
बिही (गोरखा)। दाजु र भाइकी एकै श्रीमती। घरमा दाजु श्रीमतीसँग हुँदा भाइ गोठमा, भाइ घरमा हुँदा दाइ गोठमा। वर्षौं पहिले उत्तरी गोरखाको दुर्गम भेगमा एकैघरका दुई दाजुभाइका एउटै श्रीमती खुबै भेटिन्थे। तर हिजोआज पहिलेभन्दा कम भए पनि एउटै बिहे गर्ने परम्परा हटेको भने छैन ।
अहिले पनि बिही, छेकम्पार सामागाउँ लगायत गाविसका दुई भाइले एकै श्रीमती बिहे गरेको भेटिन्छ। ुपहिले गाउँपिच्छे थुप्रै थिए, अहिले थोरै छन्, बिस्तारै एउटै बिहे गर्ने परम्परा हटे पनि पूर्ण रुपमा हटेको छैन बिहीकी स्थानीय शिक्षिका लुना गुरुङले भनिन्।
बिही गाविसमै यस्ता गाउँ पनि छन् जहाँ एकै घरका दुई दाजुभाइले एउटै बिहे गर्छन्। बिही १, क्रोका एकै घरका दुई दाजुभाइले वडा नम्बर ९ की पेमा लामालाई बिहे गरे। फुर्बु तेन्जिङ र छेवाङ दुई दाजुभाइ हुन्। पेमा उनीहरु दुवैका श्रीमती हुन्।
बिहेवारी गर्ने परम्परा भने अन्यत्रभन्दा त्यहाँ बेग्लै छ। मन परेको केटीलाई मेलापात, गोठालो जाँदा, घट्ट जाँदा, बाटोमा भेटेका बेला र राति सुतेको ठाउँमै गएर तान्ने प्रचलन छ। पेमालाई पनि नुर्बु र छेवाङले सुतेका बेला घरबाटै तानेका थिए। केटीका आमाबाबुलाई खुसी बनाउन सके भने छोरीलाई जबरजस्ती तानेर, बोकेर दलबलसहित आएर लैजान प्रचलन छ। बिही गाविसमा अहिले पनि तानेर जबरजस्ती बिनामन्जुरी बिहे हुने क्रम रोकिएको छैन।
बिही ४ की सोनाम साङ्मोको १६ वर्षे उमेरमा तानेरै बिहे भएको थियो। घरमा आमाबुवालाई टन्न रक्सी खुवाए उनले सुनाइन्, मलाई तानेर लगे, फर्कियो भने घरमा पनि नराम्रो, आमाबाबुलाई केटा पक्षले कुटपिट गर्ने, झगडा हुने, पैसा दिनुपर्ने सम्म हुन्छ, डरले म बसिरहेँ। उनको अहिले तीन छोरी र दुई छोरा छन्। म त एउटा मात्रै श्रीमती, अझै गाउँमा कोही केटी त दुईजना भएको ठाउँमा पर्छन्, साङ्मोले भनिन्। उत्तरी गोरखाका अधिकांश दुर्गम गाविसमा तानेरै बिहे गर्ने, एकै परिवारका दुई दाजुभाइले एउटै केटीसँग बिहे गर्ने प्रचलन अहिले पनि छ। दाजुभाइले बिहे गरेपछि आलोपालो घरमा बस्ने गर्छन्।
बिहीमा मात्र होइन, छेकम्पार, सामागाउँमा दुई दाजुभाइको एउटै बूढी अहिले पनि छन्, स्थानीय शिक्षिका लुना गुरुङले भनिन्, ुपहिले धेरै थियो तर अहिले बिस्तारै हराउँदै गएको छ। तानेर बिहे गर्ने प्रवृत्ति भने बढिरहेको उनी बताउँछिन्। तानेर बिहे गर्नुलाई संस्कारसँग जोडेर हेर्ने गरिन्छ। उनले भनिन्, केटीको घरपरिवार नमान्दासम्म यो सम्भव हुँदैन, तर मानिहाल्छन्। कमजोर चेतना स्तर र संस्कारका कारण यो परम्परा तोडिन गाह्रो भएको उनले बताइन् ।
नागरिक दैनिकमा नरहरि सापकोटाले समाचार लेखेका छन् ।















प्रतिक्रिया