१६ कार्तिक २०८३, सोमबार

दार्चुलाको अधिकांश गाउँमा पानीको हाहाकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Darchula District– नरेन्द्रसिह कार्की
दार्चुला, २५ चैत । अपि हिमाल नजिकको घुसा गाविसको वडा नम्बर ७ र ८ मा निर्माण भएको साढे चार किलोवाट क्षमताको लघु जलविद्युत योजना पानी अभावमा बन्द भएको छ ।

२०७० सालमा निर्माण भएको लघुजलविद्युत उत्पादन गरिएको गुरुखोला नदीमा पानी घटेपछि विद्युत सञ्चालन हुनबाट वन्द भएको छ ।

तीन वर्षको दौरानमा पानी ह्वात्तै घटेको छ, घुसा ७ का स्थानीय अंगतसिह लोथ्यालले भन्नुभयो, पानीले मेसिन नै चलाउने अवस्था रहेन । कुनै बेला गुरु खोलामा वडा नम्बर ७ देखि ८ सम्म दर्जन बढि पानी घट्ट सञ्चालनमा रहेकामो अहिले आएर घट्टसमेत बन्द भएका छन् ।

पानीको मूहानबाटै पानी सुकेको छ, लोथ्यालले बताउनुभयो । मूहान माथि रहेको कालापातल बन सखाप भएपछि पानीको मूहान नै सुकेको हो । कालीपातल वन विगत पाँच वर्ष यता बढि नोक्सानी भएको छ । वनमा रहेका रुख तथा निंगालो सबै सखाप भएको छ । दैनिक ५।६ बढि रुख काटिन थालेपछि जंगल उजाड भएको लोथ्यालले बताउनुभयो ।
दश वर्ष अघि सो जंगलमा एक्लै जान डराउनुपर्ने अवस्था थियो । अहिले पूरै नांगो डाडा जस्तै देखिन थालेको छ । घुसा गाविसको दुई वडाका ६० घरधुरीको लागि गरिबी निवारण कोष, गाविस र मार्कण्डेय विकास समुदायको प्राविधिक सहयोगमा विद्युत उत्पादन भएको थियो । अहिले पानी घट्ट चलाउन समेत समस्या भएको छ ।

गाउँमा रहेका पानीका मूहानमा पानी नै सुकेको छ, घुसा ८ का हरकसिह कार्कीले भन्नुभयो, यस्तै अवस्था रहने हो भने, अगामी वर्षबाट पानी खोज्न जानुपर्ने अवस्था आउँछ । यस्तै गाविसको वडा नम्बर २ सितीमा रहेको थेपलागाडमा पहिला खोलातर्नै समस्या हुने ठाउँमा अहिले सञ्चालन भएका पानी घट्ट बन्द छन्, घुसा गाविस प्राविधिक सहायक अगबर जागरीले भन्नुभयो । सोही वडाको प्याउरा खोला खानेपानी मुहान सुक्दै गएपछि अहिले गाउँमा खानेपानीको हाहाकार हुन थालेको छ । वडा नागरिक मञ्चले पटक पटक खानेपानीको लागि माग गरिरहेको छ ।

जलवायु परिवर्तनको असर र वन जंगल विनास हूँदै जानुको कारण खोलानाला र खानेपानी मूहान सुक्न थालेका छन् । यस वर्ष झन लामो खडेरीका कारण पानी सुकेको जागरी बताउँछन् । गाविसमात्र हैन नजिकै रहेको अपि हिमालमै हिउँ घट्दै गएको छ । सेताम्य देखिने हिमालहरु अहिले काला पथ्थर मात्र देखिन थालेको छ । यो महिनासम्म अपि फेद धौलीओडार लगायतमा हिउँ जम्ने ठाउँमा समेत अहिले हिउँ छैन ।

सदरमुकाम खलंगामै खानेपानी अभाव छ । खंलगाको स्किम नम्बर २ मा खानेपानी समस्या भएको स्थानीयलेब बताएका छन् । अपि नगरपालिकाको वडा नम्बर ४, ५ र ६मा पानीको हाहाकार छ । भगवती गाविसको न्वालपानीमा पानीको लागि रातभर जग्राम बस्नु पर्ने अवस्था आएको छ । अहिले स्थानीय विहानको झिस्मीसेदेखि अबेर रातीसम्म एक ग्रागीको लागि लाइन बस्नु परेको स्थानीयले बताएका छन् । शंकरपुर गाविसमा समेत पानीको अभाव छ । लामो खडेरी तथा जलवायु परिवर्तनको असरको कारण खानेपानी समस्या भएको जानकारहरु बताउँछन् ।

अपि नाम्पा संरक्षण क्षेत्रको कोर गाविस रहेको ठाउँमा रहेका उपभोक्ता समिति देखि संरक्षण क्षेत्रकै जिम्मेवारी बोध गर्न नसक्दा समस्या भएको हो । अहिले त्यस क्षेत्रमा व्यापक भइरहेको बन फडानी आगलागी नियन्त्रणमा रोकटोक लगाउन सके अझै पानी जोगाउन सकिने केहि स्थानीयको भनाई छ । अपि नाम्पा संरक्षण क्षेत्रका संरक्षण अधिकृत भूमीराज उपाध्यायले भने वातावरण संरक्षणको लागि आगामी दिनमा कार्यक्रम गर्न सकिने बताउनुभयो । अहिलेसम्म पानी सुकेको बारे जानकारी नआएको भन्दै उहाँले यसबारे उपभोक्ता समिति सँग समेत छलफल गर्ने उहाँको भनाई छ ।

जिल्ला कारागार शाखामा पनि खानेपानी अभाव

सदरमुकाम खलंगामा रहेको जिल्ला कारागार शाखामा समेत खानेपानी अभाव भएको छ । कारागारमा रहेको कैदी बन्दी तथा प्रहरीहरुको लागि खानेपानी अभाव भएको जिल्ला कारागार शाखाले जनाएको छ । हिउँदको समयमा पानी घट्दै गएपछि त्यसको प्रभाव कारागारमा समेत परेको हो । अहिले कारगामार ४३ कैदी र ४ जना बन्दी रहेका छन् । कारागारमा खान सरसफाई गर्न समस्या भएपछि जिल्लास्थित सुरक्षा समन्वय समितिले खानेपानी व्यवस्थापनको लागि जिल्ला खानेपानीलाई आग्रह गर्ने भएको छ । सामान्यतया पानी पुगेपनि प्रयाप्त मात्रामा पानी पुग्न सकेको छैन जिल्ला कारागार शाखाका निमित्त जेलर मनोज कुमार शाहले बताउनुभयो । अहिलेको अवस्थामा पानी घट्दै जाने हो भने गर्मीयाममा समस्या हुने भएपछि खानेपानी व्यस्थापन गर्न लागिएको हो ।