आवश्यकताको कुनै सिमा हुँदैन । यद्यपी महत्वाकांक्षाको चरमतालाई व्यवस्थित गर्न नसक्दा जीवनका मोडहरु परिवर्तन हुने कुरामा कुनै सन्देह पाउन सकिँदैन । आर्थिक, भौतिक सम्पतिलाई नै सफलतासँग जोड्नेहरुको यो बेजोड दौडमा जीवनको सबैभन्दा ठूलो सम्पति भनेको उसको विचार हो भन्ने कुरामा हेक्का राख्न सक्दैनौं । समाजमा देखिने आफूलाई धनाढ्य सम्झने व्यक्तिको सोचाई र विचारलाई तौलने हो भने त्यो भन्दा निचता, तरलता र मुर्खता अन्य पाउन सकिँदैन । आर्थिक रुपमा सम्पन्न हुँदैमा सफल हुनु हो भन्ने चिन्तन बोक्नु नै निचताको परिचय हो । यद्यपी यही निचतालाई नै महान सोचेर अगाडि बढ्नेहरु समाजमा बग्रेल्ती भेटिन्छन् । कहाँबाट शुरु भयो, कसले ब्याख्या ग-यो, सम्पति नै जीवन हो ।
यही भ्रमका बीचमा लाखौं वर्ष व्यतित भयो, खरबौं बर्ष यसैमा व्यतित हुनेमा कुनै शंका छैन । निश्चित ग्राममा तौलन सकिने यी मस्तिष्क नै व्यक्तिको जीवनको मुख्य आधारशीला हुन् तर यो निश्चित मस्तिष्क किन यही धन सम्पतिको पछाडि यतिधेरै लालायित रहेको पाईन्छ ? व्यक्तिको जीनबाट नै मस्तिष्कमा यसको प्रभाव पार्दछ वा वाहिरी वातावरणले यसको निर्धारण गर्दछ, यो एउटा खोजको विषय बन्नुपर्दछ । तर सरसर्ती हेर्दा वाहिरी वातावरण नै यसको मुख्य कारक तत्व हो । यही वातावरणको प्रभाव नै जीवनका पलहरु वित्ने गर्दछ । गराई र भनाईको तादात्मयता रहँदैन, यसमा कसैले पनि सन्देह पाल्नु आवश्यकता छैन । तर हामी किन सोच्न सक्दैनौं कि जीवनको यथार्थ चिन्तन के हो ? के का लागि मानव जाति जन्मन्छ ? के व्यक्तिको जिन्दगी भनेको जन्मेदेखि नै आर्थिक उपार्जन गर्नु, त्यसैको प्राप्तिका लागि सम्पूर्ण जीवन नै समर्पण गर्नु हो ?
हाम्रो समाजमा चिन्ता गर्ने आमव्यक्ति भेटिन्छन्, तर चिन्तन गर्ने कोही भेटिँदैन, यही नै हो मानसिक दरिद्रताको चर्को उदाहरण । जुन मानसिक दरिद्रताले मानिसलाई पशु बनाउँछ । जुन मानसिक दरिद्रताले आमव्यक्ति र समाजलाई नै साधनको जंजालभित्र समाहित गर्दछ र त्यसमा नै आफूलाई सफल भएको ठान्दछ ।
विचारको दरिद्रताले मानिसलाई झन्झन् मानसिक तनाव र समाजमा खाडल झन् फराकिलो पारे पनि यसको दीर्घकालिन समाधानमा ध्यान नदिनु नै आजको कमजोरी हो । समान्य जीवनभन्दा माथी उठेर जीवनलाई नियाल्नेहरुका लागि यो आम जिन्दगी निरर्थक र खोक्रो लाग्दछ । अनकन्टार मरुभूमी सरह जीवन नै कहाली लाग्दछ । तर यो सव आमव्यक्तिको खोज र सोचभन्दा वाहिरको कुरा हो । जुन सोच्न सक्दैन, जुन कल्पना गर्न डराउँदछ, जुन यथार्थसँग जुध्न र खेल्न हिम्मत राख्दैन यही नै हो यथार्थ । अरु सवै भ्रम । विश्वको इतिहासलाई नजिकबाट नियाल्ने हो भने जति पनि भए, जे भए, त्यसैको मार्गनिर्देश र नयाँपनमा यहाँसम्म आईपुगेको कुरालाई स्वीकार्न जीवनलाई नजिकबाट बुझ्न चाहनेहरुले हिच्किचाउन हुँदैन ।
जति पनि परिवर्तन, संस्कार र नयाँपनको आविस्कार भए, जीवनलाई आम निरन्तरता सोच्नेहरुको देन नभई नयाँ र जीवनलाई पूर्ण वाहिर राखेर सोच्नेहरुको आड भरोसा र निरन्तरताको उपज नै हो । जसरी जीवन र मृत्यु मात्र एक सत्य हो, त्यहीभित्र रहेको सोचाई र विद्वता नै साध्य हो भने अन्य कर्म साधन मात्र । त्यहि साध्यको सही पहिचान हुन नसक्दा, यसलाई नजिकबाट नियाल्न नसक्दा नै जीवन वर्वाद हुने गर्दछ, यही नै सत्य हो । हामी केवल साधनलाई नै सर्वोपरि मानेर घुमिरहेका छौं, यहि नै हाम्रो मानसिक दरिद्रता, यहि दरिद्रताको उपज हामी यति धेरै दुखी छौं । भौतिक रुपमा ठूलो, आर्थिक