काठमाडौँ, ३ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले भूकम्प, भारतीय अघोषित नाकाबन्दी, मधेश–तराईको आन्दोलनका बाबजुद पनि सरकारले एतिहासिक उपलब्धि हासिल गरिरहेको बताउनुभएको छ ।
नेकपा (एमाले) दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्धारा आज यहाँ आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा अन्तरक्रियामा उहाँले जटिल चुनौतीका समयमा आएको सरकारले एतिहासिक उपलब्धि हासिल गर्दै अघि बढेको बताउनुभयो ।
“वर्तमान सरकार गठन हुँदा भूकम्प पीडितको लागि पुननिर्माणको काम अघि बढेको थिएन, त्यो काम अघि बढ्यो, प्रधानमन्त्रीले नाकाबन्दी नखोलेसम्म भारत नआउने सूचना पठाएपछि एक शब्दमा नाकाबन्दी खुल्यो,”–मन्त्री पोखरेलले थप्नुभयो, “भारत र चीनसँगको वर्तमान सरकारले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण छ, त्यो इतिहासले पुष्टि गर्नेछ ।”
भ्रष्टचारी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको भन्दै उहाँले आवश्यकता भन्दा बढी ग्यास थुपरेर राख्दा खतरा हुने भएकाले आवश्यकता भन्दा बढी ग्यास जम्मा नगर्न आग्रह समेत गर्नुभयो ।
मन्त्री पोखरेलले भूकम्प पीडितका लागि राष्ट्रिय पुनः निर्माणको काम बुङ्मती र रानीपोखरीबाट सुरु भइरहेको र राष्ट्रिय पुननिर्माण प्राधिकरणले काम सुरु गरिसकेको हुनाले तीन वर्षभित्र सबै सम्पदाहरुको निर्माण पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
दोलखाको लाकुरी डाडास्थित खरीढुङ्गामा बन्न लागेको ‘चलचित्र नगरी’ को प्रक्रिया अघि बढिसकेको र यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरु भित्रिनुका साथै उल्लेख्य रुपमा पर्यटक आउँदा स्थानीयको आर्थिक विकास हुने समेत बताउनुभयो ।
हिन्दु सर्किट र बुद्ध सर्किट निर्माण गरी आगामी पाँचवर्षभित्रमा २६ लाख पर्यटन भित्रयाउने गरी पुर्वाधार तयार सरकारले गरिरहेको जानकारी दिनुभयो ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सांसद पार्वत गुरुङले दोलखाको समृद्धिका लागि चलचित्र नगरी निर्माणका साथै त्यहाँका धार्मिक तथा पर्यटकीय स्थानको प्रवद्धन गर्न आवश्यक रहेको बताउनुभयो ।
कलाकार मदनदास श्रेष्ठले दोलखा पर्यटकीय दृष्टिकोणले उपयुक्त गन्तव्य भएपनि त्यसको पहिचान गरेर विकास गर्न नकसेको हुनाले र पर्याप्त रुपमा त्यसको जानकारीको अभावका ओझेलमा परेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा मञ्चले प्रकाशन गरेको २०७३ सालको क्यालेनडरको समेत मन्त्री पोखरेलले विमोचन गर्नुभएको थियो ।













प्रतिक्रिया