तत्कालिन सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीले अघोषित रुपमा कार्यगत एकता गरी शाही निरंकुशताका विरुद्धमा आन्दोलन चलाएका थिए । राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्नका लागी देशव्यापी रुपमा आन्दोलनको आँधीबेहरी चलिरहेको थियो । १९ दिने जनआन्दोलनले रुकुमलाई पनि निकै तताएको थियो । २०६३ बैसाख ५ गते रुकुमको सदरमुकाम नजिकै रहेको सल्लेमा तत्कालिन माओवादीले बम बिस्फोट गरायो ।
२०६३ साल वैशाख ६ गते सदरमुकाम खलंगा बजार निकै सुनसान थियो । तत्कालिन राज्यले रुकुमको आन्दोलन तुहिएको निष्कर्ष निकालेको थियो । अघिल्लो दिन बम बिस्फोट भएकाले सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । वैसाख ६ गते ठीक ११ बजेर ५६ मिनेट गएको थियो खलंगाको मध्य बजारमा सबैका घरघरबाट शाही राजतन्त्रका बिरुद्धमा आन्दोलन निस्कियो । सात राजनीतिक दलको अगुवाईमा शान्तिपूर्णरुपमा सिठीजुलुश निस्कियो । सर्वसाधारण हरेक घरघरबाट निस्किएपछि रुकुम पनि आन्दोलनमय भयो । खलंगा बजार परिक्रममा गर्दै बालमन्दिरअगाडि जुलुश अघि बढिरहेका बेला प्रहरीसँग झडप भयो । प्रहरीको कमाण्ड गरिरहेका प्रहरी निरीक्षक बिष्णु पराजुलीले आफ्ना सिपाहीहरुलाई अन्दाधुन्द लाठी प्रहार गर्न लगाए । आन्दोलनलाई तितरबितर पार्ने मनसायका साथ बाक्लो मात्रामा प्रहरी परिचालन गरियो । तर आन्दोलनको आँधीबेहरी झनै उर्लियो ।
आन्दोलनकारीले आफ्नो सिठी जुलुश र जनप्रर्दशन गराएरै छाडे । सोही बेला प्रहरीको निसानामा हामी मानवअधिकारकर्मी र पत्रकार प¥र्यौं । शान्तिपूर्ण जुलुसको अनुगमन गरिरहेका अधिकारकर्मी र पत्रकामाथी प्रहरीले अन्दाधुन्ध लाठी र बुट प्रहार ग-यो । सोही समयमा सबैभन्दा बढी मेरो शरीरमा लाठी बर्सायो । बालमन्दिर अगाडिबाट निर्घातरुपमा लाठीप्रहार गर्दै त्रिबेणीचोक बागबजारसम्म पु-यायो । प्रहरीको निर्मम कुटाई देखेर कतिपय राजनीतिक दलका नेता र अधिकारकर्मीले मलाई बचाउन प्रयास गर्नुभयो । तर प्रहरी निरीक्षक पराजुली र हवल्दार हर्कबहादुर घर्तीको निर्मम कुटाई अन्त्यमा मलाई मात्र प-यो । आन्दोलनलाई उक्साउने तँ होइनस् भन्दै उनीहरुले गोरु चुटाई गरिरहे । सोही समयमा मानवअधिकारकर्मी टोपबहादुर खड्का, जिवन खड्का, प्रेम ओलीलगायतलाई पनि हातपात गरिएको थियो । सात दलको शान्तिपूर्ण जुलुसको अनुगमनलाई सहन नसकी तथा उसले तुहाउन खोजेको आन्दोलनलाई तुहाउन नसकेपछि अन्त्यमा आएर ममाथी सम्पूर्ण शक्ति केन्द्रीत गरेर कुटियो । मलाई तत्कालन अस्पतालमा पु-याइयो ।
मेरो खुट्टा, टाउको र ढाडमा भएको चोटले रुकुममा उपचार असम्भव देखियो । बैसाख ६ गतेको दिनमा सात दलका नेता तथा अन्य पेशागत संघ संस्था एवम् अधिकारवादीहरुले मलाई कुटपिट गर्नेलाई कार्वाहीको माग गरे । तर राज्यका ती प्रहरी र प्रहरी कमाण्डर अर्को दिनको आन्दोलन नियन्त्रण गर्न आएनन् । उनीहरुको सट्टा अर्कै जनालाई पठाइयो । तत्कालिन सात राजनीतिक दलको सिफारिसमा जिल्ला अस्पतालको रिफर लेटरका साथ म काठमाडौंको मोडल अस्पतालमा भर्ना भएँ । पत्रकार महासंघका तत्कालिन महासचिव (हाल अध्यक्ष) महेन्द्र बिष्ट लगाएतको टोली अस्पतालमा आएर मेरो अवस्थाबारे जानकारी लिनुभयो । नेकपा एमालेकी तत्कालिन सांसद तिर्था गौतमको हरेक दिन मेरो निगरानी रहन्थ्यो । अस्पतालको शैयामा ९ दिन रहँदासम्म देशमा आमुल परिवर्तन भइसकेको थियो ।
लोकतन्त्र स्थापनाका लागी भएको बलिदानीलाई अहिले राज्यले उचित मुल्यांकन गर्न सकिरहेको छ या छैन त्यो कुरा स्वयं शहिद परिवार र घाइते व्यक्तिहरुले बताइरहेका छन् । राज्यले मुल्यांकन गर्ला नगर्ला त्यो आफ्नो ठाँउमा छ तर रुकुमको सन्दर्भमा आन्दोलनमा कुटाई पिटाई खाँदा स्वयम् आफूले पनि भोगेका र मलाई कुटिरहँदा छुटाउन प्रयास गर्ने केही मान्छेले जनआन्दोलनको स्वघोषित घाइते भन्दै सामाजिक संजालमा स्टाटसहरु पोष्ट गर्ने र विभिन्न बजारहरुमा हल्ला गर्दै हिँडिरहेका छन् । आन्दोलनमा सँगै हिँडिरहेका व्यक्तिले जसले मलाई उपचारका लागि पनि सहयोग गरेका थिए उनै व्यक्तिले अहिले आएर स्वघोषित घाइते भन्दै हिँड्नु कति उपयुक्त होला ?
