काठमाडौं, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणताका उनको सवारी चल्ने सडक आधा घन्टाअगाडि दुवैतर्फ खाली गराइने भएको छ। सुरक्षा जोखिमका कारण प्रहरीले सवारी रुटको सडकका सबै लेन खाली बनाउने भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीका अनुसार भिभिआइपीको सवारी चल्ने रुट आधा घन्टाअगाडि खाली गराइनेछ। सवारी सकिएको ५ मिनेटपछि सो रुटका सवारीसाधन खुला हुने अधिकारीले जानकारी दिए।
तय भएको सवारी रुटअनुसार आइतबार बिहान ११ बजेदेखि राति १० बजेसम्म र सोमबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सवारी चल्ने सडकको सार्वजनिक यातायात प्रभावित हुनेछ। डिआइजी अधिकारीले सडकमा ट्राफिकको अवस्था हेरेर सवारी रोक्ने र खोल्ने समय तय हुने जानकारी दिए।
‘हामी सर्वसाधारणलाई अनावश्यक रुपमा दुःख दिने पक्षमा छैन, तर पाहुनाका लागि केही समय सडक रोकिन सक्छ,’ उनले भने, ‘दुई दिन सकेसम्म मूल सडकको साटो भित्री सडक प्रयोग गर्न हाम्रो आग्रह छ।’
आइतबार बिहान ११ बजेदेखि साढे ११ बजेसम्म त्रिभुवन विमानस्थलदेखि टुसालको ह्यात होटलसम्मको मुख्य सडकको यातायात प्रभावित हुनेछ। सिनामंगल, गौशाला, चाबहिल हुँदै टुसाल पुग्ने सवारी रुटको विकल्पका रुपमा भित्री सडक प्रयोग गर्दा जामबाट जोगिन सकिन्छ भन्दै समाचार आजको नागरिक दैनिकले छापेको छ ।
भिभिआइपीको सुरक्षाका कारण सवारी रुट बनाउँदा २ वटा बनाउने गरिन्छ। एकै रुटमा सवारी चलाउँदा सुरक्षा खतरा बढ्न सक्ने भन्दै २ वटा सवारी रुट बनाउने र सवारी चल्नु आधा घन्टा अगाडि मात्र प्रयोग हुने रुटअनुसार सवारी सुरक्षाको प्रबन्ध हुने सुरक्षास्रोतले जानकारी दियो।















प्रतिक्रिया