३० आश्विन २०८३, शुक्रबार

सडक दुर्घटना न्यूनीकरणका २५ उपाय !

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Min Bd. Panditनेपालमा वर्षेनी सडक दुर्घटनामा परी मर्नेको संख्या बढ्दै गएको छ । सडक र यातायातका साधनको नाजुक अवस्था अनि चालकको लापरबाहीले बढी दुर्घटना हुने गरेका छन् । सडक दुर्घटना न्यूनीकरणका लागि केही उपाय अबलम्बन गर्न सकिएमा धेरैको ज्यान बनाउन सकिने छ । सडक दुर्घटना रोक्ने उपाय २५ बुँदामा –

१. बाटोको बर्गीकरण ‘अस्थायी र स्थायी रुट’ परमिटको व्यवस्था गर्ने (बाह्रै महिना गाडी चलाउन सकिनेलाई स्थायी र हिउँदमा मात्र चलाउन सकिनेलाई अस्थायी रुट परमिट दिने), साँघुरो बाटोमा ठूला सवारी साधनलाई प्रवेश अनुमति नदिने ।

२. रोड पिचको ग्यारेन्टी १ बर्षबाट बढाएर १० वर्ष बनाउने, किनकी खाल्डाखुल्डिले धेरै दुर्घटना निम्त्याउँछ (वर्षैपिच्छे रोड पिच गर्न सम्भव र व्यवहारिक पनि हुँदैन) ।

३. यात्रु बसले यात्रुका झोलाबाहेक अन्य सामान बोके जरिबाना गर्ने र यात्रु बसमा हुट राख्न नदिने । सरसामान बोक्नका लागि छुटै समिति मार्फत् गाडिको व्यवस्था गर्ने ।

४. बाटो मर्मत वा पिच शुल्क छुट्टै लिने (कच्ची बाटो र खाल्डाखुल्डिले गर्दा गाडीको मर्मत खर्च प्रतिमहिना ५ देखि ५० हजार आउँछ र त्यो पैसा उठाउन भाडा महँगो गर्नु र सक्दो यात्रु कोच्नुको बिकल्प छैन त्यसले दुर्घटनाको जोखिम निम्त्याउँछ र ५ हजार शुल्क तिर्दा १५ हजार मर्मत खर्च बच्ने भएकाले व्यवसायीहरु पनि बाटो मर्मत र पिच शुल्क तिर्न तयार हुन्छन् ।)

५. निश्चित ठाउँमा मात्र गाडी रोक्न पाउने गरि ‘बस विसौनी’ बनाउने ।

६. बाटोको गुणस्तर कमसेकम राष्ट्रिय मापदण्ड अनुसारको हुनैपर्ने, अन्यथा रुट परमिट नदिने र चालक, यातायात व्यवसायी, समिति र सम्बन्धित प्रशासनिक कर्मचारीलाई कारबाही गरेर मात्र दुर्घटना रोकिन्छ भन्ने मानसिकताले देश विकास हुँदैन र नयाँ बाटो पनि बन्दैन ।

७. तिब्र गतिले हुने क्षति रोक्नका लागि सकिन्छ भने शहरी एरियाका ठाउँ ठाउँमा हाइस्पिड क्यामेरा राख्ने, ओवर स्पिड भए अटोमेटिक फ्लास हुन्छ र जरिबाना गाडीको खातामा जम्मा हुन्छ । गाडी नवीकरण गर्दा यो रकम नतिरी सुखै छैन । विकसित देशमा यही सिस्टम प्रचलनमा छ र क्यामरा राख्न असम्भव ठाउँमा नसके छड्के अनुगमन गर्ने ।

८. गाडी चालकलाई मोबाइल फोन सञ्चालनमा रोक लगाउने, यात्रुसँग अनावश्यक कुरा गर्न र जिस्कन नदिने ।

९. धेरै दुर्घटना हुने ठाउँको पहिचान गरि सावधानीका संकेतहरु राख्ने र चेतना अभिवृद्धिका कार्यक्रम गर्ने ।

