काठमाडौं, ४ वैशाख । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजय गच्छदारले मुलुकले लामो समयपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पाएको भन्दै यसको कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ ।
काठमाडौंको तीनकुनेस्थित आफ्नै पार्टी मुख्यालयमा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा गच्छदारले मधेसी मोर्चा वा अन्य सन्तुष्ट पक्षका मागलाई संविधान संशोधनभन्दा अर्को बिकल्पबाट समाधान गर्न नसकिने बताउनुभयो । उहाँले मधेसी मोर्चालाई आन्दोलन नगर्न पनि सुझाव दिनुभएके छ । ‘जति आन्दोलन गरेपनि संविधान संशोधनबाटै समस्याको समाधान गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘बरु आन्दोलनमा रहेको मधेसी मोर्चाले वार्ता गरेर निकास खोज्नेतर्फ ध्यान दिनुपर्छ ।’
संविधानको जोडदार बचाउ गर्नुभएका गच्छदारले भन्नुभयो, ‘म सरकारमा सहभागी हुँदा एमाले र एमाओवादीसँग गरिएको आठ बुँदे सहमतिलाई कार्यान्वयन गराएर छाडेको छु ।’ राज्यपुर्नसंरचनाका विषयमा आफ्नो पार्टीलाई पनि चित्त नबुझेको बताउनुभएका गच्छदारले तराई मधेसमा तीन प्रदेश बनाउनुपर्ने आफूहरूको माग रहेको उल्लेख गर्नुभयो ।
मधेसी मोर्चाले गरिरहेको आन्दोलन कहाँबाट सञ्चालित छ भन्ने विषयमा सोधिएको जिज्ञासामा उप्रधानमन्त्री गच्छदारले भन्नुभयो, ‘मधेसी मोर्चाका साथीहरूलाई नै सोध्नुस् यो प्रश्नको जवाफ । कसको कुन शक्ति र ताकतबाट उहाँहरूले आन्दोलन गरिरहनुभएको छ । उहाँहरूलाई पसिना छुट्न सक्छ । मलाई यो प्रश्नले पसिना आउँदैन ।’
मधेसी मोर्चाका अधिकांश माग पूरा भइसकेको उहाँले दाबी गर्नुभयो । ‘संविधान पनि मान्ने । प्रधानमन्त्री चुनावमा आएर मतदान गर्ने । संविधान पनि जलाउने । मधेसी मोर्चाको यस्तो दोधारे नीतिका विषयमा मलाई भन्नु केही छैन’, उहाँले भन्नुभयो, ‘मेरो पार्टीको स्पष्ट धारणा छ । मधेसी जनताको मागलाई जसरी पनि पूरा गरिनुपर्छ । म केही हदसम्म सफल पनि भएको छु ।’
मधेस आन्दोलनमा निधन भएका व्यक्तिा सबै परिवारले सरकारले दिएको दश लाख रुपियाँ पाइसकेको उपप्रधानमन्त्री गच्छदारले बताउनुभयो । उहाँले बरु घाइतेले उपचार खर्च नपाएका हुन् भने आफू व्यक्तिगत रुपमै त्यसलाई पूरा गराउन लाग्ने बताउनुभयो ।
यसैबीच, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले वैशाख २०, २१ र २२ गते विराटनगरमा प्रथम राष्ट्रिय महाधिवशेन गर्न लागेको जनाएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष गच्छदारले बताउनुभयो ।












प्रतिक्रिया