काठमाडौं, ५ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगले सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लंघनसम्बन्धी घटना छानविनका लागि उजुरी लिन सुरु गरेको छ । आयोगले आफ्नो कार्यालय र शान्ति समितिका जिल्लास्थित कार्यालयबाट उजुरी लिन सुरु गरेको हो ।
१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनामा आयोगले उजुरी लिन थालेको हो । आयोग गठनको १४ महिनापछि आइतबारबाट द्वन्द्वकालीन घटनाको छानविनका लागि उजुरी लिन सुरु गरेको हो । आयोगको कार्यकाल दुई वर्षको रहेको छ । आयोगले उजुरी दिनका लागि असार २ गतेसम्म ६० दिनको समय तोकेको छ ।
आयोगले सशस्त्र द्वन्द्वका पीडित वा पीडितका तर्फबाट अन्य जो कोहीले हत्या, अपहरण, अंगभंग, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत वा सार्वजनिक सम्पति लुटपाट, घरजग्गाबाट जबर्जस्ती निकाला र मानवीय कानून विपरितका अपराध सम्बन्धमा उजुरी दिन सक्ने जनाएको छ ।
यसैबीच शान्ति समितिको काठमाडौं कार्यालयमा आइतबार ३५ वटाभन्दा बढी उजुरी परेका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले जिल्लास्थित शान्ति समितिमा प्राप्त उजुरी एक साताभित्र आयोगमा संकलन गर्ने व्यवस्था मिलाएको छ । उजुरीमाथि जेठ ५ गतेबाट प्रारम्भिक छानबिन थाल्ने र भदौ महिनासम्म प्रारम्भिक छानविन पूरा गर्ने आयोगको कार्ययोजना छ । आयोगको दुई वर्षे म्याद आगामी माघ २६ गतेसम्म छ । आयोगले म्यादभित्रै सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ ।












प्रतिक्रिया