१ कार्तिक २०८३, शनिबार

स्वीजरल्याण्डको सपना त्याग्दै ईश्वर पोखरेलले सबै सर्टिफिकेट जलाएको क्षण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-pokhrel

– ईश्वर पोखरेल

व्यक्तिगत, पारिवारिक र राजनीतिक परिवेशले हामीलाई विद्रोही बनाइसकेको थियो । विद्रोही अर्थात् आफ्नो सेरोफेरोसित सम्पूर्ण रूपमा सम्बन्ध विच्छेद गर्न तत्पर बन्दै गरेको मानसिकता ! हो, हामी त्यही दिशामा अगाडि बढिरहेका थियौं । घर–परिवारसितको सम्बन्ध तोड्ने, ग्रामीण क्षेत्रका गरिब–भूमिहीन किसानहरूसित सम्बन्ध बनाउने, उनीहरूसित एकाकार हुने र आफ्नो सम्पूर्ण जीवन यही काममा लगाउने आदि । यी हामीले गर्न चाहेको विद्रोहसित गाँसिएका कामहरू थिए । यी कामका लागि तत्काल हामीले गरिरहेको अध्ययन तथा पठनपाठनलाई सबैभन्दा पहिले त्याग्नुपर्ने हामीलाई लाग्यो । त्यसबेला बजारमा छ्याप्छ्याप्ती उपलव्ध हुने कम्युनिष्ट साहित्य खास गरी चिनियाँ र रसियन साहित्यले हामीजस्ता नौजवानलाई औधी नै आकर्षित गरेका थिए । लेनिन र माओत्सेतुङका रचनाहरू अध्ययन गर्ने एक किसिमले होड नै चलेको थियो हामी जस्ता नौजवानहरूका बीचमा । कम्युनिष्ट आन्दोलनका नेताहरूका लेख र लेखभित्रका खासखास उद्धरणहरू त हामीहरू कण्ठै पाथ्र्यौं । माओत्सेतुङका रचनाका छानिएका ‘उद्धरणहरू’ सङ्ग्रह गरिएको प्लास्टिकको रातो गाता भएको र खल्तीमै राख्न मिल्ने सानो र आकर्षक पुस्तक–त्यसबेला हाम्रा लागि अत्यन्त प्रिय थियो । त्यसमा विभिन्न शीर्षकमा सङ्कलित उद्धरण हामीले कण्ठ गरेका थियौं । ‘युवाहरूका सम्बन्ध’ मा सङ्कलित उद्धरणमा ‘….जति ज्यादा पढ्छौ, त्यति नै मूर्ख बन्छौ’ भन्ने माओत्सेतुङले येनानको आफ्नो आधार इलाकास्थित विश्वविद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गर्दाको भनाइबाट हामी यति प्रभावित बनेका थियौं कि ‘बुर्जुवा शिक्षा त्याग्नैपर्छ’,‘बुर्जुवा शिक्षा नत्यागी क्रातिकारी बन्नै सकिन्न’ भन्ने अन्तिम निष्कर्षमा हामी पुग्यौं । यसैबाट प्रभावित भएर ‘क्याम्पस – पागलखाना !’ शीर्षकमा त्यसबेला तयार पारिएको कविता हाम्रो प्रिय कविता बन्यो । हामी त्यही कविता सबै ठाउँमा वाचन गथ्र्यौं,सुनाउँदै हिाड्थ्यौं । त्यो कविताले हामीबीच हुार्कदंै गरेको विद्रोहको उद्वेगलाई सशक्त वाणी दिइरहेजस्तो लाग्थ्यो ।

