१६ कार्तिक २०८३, सोमबार

सुगरखालमा पहिलोपटक प्रहरी प्रमुख पुगे, स्थानीय हर्षित (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sugarkhal-kailali (3)

धनगढी, २८ चैत । सुगम कैलाली जिल्लाको बिकट पहाडी गाविस सुगरखालमा पहिलोपटक प्रहरी प्रमुख पुगेका छन् । आफ्नो गाउँठाउँमा पहिलोपटक प्रहरी प्रमुख देखेपछि स्थानीय खुशी भएका छन् ।

शनिबार सेती अञ्चल प्रहरी प्रमुख एसएसपी बिनो शर्मा घिमिरे, कैलाली प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्ट र सुदूरपश्चिम ट्राफिक प्रहरी प्रमुख एसपी रमेश थापा लगायतको टोली सुगरखाल गएको हो । २०४६ साल पछि एक साताअघि कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद बिमली आउनु भएको थियो । त्यस लगत्तै उच्च प्रहरी अधिकारीहरु हाम्रो पीरमर्का बुझ्न हाम्रै घरआँगनमा आउँदा साह्रै खुशी लागेको स्थानीय जिरादेबी भुलले बताइन् ।

Sugarkhal-kailali (6)
सुगरखाल ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई निर्देशन दिदै कैलाली प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्ट ।

सुगम जिल्लाको दुर्गम गाविस भनेर चिनिने सुगरखालमा अहिलेसम्म न त प्रमुख जिल्ला अधिकारी न त प्रहरी प्रमुख पुगेका थिए । उच्च प्रहरी अधिकारी आफ्नो गाउँठाउँमा आउलान भन्ने कल्पनै थिएन् तर उहाँहरु आएर हाम्रो समस्या सुन्दा राज्यको नागरिक भएको महसुस भएको जिरादेबीको भनाई थियो ।

सुगरखालमा ईलाका प्रहरी कार्यालय स्थापना भएको पाँच वर्ष भयो । हालसम्म कुनै पनि प्रहरी प्रमुख त्यहाँ गएका थिएनन् । स्थलगतरुपमा आई स्थानीय र हाम्रो अवस्था बारे उच्च अधिकारीले बुझेर जानुभयो सुगरखाल ईलाका प्रहरी कार्यालयका ईन्चार्ज सई ध्रुब रावलले भने, अब यहाँको प्रहरी भवन र स्थानीयको समस्या बारे केही राहत मिल्ने आशा गरेका छौं ।

सुगरखाल ईलाका प्रहरी कार्यालयमा २३ जनाको दरबन्दी रहेकोमा हाल ११ जना मात्र कार्यरत रहेको सई रावलले बताए ।

Sugarkhal-kailali (4)

पहिलोपटक प्रहरीका उच्च पदस्थ अधिकारी आफ्नो घरआँगनमा पुगेपछि, स्थानीय वासिन्दाले शान्ति सुरक्षासँगै प्रहरीको भवन लगायतका सेवाहरुको व्यवस्थापनको माग गरेका थिए ।

सुगरखालको राष्ट्रिय उच्च माविका शिक्षक चक्र विष्टले स्थापनाकाल देखि भाडाको घरमा बस्दै आएको ईलाका प्रहरी कार्यालयलाई गाविसले जग्गा उपलब्ध गराएपछि यही माघमा दुईतले कच्ची घरमा सरेको छ । टिनले छाएको घरमा झ्यालढोका समेत नभएकोले पक्की भवन निर्माणका लागि वजेट छुट्टाउनुपर्ने प्रहरी अधिकारी समक्ष माग गरे ।

Sugarkhal-kailali (1)
स्थानीयसँग शान्तिसुरक्षाको अवस्था बारे छलफल गर्दै प्रहरी अधिकारी ।

उनले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन भवन बनाएर प्रहरी सँग हतियार पनि उपलब्ध गराउनुपर्ने माग गरे । हाल त्यहाँ कार्यरत प्रहरीले लठ्ठीको भरमा शान्तिसुरक्षा र डयुटी गर्दै आएका छन् ।

स्थानीय ध्रुब वडुवालको सुगरखाल गाविस कैलालीाको अति विकट र ४ सय २८ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको हुनाले साधनस्रोत र भौगोलिक बिकटताले सुरक्षा दिन समस्या परिरहेकोले आवश्यक प्रहरी दरबन्दीका साथै उनीहरुलाई हतियार पनि उपलब्ध गराउनुपर्ने प्रहरी अधिकारी समक्ष माग गरे ।

Sugarkhal-kailali (5)
प्रहरी भवन ।

कार्यक्रममा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी विनोद शर्मा घिमिरेले शान्तिसुरक्षाका लागि आफूले विशेष पहल गर्ने स्थानीय समक्ष प्रतिबद्धता जनाएका थिए ।

दुई हजार ७ सय ८४ घरधुरी रहेको सुगरखाल गाविसमा १८ हजार १ सय ४५ जनसंख्या रहेको छ । अधिकांश अछामवाट बसाइँ सरी आएकाहरुको वसोवास रहेको सुगरखाल गाविसमा शान्ति सुरक्षा दिनका लागि पहल सुरु भईसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी राजेन्द्र विष्टले बताए ।

बिकट भेगका जनताको आवाज प्रत्यक्ष सुनेर उनीहरुको आवश्यकता अनुसार शान्तिसुरक्षाको ब्यवस्था गर्नुपर्छ भनेर आफू लगायतको प्रहरी टोली पहिलोपटक सुगरखालबासीको घरआँगनमा गएको एसपी बिष्टको भनाई छ ।