काठमाडौं, १८ साउन । पानीका मुद्दा अलग राखेर मात्रै विद्युत व्यापार सम्झौता (पिटिए) गर्ने भन्ने नेपालको मस्यौदामा भारतीय पक्ष सहमत नभएपछि चार वर्षदेखि गर्ने भनिएको विद्युत व्यापार सम्झौता तत्काल नहुने भएको छ।
आइतबार नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा पिटिए टुंगो लगाउने भन्दै एक महिनादेखि छलफल र बहस हुँदै आए पनि भारतीय पक्ष सहमत नभएपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यसबारे कुनै निर्णय गरेन।
नेपालले तयार पारेको मस्यौदा भारतले थप अध्ययन गरेर डेढ महिनाभित्र अन्तिम रुप दिनेमा दुवै पक्ष सहमत भएको ऊर्जामन्त्री राधा ज्ञवालीले शनिबार नागरिकलाई बताइन्।
मन्त्रालयअनुसार पानी उपयोगका मुद्दा अलग गरेर सम्झौता गर्न सकिने प्रकारको मस्यौदामा भारत सहमत देखिएन, प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा पिटिएको टुंगो नलाग्ने निश्चित भएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
पिटिएबारे जिज्ञासा राख्दा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले मन्त्रिपरिषदका महवपूर्ण निर्णय २४ घन्टा नभई सार्वजनिक गर्न नमिल्ने बताए। तर, बैठकमै सहभागी एक मन्त्रीले यसबारे भारत सकारात्मक नभएपछि बैठकमा कुनै पनि कुरा नउठेको बताए।
उनले भने, ‘यसको अर्थ नेपालको सर्त मानेर भारत पिटिए गर्न सहमत छैन भन्ने बुझिन्छ।’ उनका अनुसार पिटिएको मस्यौदामा भारत सहमत भएन भने पिडिएका मस्यौदामा हामी सहमत हुन सकेनौं।
नेपालले विद्युत व्यापारलाई प्राथमिकता दिँदै आएको थियो भने भारतले समग्र जलस्रोत विकासमा सहकार्य गरेर जान सकिनेमा जोड दिएको थियो। पानी उपयोगका विषय छुट्ट्याएर मात्रै सम्झौता गर्नुपर्ने विभिन्न राजनीतिक पार्टीले अडान राख्दै आएपछि नेपालले पानीका मुद्दामा छुट्टै छलफल गर्न सकिने गरी मस्यौदा तयार परेको थियो।















प्रतिक्रिया