२९ आश्विन २०८३, बिहिबार

रातो आँखाले हेरिएको ‘दलित’ शब्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prem Bahadur Shahiनेपालको इतिहासमा पहिलो पटक २०६८ साल जेठ १० गते संसद्को बैठकले ‘जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक’ पारित ग-यो । त्यस लगत्तै १८ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले विधेयक प्रमाणीकरण गरेपछि लागू भयो । त्यो नै नेपाली दलितहरुले गरेको करिव दसकौं लामो आन्दोलनको विजय हो । हिन्दु वर्ण ब्यवस्थाले गर्दा ‘अछुत’ भनेर अपमानित, अपहेलित र न्याय नपाईरहेका लाखौं लाख दलित जातिले सो विधेयकपछि न्यायको महसुस गरे भनिएको थियो ।

‘बा¥ह वर्षसम्म कुकुरको पुच्छर ढुंङ्ग्रामा हाले पनि बाङ्गाको बाङ्गै’ भने जस्तै छुवाछुतसम्बन्धी जती कानुन बनाए पनि त्यसलाई ब्यवहारमा लागु नगर्ने हो भने त्यसको औचित्य छैन । एक्काईसौं शताब्दीमा आएर पनि कतिपय अवस्थामा जातीयताका कारणले भोगेको सास्ती पनि अपवादबाहेक विद्यमान सामन्ती प्रशासन र अदालत तथा सम्पूर्ण न्याय प्रणाली दलितको पक्षमा खुलेर न्याय गर्न सकेको छैन ।

वास्तवमा भन्ने हो भने समाजमा दलित जातिले खुलेर न्याय पाएको विरलै पाईने गरेको छ । इतिहासका विभिन्न कालखण्डमा दलित जातिका अग्रजहरुले धेरै नै सास्ती भोगेका थिए । मुलुकी ऐन २०२० ले सार्वजनिक स्थलमा भेदभाव गर्न नपाईने र गरेमा दण्डनीय हुने व्यवस्था गरेको थियो । तर मुलुकी ऐन बनेको पाँच दशक वितिसक्दा पनि विभेद्को अन्त्य हुन सकेको छैन । अहिले पनि दलित जातिलाई मठ, मन्दिर, कुवा, होटल, स्कुल जस्ता विभिन्न सार्वजनिक स्थलमा भेदभाव गरी अपमानित गर्ने गरिएको छ । कतिपय दुर्गम स्थानका विद्यालयमा दलित जातिका छोरा छोरीलाई अगाडि नबसाली पछाडि बसाल्ने गरिएको पाइन्छ । त्यसैगरी कथित माथिल्लो जातिका बालबालिकालाई बेञ्चमा राखेर दलित जातिकालाई भुईंमा राखेर पढाउने गरेको पनि पाइन्छ ।

राज्यका सवै निकायमा दलित जातिको प्रतिनिधित्व हुनुपर्ने बाध्यकारी ऐन बनेको भनिए पनि जातीय छुवाछुतप्रतिको दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन । करिव दुई हजार वर्ष पहिले व्राम्हण राजा मनुको शासनकालमा वर्ण ब्यवस्थासँगै छुवाछुतसमेत लादिएको भनाइ छ । त्यसवेलादेखि समाजका सवैभन्दा तल परेका श्रमजीवी जनताबीच फुट पार्ने काम भएको थियो । २०२३ सालअघिसम्म ‘दलित’ शब्दको प्रयोग संगठनको नाममा भएको थिएन । तर अहिलेको समाजमा वर्ण ब्यवस्थाअनुसार ‘अछुत’ भन्ने अनगिन्ती जातलाई बनाइयो । देशको कुल जनसंख्याको एक चौथाई ओगटेका दलित जातिलाई अपहेलना गर्ने गरिएको छ । समाजमा आज उच्च जातिका कतिपय ब्यक्तिको चेतनास्तर माथि उठेको भए पनि उनीहरु ‘अछुत’ भन्ने शब्द उन्मुलन गर्न चाहन्नन् । परिवार गाउँ समाजबाट हेपिने वा आलोचित हुने भएकाले भेद्भाव उन्मूलनको अभियानमा सरिक हुने चाहना पनि उनीहरुले राखेको देखिँदैन ।

कुनै समयमा कसैले जातपात, धर्मकर्म, रितिरिवाज तथा परम्परालाई हिन्दु धर्मअनुसार कार्यान्वयन ग¥यो भने उसलाई समाजमा प्रतिष्ठित मानिन्थ्यो । अब त्यसको परम्पराको अन्त्य गर्न आफ्नै घरबाट सुरु गर्नु पर्दछ । अहिले पनि दलित जाति भनिनेहरुलाई घरभित्र प्रवेश गर्न दिईंदैन भने उनीहरुले छोएको खानेकुरासमेत चल्दैन ।

हामीले छुवाछुतको अन्त्यको कुरालाई सिद्धान्त, कानुन वा कुरामा मात्र सीमित रहन दिनु हुँदैन । त्यसको अन्त्यका लागि व्यवहारमै अभ्यास गर्नुपर्छ । जातीय भेद्भाव विरुद्ध अग्रसर ब्यक्ति तथा संघसंस्थालाई सम्मान र प्रोत्साहन दिनुपर्छ ।

यद्यपी विद्यमान कुरितिलाई हाम्रो समाजले मस्तिष्कबाट हटाउन सकेको छैन । सबै मान्छे आखिर मान्छे नै हुन् भन्ने चेतनाको विकास गराउनु पनि आवश्यक छ । अहिले पनि समाजमा ‘अछुत’ भन्ने शब्दलाई रातो आँखाले कर्के पारेर हेर्न गरिएको छ । विहान दलित जातिको मुख देख्यो भने दिनभरीको काममा बाधा हुन्छ भन्ने प्रचलन समाजमा कायमै छ । यो कस्तो प्रचलन हो ? दलित जातिले करेसावारीमा गएर काम गर्नुहुन्छ, घरको धुरीमा छानो लगाउनुहुन्छ तर त्यही दलित जाति घरभित्र पस्न भने हुँदैन भन्ने मान्यता समाजमा विद्यमान छ । मन्दिरमा राख्न बनाइएका अधिकांश मूर्ति दलित समुदायका मानिसले नै बनाएका हुन् । तर तिनै मूर्तिमा पूजा गर्नबाट उनीहरु नै बञ्चित भइरहेका छन् । गैरदलित जातिले लगाउने गरगहना पनि त्यही दलित जातिले बनाएका हुन् । मूर्ति र गरगहना बनाउँदा नछोइने तर उनीहरुलाई छुन भने नहुने यो कस्तो मान्यता हो ? दलित जातिले पालेका पशुको दूध दुहेर खान हुने तर त्यहि दलित जातिका मान्छेको हातले दूहेको दूध खानु नहुने यो कस्तो समाज हो ? दलित जातिले सिलाएका कपडा लगाउन हुने, दतिल जातिले फलाएको तरकारी खान हुने, दलित जातिका सवै सीप चल्ने तर त्यहि दलितले सँगै बसेर खाना खानु नहुने ! यो कस्तो विचित्र संस्कार ?

पछिल्लो समयमा दलितजाति भन्ने शब्दको विषयमा पनि तिव्र मदभेद चलेको छ । त्यही शब्दलाई अंगालेर दलित जातिको मुक्तिको आन्दोलनमा यस्ता तर्क पनि वेलावेला कतिपयले उठाउने गरेका छन् । दलित जातिले आफूलाई दलित बताएकै कारण अत्याचार भएको होइन बरु अत्याचार गर्ने सामाजिक ब्यवस्था विद्यमान भएकाले अत्याचार भएको हो । मजदुर, किसान, महिला, जनजाती आदि कैयौ वर्ग वा समूहहरु वर्गीय शोषण उत्पिडनको शिकार भएका छन् । अबका दिनमा दलित र गैरदलित जाति बीचको मात्र जातीय छुवाछुतको अन्त्यको कुरा गरेर हुँदैन समाजमा हुने सवै प्रकारका विभेदको अन्त्य हुन आवश्यक छ ।

– लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन् ।