१९ दिने आन्दोलन सफल भएर देशमा शाही राजतन्त्रले घुँडा टेकिसकेको थियो । मजस्ता कयौं घाइतेहरुले अस्पतालको शैयामा नै खुसीयाली मनाएका थियौं । सो आन्दोलनमा धेरै शहिद भए भने हजारौं घाइते तथा अंगभंग भएका छन् । लोकतन्त्र स्थापनाका लागी भएको बलिदानीलाई अहिले राज्यले उचित मुल्यांकन गर्न सकिरहेको छ या छैन त्यो कुरा स्वयं शहिद परिवार र घाइते व्यक्तिहरुले बताइरहेका छन् । राज्यले मुल्यांकन गर्ला नगर्ला त्यो आफ्नो ठाँउमा छ तर रुकुमको सन्दर्भमा आन्दोलनमा कुटाई पिटाई खाँदा स्वयम् आफूले पनि भोगेका र मलाई कुटिरहँदा छुटाउन प्रयास गर्ने केही मान्छेले जनआन्दोलनको स्वघोषित घाइते भन्दै सामाजिक संजालमा स्टाटसहरु पोष्ट गर्ने र विभिन्न बजारहरुमा हल्ला गर्दै हिँडिरहेका छन् । आन्दोलनमा सँगै हिँडिरहेका व्यक्तिले जसले मलाई उपचारका लागि पनि सहयोग गरेका थिए उनै व्यक्तिले अहिले आएर स्वघोषित घाइते भन्दै हिँड्नु कति उपयुक्त होला ? उनीहरुले अहिले जनआन्दोलनको घाइते भन्दै बिभिन्न अवसरहरु प्राप्त गरिसके । अझै पनि यसले सोही निहुँमा धेरै अवसर लिन्छ भन्दै मलाई बिभिन्न अपमान गरिरहेका छन् । त्यस्ता व्यक्तिलाई तत्कालिन जनआन्दोलनका सहयात्री दलहरु, विभिन्न अधिकारकर्मीहरु र स्वयम् पत्रकारहरुले पनि तह लगाउन जरुरी छ । मैले राज्यबाट निःशुल्क उपचार पाएको हुँ । राहत स्वरुप १० हजार रुपियाँ पाएको हुँ । त्यो बाहेक राज्यबाट मैले कुनै सुविधा पाएको छ्रैन । राज्यबाट सुविधा सबै लिइसक्यो भन्ने केही साथीहरुले मेरो सबै रिपोर्टहरु हेर्न सक्नुहुन्छ । त्यसैले यदि दया छ भने आन्दोलनको घाउलाई मेटाउने कोसिस गर्नुस् झन् बल्झाउने काम नगर्न म सादर अनुरोध गर्दछु ।
म अहिले पनि अशक्त अवस्थामा छु । म हरेक महिना चेकजाँच गरिरहन्छु । हरेक समयमा औषधी सेवन गरिरहेको छु । मेरो घाउ अझै बल्झिरहेको छ । तर पनि आन्दोलनको उपलब्धी भएको छ । कुटाई खाएको उपलब्धी भएको छ । अहिले देशले नयाँ संविधान पाएको छ । सबै नेपालीले भनेअनुसारको नभए पनि, देशमा पूर्ण रुपमा शान्ति स्थापना नभए पनि केही त पक्कै भएको छ । ९० प्रतिशत परिवर्तन भएकै छ । यहीमा सन्तुष्ट हुनु पर्ने अवस्था छ । जति आन्दोलनको घाउ बल्झिए पनि देशमा भएको परिवर्तनलाई सम्झेर चित्त बुझाउनुपर्ने अवस्था छ ।















प्रतिक्रिया