काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमालेले परिभाषित गरे जस्तो संसदीय सुनुवाई समिति कांग्रेसलाई स्वीकार्य हुन नसक्ने बताउनु भएको छ ।
काठमाडौं क्षेत्र नम्बर एकले आज बिहान आयोजना गरेको कार्यक्रममा नेता सिंहले संसदीय सुनुवाई समितिका नाममा एमालेले बखेडा गरिरहेको आरोप लगाउनुभयो । ‘हिजो सुशील कोइराला नेतृत्वको सरकारले न्यायपरिषदको सदस्य सिफारिस गर्दा संसदीय समिति छैन, नयाँ संबिधानको प्रावधानअनुसार नयाँ चुनाव भएपछि मात्र नयाँ संसदीय समिति बन्छ भनेर अबरोध गर्ने । अहिले राजदूतलगायतको सिफारिस गरेर संसदीय समितिमा पठाउने यो कुरा कांग्रेसलाई मान्य हुँदैन ।’
नेता सिंहले सरकारमा रहेकै दलहरू सरकारको औचित्यमाथि प्रश्न उठाउन थालिसकेकाले दाबी गर्दै सरकार कमजोर धरातलमा उभिएको बताउनुभयो । ‘सरकार कस्तो धरातल उभियको छ भनिरहनु पर्दैन’, उहाँले भन्नुभयो, ‘सरकार ढाल्ने खेलमा कांग्रेस छैन । सत्तारुढ दलहरूनै यो सरकार गिराउन लागेका छन् ।’
कांग्रेसले आगामी संसद बैठकमा जनतासँग प्रत्यक्ष जनसरोकार रहने विषयलाई जोडदार रुपमा उठाउने नेता सिंहले बताउनुभो । उहाँले भन्नुभयो, ‘कांग्रेस जिम्मेवार प्रतिपक्षको रुपमा प्रस्तुत हुन्छ । दायाँबायाँको खेलमा लाग्दैन ।’












प्रतिक्रिया