१ कार्तिक २०८३, आइतबार

मेगा बैंक र भारतको एस बैंकबीच रेमिट सम्झौता, भारतमा रहेका नेपाली बढी लाभान्वित हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mega-Yes Bank Agreement

काठमाडौं, २५ चैत । भारतमा कार्यरत नेपालीहरुलाई स्वदेशमा सहज रुपमा रेमिट्यान्स पठाउन मेगा बैंक नेपाल लिमिटेडले भारतको एस बैंकसँग रेमिट्यान्स सम्झौता गरेको छ ।

सम्झौता पत्रमा मेगा बैंकका चिफ बिजनेश अफिसर रबिना देशराज श्रेष्ठ र एस बैंक भारतका ग्रुप प्रेसिडेन्ट अरुण अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले हस्ताक्षर गर्नुभयो ।

मेगा बैंकसँगको यो सम्झौतापछि नेपालीहरुले आफूले आर्जन गरेको रकम अब एस बैंकको रेमिट्यान्स सेवामार्फत स्वदेशमा पठाउन सक्नेछन् । मेगा बैंकले साना मझौला व्यवसाय कर्जा तथा शाखारहित बैंकिङ सेवामार्फत गाउँगाउँमा अत्याधुनिक सेवा प्रदान गरिरहेकाले एस बैंकसँगको सम्झौतापछि ग्रामीण भेगामा रहेका नेपाली झनै बढी लाभान्वित हुने मेगा बैंककी चिफ बिजनेश अफिसर रविना देशराज श्रेष्ठले बताउनुभयो । ‘एस बैंकसँगको सम्झौतापछि भारतसँग व्यापारिक कारोबार गरिरहेका व्यवसायी तथा भारतमा कार्यरत नेपालका ग्रामीण भेगका मध्यमवर्गीय परिवार सबैभन्दा बढी लाभान्वित हुने विश्वास हामीले लिएका छौं ।’ उहाँले भन्नुभयोे ।

सम्झौता अनुसार भारतस्थित एस बैंकको ११ हजार वटा एस मनी सर्भिसका एजेन्टहरुबाट सिधै नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ र पठाएको रकम मेगा बैंकको कुनैपनि शाखा कार्यालय वा देशभरि रहेका कुनैपनि एजेन्टवाट भुक्तानी लिन सकिने छ । मेगा बैंकका देशभर ३० शाखा कार्यालय, ५३ वटा शाखारहित बैंकिङ सेवा र १३ सय ५० भन्दा बढी रेमिट्यान्स एजेन्टहरु रहेका छन् ।

‘हलोदेखि हाइड्रोसम्म’को नारासहित आर्थिक समावेशिताको सिद्धान्तलाई प्राथमिकता दिँदै आएको मेगा बैंकले स्थापनाकाल देखिनै कतार, युएई, बहराइन, मलेसिया, जापान, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुकहरुको बैंक र एक्स्चेन्ज हाउसहरुसँगको सहकार्यमा रेमिट्यान्स कारोवारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आइरहेको छ ।