रुपमा सम्पन्न हुनु नै जीवन सफल हुनु हो भन्ने आमसोचाई नै यसको नकारात्मक पक्ष हो । योभन्दा माथी गएर सोच्नु नै आजको आवश्यकता हो । यसमा जान भने त्यति सहज छैन । यसका लागि निडर र यो भौतिक सांसारिक मामलाभन्दा वाहिर जानु पर्दछ । जीवनभित्रको साध्य र साधनको यथोचित खोजी नहुँदा संसारमा धेरै मानव जाति जन्मे, मरे त्यसको कुनै लेखाजोखा भविष्यका लागि श्रेयष्कर छैन । किनकी त्यो त केवल सांसारिक निरन्तरताको उपज मात्र थियो । एउटा शृङ्खला मात्र थिए, जुन चक्र चलिरहन्छ, अनादि कालसम्म । त्यसको कुनै अर्थ रहँदैन ।
चिन्तन गर्ने व्यक्ति जीवनमा ‘साध्य’ को परिभाषा बुझन र त्यसमा यथार्थता खोज्न चाहन्छ तर जीवनलाई ‘साधन’ मात्र सोच्ने व्यक्ति आम जीन्दगी नै सहज ठान्दछन्, जुन यथार्थभन्दा वाहिर हुन्छ । साध्य र साधनबीचको दुरी धेरै फराकिलो हुन्छ । जुन प्राप्त गर्न निकै कठिन छ ।
त्यसो भए, जीवन के हो त ? कस्तो जीवन सफल त ? के हो त चिन्तन ? के आममान्छेले चिन्तन गर्दैनन् ? यो आमजीवन जीवन नभएर के त ? चिन्तन जो कसैले गर्न सक्दैनन् । यसका लागि मानव जातिले जीवनका यथार्थतालाई आत्मासात गर्नुपर्दछ । यो पारिवारिक जगमा रहेर चिन्तन गर्न सकिँदैन । आमजीवनलाई फरक दृष्टिकोणबाट नियाल्नु नै चिन्तन हो । आम तरलताभन्दा माथि रहेर जीवन व्यतित गर्नु नै चिन्तन हो । यथार्थसँग जुध्नु नै जीवन हो । सत्यतामा अडिग रहनु नै असल चिन्तन हो । भौतिक सम्पतिभन्दा वाहिर रहेर समाजको चित्रण गर्नु नै चिन्तन हो । नयाँपन र जीवनको यथार्थतामा रम्नु नै जीवन हो । आम व्यक्तिलाई व्यक्तिगत स्वार्थभन्दा वाहिर निकाल्नु नै चिन्तन हो । जीवन दर्शन र यसको महत्वका वारेमा आमजनतालाई बुझाउनु नै चिन्तनको स्वरुप हो । यस्तो नित्कर्म जुन कर्मले समाज परिवर्तन बनोस्, जीवनमा साध्य र साधनको महत्व वुझोस् यहि नै चिन्तन हो । मानवीय मुल्य मान्यता र यसको आधारशीला खडा गर्नु नै चिन्तनको स्वरुप हो । संसारमा रहेका जति पनि जीवजन्तुको जीवनको रक्षा गर्नु नै चिन्तनको परिभाषा हो । संसारका सम्पूर्ण जीवको आफ्नै महत्व रहेको छ भन्ने कुरा बुझ्नु र बुझाउनु नै चिन्तन हो । लोककल्याणको भावना आत्मासात गर्नु नै चिन्तन हो । जुन कर्मले मानव जातिले आफ्नो यथार्थता बुझ्ने प्रयत्न गर्दछ, गराउँदछ, त्यो नै चिन्तन हो । हाम्रो समाजमा चिन्ता गर्ने आम भेटिन्छन् । तर चिन्तन गर्ने कोही भेटिँदैन । यही नै हो मानसिक दरिद्रताको चर्को उदारहण । जुन मानसिक दरिद्रताले मानिसलाई पशु बनाउँछ । जुन मानसिक दरिद्रताले आमव्यक्ति र समाजलाई नै साधनको जंजालभित्र समाहित गर्दछ र त्यसमा नै आफूलाई सफल भएको ठान्दछ ।
संसारमा आर्थिक, भौतिक एवम् हरेक पक्षमा सफल हुँदैमा सफलताको स्वादमा रमाउने व्यक्तिहरु नै समाजका कलंक हुन् । जसले समाजलाई नै बन्धक बनाएको हुन्छ, त्यही नै हो मानसिक दरिद्रता । त्यही नै हो चिन्तनको विचलन । व्यक्तिको सोच्ने शैली र दृष्टिकोणको अभाव विना हुर्किएको व्यक्तिको जीवन भनेको निरस जीवन हो । जव जीवनभन्दा माथी रहेर सोच्न, व्यवहार गर्न र त्यसको यथार्थता खोज्न सक्दैन, त्यो सृष्टिको निरन्तता मात्र हो । चिन्तन गर्ने व्यक्ति जीवनमा साध्यको परिभाषा बुझ्न र त्यसमा यथार्थता खोज्न चाहन्छ तर जीवनलाई साधन मात्र सोच्ने व्यक्तिहरु आम जीन्दगी नै सहज ठान्दछन्, जुन यथार्थ भन्दा वाहिर हुन्छ । साध्य र साधनबीचको दुरी धेरै फराकिलो हुन्छ । जुन प्राप्त गर्न निकै कठिन छ ।















प्रतिक्रिया