिनै जनाको विपक्षमा हुन्छु, किनकी यी तिनै जना टेष्टेड हुन्, नयाँलाई अवसर दिनुपर्छ । यी तिन नेताले पार्टीको अभिभावक भएर बस्नुपर्छ भन्ने मेरो मान्यता हो । म अलिक भावनामा बग्न थाले ।

म जिल्लामा पत्रकारिता गर्ने एक सामान्य मानिस हुँ, नेताहरुसँग मेरो खासै चिनजान छैन । चाकडी चाप्लुसी गरेर काम फुत्काउने मेरो स्वभाव पनि छैन । पैसाका लागि जे पनि गर्नू पर्छ भन्ने मानसिकता म मा छैन, म मेरो श्रममा विश्वास गर्छु, काम गरेर मात्रै सफल भइन्छ भन्ने मेरो मान्यता छ, मैले भने । मलाई राम्रो लाग्यो भने समर्थन गर्न र नराम्रो लाग्यो भने विरोध गर्न स्वतन्त्र छु, । मेरो स्वभाव मन लागेको व्यक्तिलाई खुल्ला समर्थन गर्ने हो । केपी ओलीलाई अध्यक्षमा समर्थन गरिरहँदा अर्को प्यानलका गोकर्ण विष्ट, पशुपति चौलागाईलगायतको प्रचार पनि मैले सँगसँगै गरेको थिएँ । त्यसकारण कसैको नजिक भएर, कसैको आग्रहमा वा उनीहरु सत्तामा गएपछि मैले केही पाउँछु भनेर समर्थन गरेको होइन र त्यस्तो गर्ने मेरो स्वभाव छैन । र म अर्काे पक्षको विरोध पनि गर्दिन किनकी कसैको समर्थन गर्नुको अर्थ अर्काको विरोध नै गर्नुपर्छ भन्ने जरुरी छैन ।

त्यसपछि भने उनी अलिक चिन्तामा परे जस्तो लाग्यो । ६ महिनादेखि गरेको मेहेनत खेर गयो भन्ने उनलाई लागे जस्तो मैले ठाने । अलि मलिनो स्वरमा उनले भने त्यसो भए तपाईंले मेरो काम गर्नुहुन्न ? उनले मलाई बहाना बनाएको रुपमा बुझेको स्पष्ट हुन्थ्यो । मैले उनलाई सम्झाउने तरिकाले भने म केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा मात्र चिन्छु, उहाँसँग मेरो व्यक्तिगत सम्बन्ध छैन र उनले मलाई चिन्दैनन् । मलाई अहिले पनि केपी शर्मा ओलीले राम्रो काम गरुन्, जनताका समस्या समाधान गरुन्, मनमोहन नेतृत्वको सरकारलाई जस्तो पछिसम्म स्मरण गर्न सक्ने काम गरुन् भन्ने छ । सत्तामा गएर आफन्तलाई जागिरको व्यवस्था गर्ने, अकुत सम्पत्ति आर्जन गर्ने, सत्ताको दुरुपयोग गर्नेहरुलाई जनताले स्मरण गर्दैनन्, गरि हाले भने पनि यस्तो कहिल्यै नहोस् भनेर हाँसोको पात्र बनाउँछन् । कम्तिमा केपी शर्मा ओली जस्तो बोल्ड नेताले यस्तो नियति भोग्न नपरोस् भन्नेमा म सचेत छु । मेरो व्यक्तिगत कुनै आग्रह अनुरोध छैन, र हुनु हुँदैन । गरी खान सक्ने क्षमता विकास गर्र्नुपर्छ मैले उनलाई अलि पेलेरै भने ।

यति कुरा हुदाँसम्म हामीले मम खाइसकेका थियौ । उनले कुराकानी छोट्याउन खोजे, विल मागेका थिए, हत्त पत्त मैले नै पैसा दिएँ, उनले नाइ नास्ती गरेनन् । अलि अघिसम्म राम्रो रेष्टुरेण्टका कुरा गर्ने यि महाशय अहिले भने ममको दुई सय दिन पनि अलमलिए । अब उनलाई हतार थियो । उनी फेरि भेटौंला भन्दै बाहिरिए । म पनि आफ्नो बाटो लागें । उनीसँगको भेटघाट सकिएको तीन साता भइसक्यो त्यसपछि उनले सम्पर्क गर्न छोडेका छन् ।

उनीसँगको सम्पर्क, भेटघाटपछि मलाई अचम्म लागीरहेको छ । मानिसहरु आफ्नो काम पट्याउन कसरी हात धोएर लाग्दा रहेछन् । उनले प्रधानमन्त्रीबाटै काम फत्ते गराउनुपर्ने के त्यस्तो अवस्था थियो । मलाई नै रोज्नुको के रहस्य थियो ? म सोचि रहेको छु ।

प्रधानमन्त्री, मन्त्रीहरुसँग कहिं कतै साइनो सम्बन्ध नभएको मसँग यसरी पछि परेर काम पटाउन खोज्नेहरु प्रधानमन्त्री, मन्त्रीका नजिकका मान्छेहरु कहाँ कति जान्छन्, होला ? इमान्दार मानिसलाई काम गर्न कति गार्हो छ होला र बेइमानहरुले यस्तैबाट कति कमाउँछन् होला ? मेरो मनमा अनेक तर्कहरु खेलिरेका छन् ।

मुलुकका जनताको जनजिविकालाई व्यवस्थित गराउने उद्देश्यले राजनीतिमा लागेकाहरु, जनताको पक्षमा काम गर्ने कसम खाएर सरकारी सेवामा लागेकाहरु, जनताकै नाममा विभिन्न संघ संस्था सञ्चालन गरेकाहरु यस्तै तरिकाले अगाडि बढेकै ले त होला हाम्रो देशको उन्नति हुन नसकेको, मैले सोचि रहेको छु । कुनै दिन जिल्लामा भेट भएको, फेसबुकमा कसैको पक्षमा लविङ गरेको, लेख लेखेको आधारमा त मानिसको सम्बन्धको अड्कल काटेर पछि पर्नेहरु छन् भने नेता तथा उच्च पदस्थ कर्मचारीसँग सम्बन्धै भएकाहरुले के कति गरिरहेका होलान् भनेर यतिबेला मेरो मनले सोचिरहेको छ ।

राम्रो काम गर्छु भनेर सत्तामा जानेहरु यस्तैहरुको फन्दामा परेर काम भन्दा लोभ लालचमा परेका थुप्रै उदाहरणहरु छन् । राज्य सञ्चालकहरु नातावाद र कृपावादको विरुद्धमा कठोर बनेर जनताका दैनिक समस्या समाधान गर्नतर्फ लाग्नुपर्दछ । स्वार्थहरुको समुहले मुलुकको आर्थिक विकाससँगै सामाजिक रुपान्तरणमा ल्याएको अवरोधलाई चिरेर अगाडि बढ्न सकेमा मात्रै समाज रुपान्तरण सम्भव छ ।

(जिसी नेपाल पत्रकार महासंघ बाग्लुङका निवर्तमान अध्यक्ष हुन् ।)