
सिन्धुपाल्चोक, १७ वैशाख । चीनबाट अवैध रुपमा छापावाला सुन ल्याउँदै गरेका तीन जनालाई बाह्रविसे प्रहरीले पक्राउ गरेको छ ।
अरनिको राजमार्ग अन्तरगत बाह्रविसेमा शुक्रबार साँझ साढे पाँच बजेतिर प्रहरीले १८ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तातोपानी गाविस–३ का स्याम्बो लामा, सोही गाविसका मिल्मार लामा र मेलम्ची नगरपालिका–८ बस्ने विमला थापा रहेको इलाका प्रहरी कार्यालय बाह्रविसेले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक राजु पाण्डेको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुले चलाएको बा ९ च १४६३ नम्बरको कार पनि नियन्त्रणमा लिएको बाह्रविसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिए ।
उनका अनुसार कारको डिग्गीमा सुन लुकाएको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले तातोपानी नाकाबाट अवैध रुपमा सुन ल्याएको खुलेको छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको बाह्रविसे प्रहरीको भनाई छ ।












प्रतिक्रिया