
– हेमन्त पौडेल
धनगढी, ३ वैशाख । प्रहरी महानिरीक्षक(आईजीपी) उपेन्द्रकान्त अर्यालले प्रहरी सेवालाई जनमुखी र सर्वसाधारणको पहुँचमा पुर्याउन दिएको निर्देशनको एक साता नबित्दै कैलालीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले उल्लंघन गरेका छन् ।
‘सर्वसाधारणको पहुँच नेपाल प्रहरीमा पुग्नुपर्छ र सर्वसाधारणको काम समयमा हुनुपर्छ यसमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण हुनुपर्छ’ प्रहरी महानिरीक्षक अर्यालले गत साता कैलाली जिल्ला प्रहरी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभएको थियो ।
तर बिहीवारमात्र कैलालीको धनगढीमा भएको आत्महत्या भनिएको घटनाको किटानी जाहेरी दिँदा प्रहरीेले दर्ता गर्न मानेन । धनगढीको एक मोवाइल पसलमा चार वर्षदेखि काम गर्दै आएकी उदासीपुर ९ की मेनिका चौधरीका दाजु परदेशु चौधरीले किटानी जाहेरी दर्ता गर्नखोज्दा कैलालीका प्रहरी प्रमुख एसपी विष्टले ठाडै अस्वीकार गरेको पीडितहरुले बताएका छन् । गाउँको सर्वसाधारण मानिस भएकाले हामीले किटानी जाहेरी लिएर जाँदासमेत हाम्रो निवेदन दर्ता नभएपछि निवेदन फिर्ता लिनुपरेको चौधरीले बताउनुभयो ।

पसल मालिकले हत्या गरेर पंखामा झुण्डाएर मारेको शंका लागेकाले किटानी जाहेरी लिएर प्रहरी कार्यालय पुगेको चौधरीले बताउनुभयो । ‘गरिब र पहुँच नभएकाले हाम्रो मुद्धा दर्ता भएन । बहिनी मृत फेला पर्दा पीडामा परेको अवस्थामा प्रहरीले अनुसन्धानका लागि भन्दै मुद्धा दर्ता नगर्दा झन दुःख लागेको छ’ उहाँले भन्नुभयो । पीडितले घटनाको अनुसन्धानका लागि प्रहरीलाई किटानी जाहेरी दिएमा दर्ता गरेर अनुसन्धान प्रक्रिया शुरु गर्नुपर्ने हुन्छ तर आफ्नो सजिलोको लागि मुद्धा नै दर्ता नगरेर पन्छिने गरेको छ । हत्या भएको भन्दै ल्याएका उजुरीहरु दर्ता नगरेको प्रहरीले स्वीकारेको गरेको छ । अनुसन्धान नगरेरै प्रहरीले बिहीवार भएको घटना कर्तब्य ज्यान नभई आत्महत्या भएकाले प्रहरीले मुद्धा दर्ता नगरेको मुद्धाफाँटका प्रहरी निरीक्षक करनसिंह कार्कीले बताउनुभयो ।
महानिरीक्षक अर्याललाई अन्तरक्रियामा सहभागीहरुले सर्वसाधारणले प्रहरीकोमा मुद्धा दर्ता गर्न विचौलियाको प्रयोग गर्नुपरेको गुनासो पछि अब त्यस्तो हुन नदिने बचनवद्धता ब्यक्त गर्नुभएको थियो । महानिरीक्षकको निर्देशन डायरीमा टिप्नुभएका कैलालीका एसपीले ब्यवहारमा भने लागु गर्नुभएन । महानिरीक्षकको निर्देशनको अवज्ञा गर्नुले पनि प्रहरीको बोली र ब्यवहारमा भिन्नता देखिएको टिप्पणी स्थानीयहरुले गरेका छन् ।
‘दोषी र निर्दोषी छुट्याउने काम प्रहरीको होईन त्यो त सम्मानित अदालतको हो’ अधिवक्ता गम्भीरसिंह ऐरले भन्नुभयो– ‘शुरुमै दोषी र निर्दोषीको फैसला गर्नु प्रहरीको गैरकानुनी काम हो ।’ कानुनीरुपमा सबैका मुद्धा प्रहरीले दर्ता गर्नुपर्नेमा पहुँच भएकाहरुको सोही घटनामा पनि मुद्धा दर्ता गर्ने र पहुँच नभएकाहरुलाई फिर्ता पठाउने गरेको आरोप कानुन ब्यावसायी ऐरको छ । प्रहरीले अनुसन्धान गरेर आफ्नो प्रतिवेदनमा दोषी वा निर्दोषी भनेर खुलाउनुपर्नेमा पहिला नै निर्दोष हो भनेर अनुसन्धानको बाटो बन्द गर्नु गलत भएको उहाँले बताउनुभयो ।
