२८ आश्विन २०८३, बुधबार

बम विष्फोटका नायिके सभासद साह सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjaya-Saha-Taklaजनकपुर । दुई वर्ष अगाडि जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकार भनिएका सभासद सञ्जयकुमार साहलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

२०६९ वैशाख १८ गते भएको बम विस्फोटमा परी पाँच जनाको मृत्यु भएको थियो । अन्य ३२ जना घाइते भएका थिए । धनुषा क्षेत्र नम्बर ४ बाट विजयी सभासद साह सदभावना पार्टीका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।

सभासद साहलाई केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले शनिबार वीरगन्जबाट पक्राउ गरी राति करिब ११ बजे जनकपुर ल्याएको धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । जनकपुरमा आज (आइतबार) पत्रकार सम्मेलन गरेर सभासद साहलाई सार्वजनिक गरिएको हो ।

‘अपरेसन रामा’ नाम दिएर अनुसन्धान थालेको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानका क्रममा पक्राउ परेका मुकेश चौधरी र ओमप्रकाश यादवको बयानका आधारमा साह अर्थात ‘टकला’ उक्त घटनाको मुख्य योजनाकार रहेको पुष्टि गरेको थियो ।

‘सङ्गठित अपराधअन्तर्गत सभासद साहले गराएको यो घटना अपराध माफियाभन्दा उच्च रहेको छ’, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमकुमार कार्कीले भने, ‘राजनीतिक आवरणमा भएको अपराध समाजमा आतङ्क फैलाउने शृङ्खला हो ।’

अभियुक्त साहमाथि धनुषा अदालतमा कर्तव्य ज्यान मुद्दा चलिरहेको तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

घटना गराउन सभासद साहसँग रकम लिने मध्यस्तकर्ता ओमप्रकाश यादव रहेको र उनले साहसँग रकम लिएर चौधरीलाई दिएको घटना विवरणबाट खुलेको प्रहरी भनाई छ ।

जिविस धनुषाका तत्कालीन सहलेखापाल जीवनाथ चौधरीलाई मार्न साहले चौधरीलाई रकम दिएको सार्वजनिक भइसकेको छ । शान्तिपूर्ण धर्नामा बसेका नागरिक समाजका अगुवालाई लक्षित गरी बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

जनकपुरमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा सभासद साह पक्राउ परेको जानकारी संविधानसभालाई दिइसकिएको उपरीक्षक कार्कीले बताए । साहको यादव र चौधरीसँग निरन्तर सम्बन्ध रहेकोसमेत प्रहरीले अनुसन्धानबाट खुलेको छ ।

आफ्नो राजनीतिक हैसियतका कारण अकूत सम्पत्ति कमाएका सभासद साहले सार्वजनिक हुँदा सञ्चारकर्मीलाई सम्बोधन गरी भने, ‘म निर्दोष छु, अदालतबाट सफाइ पाउँछु ।’ उनी चिन्तित मुद्रामा तथा शारीरिक रुपमा कमजोर देखिएका थिए ।

यसअघि सो घटनामा संलग्न भनिएका जयप्रकाश चौधरी, रञ्जित झा, मुकेशकुमार चौधरी, टिपेनु झा, सुरेशकुमार कर्ण र मुकेशकुमार कर्णलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपर–८, रामानन्द चोकमा धर्नामा बसेका बेलामा बम विस्फोट भएको हो । प्रहरीले सञ्चार उद्यमी अरुण सिहानियाको हत्याबारेको अनुसन्धान भने अन्तिम चरणमा पुगेको जनाएको छ ।