काठमाडौँ, २८ चैत । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को जेनेभामा सम्पन्न ३१ औँ बैठकको विषयलाई लिएर भएको टीकाटिप्पणीप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्माले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपालको मानवअधिकारको अवस्था र मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षाको सन्दर्भमा गत १६ मार्च, २०१६ मा भएको बैठकलाई लिएर प्रधानमन्त्री तथा आयोगका अध्यक्ष तथा पदाधिकारीबीच भएको छलफलको विषयमा विभिन्न कोणबाट सार्वजनिक भइरहेका धारणाप्रति आयोगको ध्यानाकर्षण भएको छ ।
आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीबाट परिषद्को बैठकमा अभिव्यक्त भएका धारणाहरु उहाँको निजी धारणा नभई आयोगकै धारणा रहेकोतर्फ सरोकारवालाको ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ ।
“कानुनभन्दा माथि कोही पनि नहुने र दण्डहीनताको स्थितिको कारणबाट मानवअधिकारको संरक्षण र सम्बद्धनमा चौतर्फी प्रभाव परिरहेको स्थितितर्फ जिम्मेवार सबै निकाय तथा पदाधिकारीको ध्यान जान आवश्यक रहेको छ”-विज्ञप्तिमा भनिएको छ ।
आयोगले आपसी मतभेद र छलफलका विषयलाई सम्बोधन गर्न विवादभन्दा नियमित संवाद महत्वपूर्ण हुने उल्लेख गरेको छ । रासस













प्रतिक्रिया