न्यायको लागि जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका अधिकाँश पीडितहरु निराश हुने गरेका छन् । प्रहरीको ब्यवहारले झन पीडा थपिने गरेको गुनासो एक पीडितले गर्नुभयो । प्रहरी कार्यालयमा पुग्ने घटनालाई प्रहरीले कमाई खाने माध्यम बनाउँदै आएको आरोप पनि छ । पीडितलाई न्याय दिनका लागि सहज बातावरण बनाउनुको साटो पीडितहरुबाटै कसरी पैसा असुल गर्न सकिन्छ भन्ने ध्यानमा प्रहरी लाग्ने गरेको छ । आरोप लागेका ब्यक्तिहरुसंग मिलेर तपाईका बारेमा यस्तो मुद्धा परेको छ के गर्ने भन्दै बार्गेनिंग गर्ने गरेको समाचार स्रोतको दावी छ । प्रहरीको असहयोगमा पहुँच नभएका पीडितहरु झन पीडामा बल्झिने गरेका छन् ।
पहुँच भएकाहरुको यस्तै प्रकृतिको घटनामा किटानी जाहेरी दर्ता भएर अदालतसम्म पुगेको घटना ताजै भएको अवस्थामा यो घटनाको मुद्धा दर्ता नगर्नु प्रहरीको काम ठिक नभएको गुनासो पनि बढेको छ । एक महिनाअघि धनगढी ५ मा एक महिलाले सल्फास खाएर आत्महत्या गरेको विषय प्रहरीमा मुद्धा दर्ता भएर अदालतमा पेश भएको थियो तर यो घटनालाई प्रहरीले कमजोर रुपमा लिएको छ ।
दुई वर्षअघि धनगढी ४ उत्तरबेहडीमा दुई जना युवतीको निधनलाई प्रहरीले आत्महत्या भनेर फाइल बन्द गरेको थियो तर, उक्त घटना आत्महत्या नभई हत्या भएको भन्ने आवाज उठेपछि घटना फेरि ब्युझिएको थियो र अन्तमा उक्त घटना हत्या भएको प्रमाणित भएपछि हाल सो घटनामा संलग्न ब्यक्ति कारागारमा रहेका छन् । प्रहरीले भनेकै भरमा सबै आत्महत्या भनिएका घटनाहरु आत्महत्या नहुन सक्छन छानवीन हुन जरुरी छ स्थानीय बासिन्दाको भनाई छ ।
बिहीवार मृतफेला परेकी मोनिकाको मेडिकल रिर्पोट नआउँदै प्रहरीले पहिला नै आत्महत्याको ठोकुवा गर्नु न्यायसंगत नभएको इन्सेक क्षेत्रीय कार्यालय धनगढीका प्रमुख खडकराज जोशीले बताउनुभयो । यस्ता घटनाका बारेमा पटकपटक प्रहरीलाई उजुरी दर्ता गरि अनुसन्धान बलियो बनाउन आग्रह गर्दा समेत सुनुवाई नभएको उहाँको गुनासो छ । पीडितले दिएको निवेदनको आधारमा अनुसन्धान गर्दैमा कोही दोषी नहुने भएकाले प्रहरीले आफ्नो अनुसन्धानको पाटोलाई बलियो बनाउनुपर्ने सुझाव जोशीको छ ।
तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बिहीवार मृतअवस्थामा भेटिएकी मेनिका चौधरीको हत्या नभई आत्महत्या भएकाले किटानी जाहेरी दर्ता नगरेको बताउनुभयो । शसस्त्र प्रहरीले नै झुण्डिएको देखेकाले हत्या भन्न नमिल्ने एसपी विष्टको भनाई छ ।
उता नेपाल प्रहरीका प्रवक्ता माधवप्रसाद जोशीले जिल्ला प्रहरी कार्यालय कैलालीमा पहुँच भएकाहरुको मात्र मुद्धा दर्ता भएको भन्ने कुराको छानविन गर्ने बताउनुभयो । ‘जनतालाई न्याय दिलाउनका लागि नेपाल प्रहरी गम्भीर छ निराश नहुन जनतालाई आग्रह गर्दछु । नेपाल प्रहरीबाट सेवा लिन बिचौलिया चाहिदैन’ उहाँले भन्नुभयो ।
मुद्धा दर्ता गर्नुपर्नेमा नगरेको पाइएमा जिल्ला प्रहरी प्रमुख कारवाहीको भागेदार हुने उहाँले बताउनुभयो । ‘यसबारेमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरी प्रमुखको निर्देशनको अवज्ञा गर्ने अधिकार नेपाल प्रहरीभित्र कसैलाई छैन’ प्रवक्ता जोशीले भन्नुभयो ।















प्रतिक्रिया