कैलाली, ६ बैशाख । मसुरीया गाबिस–२ स्थित ईन्द्रपुर बस्ने राजेश भन्ने बाबुराम बिकलाई विभिन्न हातहतियार तथा हातहतियार बनाउने सामाग्रीसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । विक पूर्व माओवादी लडाकु हुन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनकै घरमा अबैधरुपमा हातहतियार खर–खजाना निर्माण तथा मर्मत गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मसुरियाको प्रहरीले उनको घरमा निर्माण तथा निर्माणाधिन अवस्थामा लुकाई छिपाई राखेका विभिन्न हातहतियार तथा हतियार बनाउन प्रयोग हुने सामाग्रीसहित उनलाई पक्राउ गरेको हो ।
उनको घरबाट हातहतियार निर्माण तथा मर्मतमा प्रयोग हुन सक्ने मशिन १ थान, हातहतियार निर्माण तथा मर्मत सम्बन्धि जानकारी सहितको पुस्तिका १ थान, एसएलआर राइफलको म्याग्जीन १ थान, थ्रीनटथ्री राइफलको म्याग्जीन १ थान, टाइप ७७ पेस्तोल १ थान, म्याग्जीन १ थान, टाइप ५४ पेस्तोलमा प्रयोग हुने म्याग्जीन १ थान, नलकटुवा पेस्तोल २ थान, सर्टगन कार्टिज ५ थान, सर्टगन कार्टिज बेसाबुद ४ थान, थ्रीनटथ्री राइफलको गोली ५ राउण्ड, त्यसको खोका ११ थान, सानो हतियारमा प्रयोग हुने राउण्ड ५ थान, त्यसको बेसाबुद खोका ७ थान, बेसाबुत सर्टगन १ थान, भरुवा बन्दुकको कुन्दा आकारमा तयार पारिएका काठ ४ थान, भरुवा बन्दुकको नाल ३ थान, बाह्रबोर बन्दुकको बट १ थान, त्यसको नाल १ थान, भरुवा बन्दुकको नाल बनाउन प्रयोग हुने फलाम २ थान, हातहतियार निर्माण तथा मर्मतमा प्रयोग हुने किला काटी, पेस्तोल फ्रेम, साना ठूला स्प्रिङ्ग र अन्य फलामे हातहतियारका पार्टपूर्जाहरु बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया