
नुवाकोट, १६ वैशाख । नुवाकोट जिल्लाको काहुलेमा जन्मदिनको भोज खाएका एक जनाको मृत्यु भएको छ भने ५० जना गाउँले बिरामी परेका छन् ।
काहुले–६ का सन्तबहादुर तामाङको छोराको जन्मदिनको भोज खाएका ५० जना गाउँले बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । बिरामीमध्ये काहुले–८ का ३० वर्षीय मेघबहादुर तामाङको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।
मङ्गलबार साँझ भोज खाएका गाउँले बुधबार बिहानदेखि बिरामी पर्न थालेका हुन् । बिरामीलाई बुधबार राति उपचारका लागि सदरमुकामका अस्पतालमा ल्याइएको थियो ।
त्रिशूलीस्थित जिल्ला अस्पतालमा ३८ र नुवाकोट सिटी अस्पतालमा ११ जनाको उपचार भइरहेको छ । उपचाररत बिरामीको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
भोजमा दाल, भात, तरकारी, कुखुरा, राँगोको मासु, रक्सी सेवन गरेको र भोज भएको घरमा बाँकी भएको परिकारसमेत प्रहरीले परीक्षणका लागि सदरमुकाम ल्याएको निरीक्षक बस्नेतले बताउनुभयो ।












प्रतिक्रिया