३० आश्विन २०८३, शुक्रबार

बोलौँ बोलौँ ओलीज्यू ! धन्यवाद छ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sargam-bhattarai

मैले हाम्रा प्रधानमन्त्री ओलीज्यूलाई पटकपटक कुरीकुरी गरेको छु । भूतपूर्व राजा ज्ञानेन्द्र, नेताहरु प्रचण्ड, बाबुराम, शेरबहादुर , राजेन्द्र , उपेन्द्र र महेन्द्रको गलत कामको त मैले चिठ्ठी र लेखमार्फ़त दोहोलो नै काढेको छु ।

म नागरिक पत्रकारितामा बिश्वास गर्छु । मलाई कसैको भाट कार्यकर्ता त बन्नु छैन नै तर कसैले गरेका राम्रा कामलाई गम्लंग छोपेर आलोचना मात्र गरि टाट आलोचक पनि बन्नु छैन ।

किनकी नागरिकको आँखाबाट हेरिने गरिने पत्रकारिता भाट र टाटहरुले गर्ने पत्रकारिता भन्दा निकै अब्बल र सत्य हुन्छ ।

मेरो बुझाईमा हामी र हाम्रो देश उभो नलागेको सहीलाई सही र गलतलाई गलत भन्न नसकेर हो । पञ्चायती ब्यवस्थामा राजा नै सर्बेसर्वा हुने भएको हुँदा त्यसबेलाका प्रधानमन्त्रीहरुको बारेमा टिप्पणी गर्नु ब्यर्थ नै हुन्छ तर बहुदलीय ब्यवस्था तथा लोकतन्त्रको आगमन पश्चातका प्रधानमन्त्रीहरु मध्ये केपी ओलीमा जत्तिको अडान अरुसँग भएको भए मुलुक निकै समृद्द हुनेथियो ।

यसो भनिरहँदा मैले त्यसको जस्टिफिकेसन पनि दिनु नै पर्छ, नत्र मलाई पनि हनुमानको दाग लाग्न सक्छ ।

हो ! ओलीजीले धेरैपटक उखान भनेरै समय खर्चेका छन्, लोडसेडिङ मुक्त गर्ने कुरा, हावाबाट बिजुली निकाल्ने कुरा , पाइपबाट ग्याँस घरघरमा बाँड्ने कुरा, मुलुकलाई तुईन मुक्त गर्ने कुरा, राष्ट्रियता र स्वाभिमानलाई धितो नराख्ने कुरा, बिकासका कुरा, शुसासनका कुरा र अन्य तत्कालीन कुरा । सरोकारका निकायसँग छलफल नगरी बोलेका कतिपय कुराले जनताको मन दुखेको पनि छ ।

तर एउटा तितो सत्य के हो भने– देशको प्रधानमन्त्री भएको मान्छेले बोल्ने भनेका यिनै कुराहरु हुन्, जुन कामहरु दुनियाँले गरेको छ र गर्न सकिन्छ ।

चारैतिरबाट देश दुखेको बेला प्रतिपक्षहरुले रचनात्मक सहयोग गर्ने बेला हो यो । त्यसैले बोल्नेलाई बोल्न दिऊँ तर बोलेको कुरा पुरा गराउन खबरदारी गरौँ ।

ओलीजी भन्दा पहिलेका धेरै प्रधानमन्त्रीहरु पनि देखेकै हो जसले न बोल्न नै सके न केहि गरे नै, सत्ता र शक्ति आफ्नो हातमा आएको बेला केही गर्न नखोज्ने तर बाहिर आएपछि यो भएन र ऊ भएन भनेर आत्मरतिमा डुब्नेहरु पनि अझै हाम्रै सामु धेरैजसो जीवित नै छन् ।

मलाई लाग्दैन कि मैले यहाँ तथ्यांकहरु पेश गर्नुपर्छ । सिंहदरवारमा फोटो झुन्ड्याउने र भिआईपीको भत्ता खानेबाहेकका कामहरु जनताको मन छुने कामहरु औलामा गन्न सकिने मात्र होलान् ।

ओलीजीको सत्तारोहण असहज परिस्थितिमा भएको हो । भूकम्प र नाकाबन्दी अनि मधेसमा दन्किएको आगो र त्यसबाट सिर्जित सयौँ समस्याहरुको एकै पटक जादूमय समाधान पक्कै हुन सक्दैनथ्यो ।

गणतन्त्रका बिरोधी शक्तिहरुलाई सामेल गराई सत्ता चलाउनु त झन चुनौतिको पहाड चढ्नु नै थियो । प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर अनेकौँ टिका टिप्पणीहरु गरिए । जहिले पनि माग्न मात्र लम्पसार पर्न जाने अघोषित प्रधानमंत्रीय पद्दतिलाई ओलीले दह्रो झापड दिएकै हुन । धन्यवाद छ ओलीलाई ।

मालिक र दासको जस्तो सम्बन्ध लिएर एउटा सार्वभौमिक देश सधैभरि गिडगिडाउनु हुदैनथ्यो, ओलीजी गिडगिडाएनन् । यो मामलामा उनी धन्यवादका पात्र किन नहुने ?