१०. सडकको तल्लो भागमा ठूला ठूला रुख लगाउने, सडकको पाँच मिटर दायाबायाँ रुख कटानमा रोक लगाउने ।

११. जुन क्षेत्रका लागि सडक बनाउने योजना हुन्छ, त्यही क्षेत्रका बासिन्दाको अनुगमन समिति गठन गर्ने ।

१२. पुराना गाडीको मर्मत सम्भार गरिएको छ÷छैन अनुगमन र मुल्यांकन गर्ने, मर्मत सम्भार नगरिएका वा पुराना गाडि सञ्चालनमा रोक लगाउने ।

१३. दुर्घटना गराउने चालकको सवारी चालक अनुमतिपत्र खारेज नै गरिदिने । दुर्घटना भएर मानिसको नै मृत्यु भएका चालकलाई कडा कारबाहीको व्यवस्था गर्ने ।

१४. कम्तिमा दुई वर्ष स्थानीय रुटमा गाडी चलाएपछि मात्र लामो रुटमा चलाउन पाउने अनुमति दिने ।

१५. मादक पदार्थ सेवा गरी सवारी चलाएको तीन पटक फेला परे, वर्ष दिनभित्र ३ भन्दा बढी दुर्घटना गराए सवारी चालक अनुमतिपत्र रद्द गरिदिने । चालकलाई अनिवार्य रुपमा तालिम र सुरक्षासम्बन्धी शिक्षा प्रदान गर्ने ।

१६. सकेसम्म सडक बत्ति र रातीका लागि राजमार्गका अप्ठ्यारा स्थानमा सडक बत्ति वा सोलार बत्तिको व्यवस्था गरिदिने ।

१७. राजमार्गमा पनि आउने जाने सवारी साधनका लागि पहेलो रंगको (अन्तर्राष्ट्रिय चल्तीको रंग) रेखांकन गरेर सडकलाई २ भागमा विभाजन गर्ने ।

१८. नक्कली लाइसेन्स दिने र लिनेलाई कडा कारबाही गर्ने, एसएलसी पास भएकालाई मात्र लाइसेन्स दिने व्यवस्था गर्ने ।

१९. व्यस्त ट्राफिक चोकमा ट्राफिक सिग्नल राख्ने, बाटो काट्ने जेब्रा क्रसिंग सबै ठाउँमा बनाउने । सकेसम्म व्यस्त चोकमा बाटो काट्न फ्लाई ओवर बनाउने र जेब्रा क्रसिंग छोडेर रोडबाट बाटो क्रस गरे पैदल यात्रीलाई पनि पक्राउ गरी जरिवाना गर्ने ।

२०. पैदल यात्री हिँड्ने बाटोमा फुटपाथ पसल राख्न नदिने, बाटोमा फोहोरको कन्टेनर राख्न नदिने ।

२१. बाटोको दायाँबाया घर बनाउनेहरुलाई निर्माण सामाग्री बाटोमै राख्न नदिने ।

२२. सवारी चालक र सहचालकलाई अनिवार्य रुपमा युनिफर्मको व्यवस्था गर्ने, ताकि उनीहरुलाई म ड्युटिमा छु भन्ने भान होस् ।

२३. सडकको पिच राम्रो बनाउने । सडकको पिच राम्रो नहुँदा धुलो उडेर स्वास्थ्यमा नराम्रो असर पारेको हुन्छ, त्यसैले स्वास्थ्यमा गरिने खर्च सडक राम्रो बनाउन लगाउने ।

२४. दिनभर कार्यालयमा काम गरेर फर्कनु पर्दा होस् या लामो यात्रा गर्दा थकित भइने भएकाले यात्रुका लागि आरामदायी सवारी साधनको व्यवस्था गर्नेृ ।

२५. बढी सवारी जाम हुने या सवारी साधन बढी चल्ने स्थानमा आवश्यकताअनुसार फ्लाई ओभरको व्यवस्था गर्ने ।

हालः दुबई, युएई