३० आश्विन २०८३, शुक्रबार

एक लाख २० हजार ६ सय २७ जनाले एसएलसीको मौका परिक्षा दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slc-Panika

भक्तपुर, १८ साउन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन २० गते मङ्गलबारदेखि सुरु गर्ने एसएलसी पूरक (मौका) परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।

२०७० को एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गर्ने मौका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले आइतवार जानकारी दिनुभयो ।

कुल एक लाख २० हजार ६ सय २७ जना परीक्षार्थी सहभागी हुने परीक्षाका लागि कार्यालयले देशभर कुल २ सय ३४ परीक्षा केन्द्र निर्धारण गरेको उहाँले जानकारी दिनुभयो ।

परीक्षाका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्ला जिल्लामा पुराइसकिएको बताउँदै उहाँले पूरक परीक्षाको परीक्षा केन्द्र सदरमुकाम केन्द्रित गरिएको जानकारी पनि दिनुभयो ।

परीक्षामा सबैभन्दा बढी अनिवार्य गणित विषयमा ६८ हजार २ सय ३०, विज्ञान विषयमा ५० हजार ७ सय १९ र अनिवार्य अङ्ग्रेजी विषयमा ३३ हजार ७७ जना परीक्षार्थी सहभागी रहने छन् ।

त्यस्तै ऐच्छिक गणितमा १० हजार ६ सय ३९, सामाजिक शिक्षामा १७ हजार १ सय ६४, नेपालीमा दुई हजार २ सय ९१ परीक्षार्थी छन् । परीक्षा नियन्त्रक द्वारेका अनुसार एक विषयमात्र परीक्षा दिने परीक्षार्थी ५४ हजार ३ सय ९२ जना र दुई विषयको परीक्षा दिने परीक्षार्थी ६६ हजार २ सय ३५ जना रहेका छन् ।

कार्यालयका अनुसार साउन २० गते अनिवार्य अङ्ग्रेजी र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण र अनुवाद, २१ गते अनिवार्य नेपाली र गैरनेपाली परीक्षार्थीका लागि अङ्ग्रेजी, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य, २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा तोकिएको छ ।

त्यसैगरी २५ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा र वेद विद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, २६ गते ऐच्छिक प्रथमपत्रका सबै विषयहरु र २७ गते ऐच्छिक द्वितीय पत्रका सबै विषयको परीक्षा सञ्चालन गर्ने भएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गते सम्पन्न हुनेछ ।