तर त्यसै बीचमा एउटा अनौठो संयोग आइपर्‍यो – रत्न र मैले छात्रवृत्ति पायौं स्विट्जरलैन्ड जाने । भर्खर भर्खर प्रारम्भ भएको स्विस सरकारको सहयोग नियोग ‘साटा’ सित सम्बन्धित केही स्विसहरूले विकासका लागि भाषा विषयक छात्रवृत्तिको प्रस्ताव ल्याएका थिए । हामीसित अत्यन्तै आत्मीयता देखाउने सुशीला नामकी युवतीमार्फत स्विसहरू हाम्रो सम्पर्कमा आइपुगेका थिए । पाँच वर्षका लागि स्विट्जरलैंन्ड र नेपाल दुवै देशमा अध्ययनका लागि आउजाउ गरिरहनुपर्ने, भनिएको विषयसित सम्बन्धित रहेर सैद्धान्तिक र व्यावहारिक तवरमा केन्द्रित बनी अध्ययनमा लीन रहनुपर्ने,शुरूका झण्डै दुई वर्ष स्विटजरलैन्डमै बस्नुपर्ने र अध्ययन सकिएपछि योजना अन्तर्गत निश्चित अवधिसम्म काम गर्नुपर्ने आदि सर्त उनीहरूले हामीलाई राखेका थिए । स्विसहरूले जे जस्ता सर्तहरू राखेका भए पनि हामीले अत्यन्त रोमाञ्चक रूपमा त्यसलाई लिएका थियौं । खुशी पनि लागेको थियो । जीवनका अरू पाटाका उज्ज्वल सम्भावनाहरू त्यसैत्यसै मनभरि छचल्किएर आएका थिए । निजी जीवनसित गाँसिएका सुखद भविष्यका अनन्त शृङ्खलाहरूमा मन घेरिन पुगेको थियो । व्यक्तिगत तथा पारिवारिक उन्नति–प्रगति तथा ‘क्यारियर’ को कुरा हो भन्ने लागेको थियो । हामीसित प्रस्ताव लिएर दुई जना स्विस आएका थिए भने प्रक्रियालाई ‘फलो’ गर्न एकजना स्विस केटीले जिम्मा लिएकी थिइन् । तिनले हाम्रो पासपोर्ट बनाउन हुट्हुटी लगाउने, भिसाका लागि पासपोर्ट र अन्य कागजपत्र सहित राजदूतावासमा पठाउने आदि काममा प्रत्यक्षरूपमा सघाइन् । तिनी निकै सुन्दरी पनि थिइन् । तिनले आफ्नो नाम जुडिथ बताएकी थिइन् । स्विसहरूको प्रस्ताव र जुडिथको सक्रिय सहयोगका कारण हाम्रो मनमा स्विट्जरलैन्ड पढ्न जाने कुराले विशेष गति लिइरहेको थियो । हामीहरू आपसमा यो योजनाका सम्बन्धमा कुराकानी गरिरहेका हुन्थ्यौं, सल्लाहा पनि गरिरहेका हुन्थ्यौं ।

तरङ्गित बनिरहेको हाम्रो मनमा सोचाइ र योजनाको अर्को पाटो जब खुल्दथ्यो, त्यसबेला हामीमा विशेष छट्पटाहट हुन्थ्यो । जनताका बीचमा जाने, उनीहरूलाई सचेत र सङ्गठित गर्ने, समाजको परिवर्तनका लागि समर्पित भएर जीवनभर लागिरहने सङ्कल्प र सपना छात्रवृत्ति पाएर स्विट्जरलैन्ड जाँदा पुरा हुन नसक्ने कुराले हामीलाई अत्यन्त द्धिविधामा पार्दथ्यो । एकातिर त्याग, समर्पण र बलिदानी भावनाका साथ अघि बढ्ने दृढ सङ्कल्प, अर्कोतर्फ छात्रवृत्ति लिएर निजी जीवनको सुन्दर भविष्य बनाउने स्वप्नील योजना ! कस्तो तानातान, कस्तो तनाव ! हामीमा आफ्नो जीवनको यात्राका सम्भावित यी दुवै विकल्पसित गाँसिएका सवल–दुर्वल, राम्रा–नराम्रा तथा ग्लानि र गर्ववोध हुने अनेक पक्षले जवर्जस्त धक्का दिइरहेका थिए । यस्ता धक्काहरू हाम्रो मनभित्र चलिरहेको झण्डै आठ रेक्टर स्केलको भूकम्प जस्तो लाग्थ्यो । त्यो भूकम्पले हाम्रो मनभित्र विभिन्न तरिकाले बन्दै–खडा हुँदै गएका संरचनाहरू भत्काउने काम गरिरहेको थियो । ती संरचनाहरू ध्वस्त भइरहँदा मनभित्र कताकता पीडा पनि हुनेगथ्र्यो भने कुनैवेला कुनै नवनिर्माणको सम्भावनाको कल्पनाले मात्र पनि मन पुलकित हुनपुग्थ्यो । हामी त्यसबेला साँच्चै तनावमा रह्याौ ।

