एजेन्सी, २५ चैत । मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले मृत्युदण्ड दिने मुलुकमध्ये चीन सबैभन्दा अग्रस्थानमा रहेको जनाएको छ ।
एमनेस्टीले चीनमा हजारौंलाई मृत्युदण्ड दिने गरिएको दाबी गरेको छ । तर यो तथ्यांक भने सार्वजनिक गरिएको छैन । चीनमा कति मानिसलाई मृत्युदण्ड दिइएको छ भन्ने यकिन तथ्यांक नभएको एमनेस्टीले जनाएको छ । यद्यपी मृत्युदण्ड दिनेक्रममा भने केही कमी आएको उसको दाबी छ ।
एमनेस्टीले चीनपछि इरान, साउदी अरब, पाकिस्तान तथा अमेरिका बढी मृत्युदण्ड दिने मुलुकको सूचीमा राखेको छ ।
धेरै मुलुकले मृत्युदण्डको सजायलाई परिवर्तन गर्दै आएका छन् । मंगोलियामा पनि मृत्युदण्डको सजायलाई हटाएर नयाँ अपराध कानुन ल्याएको छ । नयाँ वर्षको शुरुआतसँगै यो कानुन लागू हुने छ ।
एमनेस्टीका अनुसार पाकिस्तानमा मृत्युदण्डका घटना बढेका छन् । गत डिसेम्बर २०१४ पछि पाकिस्तानमा मृत्युदण्डको सजाय दिन नपाउने प्रतिबन्ध हटाइएको छ । अघिल्लो वर्ष पाकिस्तानमा ३ सय २६ जनालाई मृत्युदण्ड दिइएको थियो ।
इरानमा मादक पदार्थ सेवनबाट भएका अपराध घटनालाई मात्र आधार मान्दा सन् २०१४ मा ७ सय ४३ जनालाई मृत्युदण्ड दिइएको थियो । २०१५ मा यो संख्या बढेर ९ सय ७७ पुगेको छ ।
साउदी अरबमा सन् २०१४ को तुलनामा २०१५ मा मृत्युदण्डको वृद्धिदर ७६ प्रतिशतले बढेको छ ।
एमनेस्टीका अनुसार सन् १९८९ पछि सन् २०१५ मा सबैभन्दा बढी व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको छ ।
एमनेस्टीका महासचिव सलिल सेट्टिले सन् २०१५ मा मृत्युदण्डको सजाय दिने क्रम बढेको भन्दै यो चिन्ताको विषय भएको बताएका छन् ।















प्रतिक्रिया