काठमाडौं, १६ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पुनर्निर्माणको कार्यमा सम्बन्धित जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई स्वयं सेवकका रुपमा खटाइ सरकारलाई सहयोग गर्न निर्देशन दिएको छ ।
कांग्रेसले मुख्यालयले आज प्रेश विज्ञप्ति जारी गरेर पुनर्निर्माणको कार्यमा खटिएका इन्जिनियरहरू तथा जिल्ला विकास कार्यालयका प्राविधिकहरूलाई सहयोग पुर्याउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको हो । ‘सहयोग गर्ने उद्देश्यका साथ प्रभावित जिल्लामा पार्टीका तर्फबाट सम्बन्धित जिल्लाका नेता एवं कार्यकर्ताहरूलाई खटाउने निर्णय गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘हालै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित जिल्लाका गाउँ/टोलहरूमा पुनर्निर्माणको कार्यका लागि १ हजार ३ सय ४६ इन्जिनियरहरूलाई खटाइसकेको सन्दर्भमा कांग्रेसले पुनर्निर्माणको कार्यमा खटिएका इन्जिनियर तथा जिल्ला विकास कार्यालयका प्राविधिकहरूलाई सहयोग पुर्याउने उद्देश्यका साथ प्रभावित जिल्लामा पार्टीका तर्फबाट सम्बन्धित जिल्लाका नेता एवं कार्यकर्ताहरूलाई खटाउने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘खटिएका इञ्जिनियर र जिल्ला विकास कार्यालय प्राविधिक शाखासँग समन्वय गरी उक्त कार्यमा सम्बन्धित जिल्लाले पार्टीका सम्पूर्ण निकाय परिचालित गर्नु गराउनु हुन यसै विज्ञप्ति मार्फत निर्देश गरिन्छ’, कांग्रेसले भनेको छ, ‘यसको सम्पूर्ण अनुगमन पार्टी केन्द्रीय कार्यालयले गर्नेछ ।’
कांग्रेसले सम्बन्धित जिल्लामा खटिएका प्रत्येक इन्जिनियरहरूसँग समन्वय गरी प्रत्येक गाउँ/टोलका लागि पार्टीको तर्फबाट २०/२० जना कार्यकर्ता सहभागी गराउने र सहभागीहरूको सम्पूर्ण अभिलेख जिल्ला पार्टी कार्यालयमा राख्न पनि निर्देशन दिएको छ ।












प्रतिक्रिया