जुडिथसित हाम्रो सम्पर्क भइरहेको थियो । हामीलाई भेट्नका लागि उनी आइरहन्थिन् । धेरैपटक कीर्तिपुरस्थित विश्वविद्यालयको क्याफ्टेरियामा जुडिथले हामीसागै बसेर चिया खाएकी थिइन् । उनी कालिमाटीको हाम्रो डेरामा समेत आएकी थिइन् । उनको हामीसितको भेट प्रस्तावित स्विट्जरलैन्डको हाम्रो छात्रवृत्तिसित सम्बन्धित विभिन्न विषयमा केन्द्रित हुने गर्दथ्यो । साथै, हाम्रो व्यक्तिगत परिचय र हिमचिम पनि बढ्दै थियो उनीसित । उनी हाम्रो पढाइ, पारिवारिक स्थिति, रुचि, सामाजिक परिवेश आदि बारे जिज्ञासा राख्थिन् । अहिले पनि मैले राम्ररी छुट्याउन सकेको छैन– जुडिथसित हामी किन नजिक बन्दै गइरहेका थियौं ? उनी सुन्दरी भएकाले ? अथवा हामी आफ्नो सुन्दर भविष्यका खातिर जुडिथका कुराबाट प्रभावित बनिरहेका थियौं ? जे भए पनि हामी दुईखाले सोचाइ र योजनाका कारण दुविधाग्रस्त बनिरहेका थियौं । हामीसित दुबै कुरा त्यत्तिकै जबर्जस्त रूपमा उठिरहेका थिए ।

आउजाउ र भेटघाटकै क्रममा जुडिथले हाम्रो विचार र राजनीतिक लगावका बारेमा पनि केही कुरा थाहा पाउँदैगएकी थिइन् भन्ने लाग्छ । एकदिन जुडिथले आफ्नो सानो ब्यागबाट राम्ररी लेमिनेसन गरिएको फोटो निकालेर देखाइन् । फोटोमा क्याप लगाएका,उमेर ढल्कदै गरेका जस्ता तीन जना पुरूष थिए । फौजी पोशाक जस्तो पहिरनमा रहेका ती तिनैजनालाई मैले नियालेर हेरेको थिएँ, ती मध्ये दुई जनालाई पहिले पनि कतै देखे जस्तो लागेको थियो । पछि जुडिथले नै बताउँदा पो मैले ठम्याएको थिएँ । तीन जनामा छेउ–छेउमा उभिएकामध्ये एकजना प्रसिद्ध क्यानेडियन डाक्टर नारमन वेथ्युन र अर्का केही युवा जस्तो लाग्ने प्रसिद्ध अमेरिकी पत्रकार एडगर स्नो रहेछन् । चिनिया क्रान्ति कालमा चिनिया क्रान्तिकारी तथा त्यहाँका जनताको अन्तर्राष्ट्रियवादी भावना सहित नि:स्वार्थ भएर सेवा गर्ने विचार बोकेर चीनमा आएका डाक्टर नारमन वेथ्युनका सम्बन्धमा हामीले केही दिन पहिले मात्र ‘सचित्र चीन’ मा चित्रसहित सविस्तार पढेका थियौं । यस्तै, माओत्सेतुङले युद्ध कालमै आधार इलाकामा बसेर एडगर स्नोलाई लामो अन्तर्वार्ता दिएको कुरालाई थुप्रै आकर्षक तस्वीरहरू सहित प्रकाशित गरिएको पत्रिका पनि हामीले पढेका थियौं । ती सामग्रीहरू पढेपछि वेथुन र स्नोप्रति औधी श्रद्धा र सम्मान जागेको थियो हामीमा । उनीहरूका जीवन्त तस्वीरहरूलाई हामीले साह्रै गढेर हेरेका थियौं,आँखा र मनमा सुरक्षित राखेका थियौं । तिनै दुई श्रद्धेय व्यक्तित्वका तस्वीर जुडिथले हामीलाई देखाउँदा हाम्रो मन छचल्किएको थियो । जुडिथ हामीलाई झन् राम्री लागेकी थिइन् ! हामीले मन पराएको वामपन्थी विचारबारे सायद उनले केही कुराहरू बुझिसकेकी थिइन् । यी विषयप्रतिको उनको विशेष रूचि देख्दा हामीलाई त्यस्तो लागेको थियो ।