यसैगरी कुटनीतिदेखि राजनीति र बिकासमा अग्रगामी छलाङ मार्न देशको कार्यकारीले बोल्नुपर्छ र बोलेका कुरा पूरा गर्नुपर्छ, पूरा नगर्नु देश र जनताप्रतिको बेईमानी हो ।

ओलीको यही अडानले गर्दा अहिले पनि नेपाली राजनीतिमा दक्षिणको गिद्देनजर परिरहेको छ । तर पनि नेपालीहरुको धैर्यताले ६ महिनासम्म चुल्हो नबलेपनि जनताले ओलीको अडान बल्न दिएनन । नागरिकले सरकारलाई दिएको नैतिक समर्थन यहि थियो।

हो ! सरकारमा बसेको बेला दृढ भएर कालोबजारी रोक्न सक्नुपर्थ्यो, भ्रष्टाचार रोक्न सक्नुपर्थ्यो, देश दुखेको बेला झोली भर्नेहरुलाई नांगेझार गर्नुपर्थ्यो र जनताको प्यारो सरकार बन्न सक्नुपर्थ्यो । ओलीजीलाई रिपोर्टिङ गर्नेहरु चुकेकै हुन्, अथवा स्थिति प्रतिकूल भएकै हो ।

समग्रमा चीन भ्रमणमा पनि ओलीजी सफल भएकै हुन् । कुटनैतिक भ्रमणको अर्थ यो होइन कि उत्तर जाँदा दक्षिणको सत्तेश्राप गर्ने र दक्षिण जाँदा उत्तरको ।

तर पनि आयात निर्यात र निर्माण तथा अन्य सरोकारका बिषयलाई बैकल्पिक बाटोतर्फ उन्मुख गराउनु आजको आवश्यकता हो । चीनसँग भएको पारवहन सम्झौतामा भारतले टाउको दुखाउनु उसको दादागिरी बाहेक केहि हुन सक्दैन, चीनले नेपालमा सुरुङ मार्ग बनाइदिने कुरा चलिरहँदा भारतीय मिडियामा चलेको रुवाबासी स्मरणयोग्य छ । जसले जसरी बोलेपनि नेपालमा चीनियाँ लगानी भित्र्याउन प्रधानमन्त्री ओलीले गरेको प्रयास प्रशंशायोग्य छ ।

अवष्य ! हाम्रो संबिधानमा कमजोरी होलान्, सिमा रक्षक मधेसीहरु हेपिएका होलान, जाति जनजातिहरु अझै सम्बोधित नभएका होलान्, तर यसको जवाफदेहि हामी अर्थात हाम्रो सरकार हो युरोपेली युनियन र भारत होइन भनेर ओलीजीले लिएको अडानलाई बिषयान्तर गरिरहनु भनेको ओली सफल भयो भने हामी डुब्छौ भनेर चिन्तित हुनेहरुको प्रपोगान्डा मात्र हुन सक्छ ।

यसो भन्दैमा भारतसंग दुश्मनी नै गरेर अघि बढ्छु भन्नु पनि बालहठ नै हुन्छ, किनकी हाम्रो अर्थतन्त्रमा सियोदेखि स्कर्पियोसम्म भारतले धानेकै छ ।

भारतसँगको परनिर्भरता त्यतिखेर कम हुनेछ, जतिवेला हामी हाम्रै देशमा उपलब्ध श्रोतहरु उपयोग गर्ने नीति , तिथी र परिस्थिति ल्याउने छौँ । भारतसंग मात्र हैन सकेसम्म त कसैसंग पनि परनिर्भरता हुनै हुन्न ।

विश्व अर्थतन्त्रले ज्यामितीय रुपमा फड्को मारिरहँदा हामी चाहिँ घस्रि मात्र रहँदा देश बनाउन अझ धेरै बोल्नै पर्छ तर बोलेका कुरा पूरा गर्न दृढ हुनैपर्छ । त्यसका लागि नागरिक खबरदारी भैरहनुपर्छ ।

ओलीजीले अझै प्रष्ट रुपमा सम्भव हुने कुरा बोल्नुपर्छ कि अबका यति दिनमै यस्तो काम शुरु हुँदैछ । अहिले ३ करोड नेपालीको कार्यकारी भएका ओलीले पार्टीगत हित भन्दा माथि उठेर काम गर्नुपर्छ जस्ले गर्दा इतिहासमा उनलाई सम्झने आधार तयार होस ।

बिकासका कुरा मात्र हैन्, अब शुसासनका कुरा पनि बोल्नुपर्छ, नातावाद कृपावाद र लुटतन्त्रका बिरुद्द पनि बोल्नुपर्छ, सत्ता र भत्ताको दुरुपयोग गर्ने बिरुद्द बोल्नुपर्छ । परिवर्तनको शुरुवात तपाईँ आफैले गर्नुपर्छ ।

अबको युग समृद्धिको युग हो , स्वाभिमानको युग हो, तर शिरदेखि पाउसम्म अभिमान बोकेर हैन्, देशभित्रका नानी (युवा) खानी , दानी (दाता) र पानीको उपयोग गर्ने नतिजामुखी तथ्यांकमा टेकेर बोल्नुस र बिकासको ज्योति बाल्नुस ।

बोलौँ बोलौँ ओलीज्यू, भुकम्प पीडितका टहरा जोड्न बोलौँ, भ्रष्टहरुको लहरा तोड्न बोलौँ , देशलाई समृद्धितर्फ मोड्न बोलौँ , बिकृति र बेथितिसंग लड्न बोलौँ । स्वदेशी बिदेशी सबै साधन स्रोत जुटाएर देश अघि बढाउन बोलौँ ।

(शिकागो अमेरिका)