फोटोमा बीचमा उभिएका व्यक्तिलाई देखाउँदै उनले भनेकी थिइन्– यी नातामा मेरा हजुरबा पर्ने व्यक्ति हुन् । जुडिथको कुरा सुनेपछि रत्न र म आश्चार्यचकित भएका थियौं । त्यसपछि त उनी हाम्रा लागि झनै विशेष निकटकी लाग्न थालिन् । उनीसित सामीप्यता बढ्दै गएपछि हामीले आफूसित गाँसिएका राजनीतिक र वैचारिक प्रसङ्गहरू अलिअलि उठाउन थालेका थियौं । विस्तारै विस्तारै राजनीतिक विचारधाराका बारेमा खुलेरै कुरा हुन थालेको थियो जुडिथसित ।

हामीले कुनै एउटा पक्षमा फैसला गर्नै पर्ने भयो । छात्रवृत्तिको खोजी गर्दै राम्ररी लेखपढ गरी निजी जीवन र भविष्य बनाउन तम्सिएका नौजवानको रूपमा रहने वा क्रान्तिकारी परिवर्तनको अभियानमा अग्रसर भएर सम्पूर्ण रूपमा बलिदानी भावना बोकेर हिाड्ने क्रान्तिकारी कम्युनिष्ट पार्टीको भूमिगत कार्यकर्ता बन्ने ? पढाइ, घर परिवार,नाता–सम्बन्ध तथा सम्पूर्ण रूपमा सामाजिक–सार्वजनिक परिचय आदि सबैलाई त्यागेर भूमिगत भएर राजनीतिक काम गर्ने पृष्ठभूमि र परिवेश क्रमश: बन्दै थियो वा त्यो हामी स्वयं बनाउँदै थियौं । यस्तो निर्णयमा हामी जतिजति पुग्दै थियौं, त्यतित्यति नै हामी जुडिथसितको भेटघाटलाई पातलो बनाउँदै लैजाने काममा पनि लाग्नथाल्यौं । मैले भूमिगत भएर मध्य तराईको धनुषातिर जाने निर्णय गरें । रत्नले पूर्वी पहाडको इलामतिरै पार्टीसित सम्बन्धित भएर काम गर्ने आफ्नो योजना सुनाउनु भयो ।
यो योजनाको टुङ्गो गरिरहँदा हामीलाई निजी, व्यक्तिगत वा पारिवारिक रूपमा बाँध्ने बन्धनरूपी विषयहरूलाई कसरी पन्छाउँदै जाने र कसरी बन्धनमुक्त हुने – त्यसै कुरामा केन्द्रित हुन थाल्यौं । पारिवारिक साइनो सम्बन्धसितको आउजाउलाई क्रमश: कम गर्दै लग्यौं । निजी रूपमा जोडिएका कतिपय वस्तुहरू छोड्दै–त्याग्दै गयाौ । यहाँसम्म कि पढाइपछि प्राप्त गरेका प्रमाण–पत्रहरू र नागरिकता प्रमाण–पत्र समेत मैले च्यात्ने र डढाउने निर्णय गरें । मेरो बुझाइ के थियो भने ती प्रमाणपत्रहरू मलाई निजी स्वार्थमा बाँध्ने अर्थात् मलाई जनता र देशका लागि समर्पित भएर सम्पूर्ण रूपमा लाग्नबाट रोक्ने बन्धनहरू हुन् । ती बन्धनहरू तोड्नैपर्छ भन्ने मलाई लाग्दै गएको थियो । यही निष्कर्षद्धारा निर्देशित हुँदै एक दिन मैले आफूले पढेर प्राप्त गरेका प्रमाणपत्रहरूलाई एक ठाउँमा जम्मा गरेर जलाइदिएँ । त्यही अग्निज्वालामा नागरिकताको प्रमाण–पत्र समेत होमिदिएँ । उड्दै गरेको धुवाामा मलाई आफ्ना सपनाहरू त्यसैत्यसै उड्दै गरेको र अनन्त आकाशमा बिलाउँदै गएको आभास भएको थियो । मैले त्यसलाई नियालेर हेरिरहो । शुरूमा केही पीडा जस्तो भए पनि पछि घोचेर पीडा दिइरहेको काँडा निकाले जस्तो भएको थियो मलाई ।

यो कुरा गरिरहँदा मैले रत्नलाई यसबारे सुँइको समेत दिएको थिइन । विद्रोहको यो बिन्दुसम्म पुग्ने विषयमा रत्न तयार भइहाल्ने अनुमान मैले गर्दा पनि गरिन । रत्नले मलाई त्यसअघि नै सन्दर्भवश एक पटक भन्नु भएको थियो – ‘यी प्रमाण–पत्रले तपाईंको बाटो छेक्दैनन् । परिवर्तनको अभियानमा विद्रोही विचार बोकेर हिँड्ने सङ्कल्प गरिरहँदा, जनताको मुक्ति अभियानमा निस्वार्थ ढङ्गले लाग्ने उद्देश्य राख्दा अहिलेसम्म आफूले मेहनतपूर्वक गरेका कामहरूको प्रमाण स्वरूप प्राप्त चीजले के बिगार्छ र ? विचार र अठोटमा दरो भएर उभिादा कसैले केही बिगार्न सक्तैन ।’
रत्नको विचार बुझेपछि मैले आफ्ना सबै योजना उहाालाई बताउन चाहिन । उहाालाई बताउँदा म आफू आफ्ना योजनाबाट पछि हट्नुपर्ने हो कि भन्ने डर लागेको थियो । त्यसैले रत्नले मैले गरेका ती कामबारे केही थाहा नै पाउनु भएको थिएन । मैले सबै कुरा आगोमा डढाइरहँदा मसित भएका केही तस्वीरहरू आगोमा झोस्न मलाई निकै कठिन भएको थियो । आफ्ना व्यक्तिगत तस्वीरहरू, साथीहरूसित बसेर खिचेका तस्वीरहरू, विशेष मन मिल्ने साथीहरूसित अत्यन्त आत्मीयता झल्कने हिसावले खिचिएका सुन्दर तस्वीरहरू – ती सबैलाई मैले डढाऊ कि नडढाऊ भन्दै एकएक गरी डढाएको थिएँ । तर, एकैपटकमा नसकेर पटक पटक गरेर मैले यी काम गर्नुपरेको थियो । मैले यी सबै काम कुनै स्वार्थ र माया मोहमा नपरी क्रान्तिकारी बन्नका लागि, देश र जनताको निस्वार्थ सेवाका लागि, त्यसमा कुनै पनि निजी कारणहरू बाधा र बिरोध नपरोस् भन्नका लागि गरेको थिएँ । विशुद्ध क्रान्तिकारी भावनाबाट प्रेरित भएर यी सबै काम गरेको थिएँ मैले ।

सबै कुरा त्यागी भूमिगत कार्यकर्ता बन्ने निर्णय गरेपछि नै मैले यी सबै काम गरेको थिएँ । अन्तिम फैसला गरिरहँदा मलाई एक किसिमले आनन्द पनि मिलेको थियो, प्रसव पीडामा रहेकी आमालाई सुन्दर सन्तानको जन्म भएपछि पीडाकै बीचमा पनि आनन्द प्राप्त भएजस्तै भएको थियो । मलाई कताकता सारा बन्धनमुक्त भए जस्तो लागेको थियो । अब मुक्त भएर क्रान्तिकारी वातावरणमा सास फेर्न पाउने भएँ भन्ने सोचाइबाट म हषिर्त बनेको थिएँ । मैले त्यसबेला जुडिथलाई बिर्सिएको थिएँ । स्विट्जरलैन्डको छात्रवृत्तिलाई पनि बिर्सिएको थिएँ । रत्नलाई काठमाडौमै छोडेर म मध्य तराईको धनुषा जिल्लाको ग्रामीण वस्तीका भूमिहीन–गरिब किसान जनताको बीचमा राजनीतिक काम गर्ने दृढ अठोटका साथ प्रस्थान गरें ।

(शहिद रत्न बान्तवाको स्मृतिमा ईश्वर पोखरेलद्वारा लिखित पुस्तक पूर्वको रातो ताराको एक अंश)