३० आश्विन २०८३, शुक्रबार

प्रवासी नेपालीहरुबाट प्रधानमन्त्रीसमक्ष १२ बुँदे ज्ञापनपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Gyapan– पशुपति जि.सी. (ओमान, मस्कट)

वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका प्रवासी नेपालीका आवाजलाई समेट्दै ओएनएफ ओमानले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापनपत्र बुझाएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय ईन्चार्ज बिन्दा पाण्डे, ओएनएफ ओमान अध्यक्ष गगन कार्की र महासचिव सोमकृष्ण श्रेष्ठको उपस्थितिमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो ।

ज्ञापनपत्रमा प्रवासी नेपालीले सोही देशबाटै आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने अब आउने निर्वाचनबाटै उक्त कुरा लागू गरिनुपर्ने भनिएको छ । साथै प्रवासबाटै मतदाता परिचयपत्र बनाउन पाइनुपर्ने माग राखिएको छ । विदेशमा सिकेको शीपको पहिचान गरी प्रमाणपत्र प्रदान गरिनुपर्ने र सीप अनुसारको काम गर्ने बातावरण मिलाउन माग पनि ज्ञापनपत्रमा गरिएको छ । त्यसैगरी फ्री भिषा फ्री टिकट कडाइका साथ लागू गर्नुपर्ने, वैदेशिक रोजगारसम्बन्धी कानुन परिमार्जन गर्नुपर्ने, नियमविपरित शुल्क असुल गर्ने र अन्य किसिमका अनियमितताको विरुद्ध उजुरी गर्न भरपर्दो संयन्त्रको निर्माण गर्नसमेत माग गरिएको छ ।

ज्ञापनपत्रमा विभिन्न देशमा रहेका नेपाली नियोग तथा दूतावासमा समयमै राजदूत नियुक्त गरिनुपर्ने र आवश्यकता अनुसार कर्मचारी पनि नियुक्ति गरिनुपर्ने, बिदामा फर्किएका प्रवासी नेपालीलाई श्रम स्वीकृति र बिमा नवीकरणका लागि देखिएको विभिन्न प्रकारका समस्याको न्यूनीकरणका लागि सम्बन्धित देशमा रहेका नेपाली निकाय तथा दूतावासबाट नै नवीकरण गराईनुपर्ने, पर्यटन विकासका लागि प्रवासी नेपालीहरुका संघसंस्थालाई परिचालन गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै देशमा व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिनुपर्ने, गैरकानुनी रूपमा विभिन्न देशको बाटो प्रयोग गर्दै खाडी देशमा नेपाली महिला पु-याउने गरिएको कामलाई कडाइका साथ बन्द गर्नुपर्ने, नेपाली नागरिकता त्यागी सकेका भूपु नेपालीलाई र श्रमिक भिषामा निश्चित करार अबधिका लागि काम गर्न गएका प्रवासी नेपालीलाई राज्यले एउटै दर्जाको व्यवहार गर्न नहुने र प्रवासी नेपाली श्रमिकलाई पनि गैरआवासीय नेपालीका नामले सम्बोधन नगर्न मागसमेत गरिएको छ ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले ज्ञापनपत्रमा समेटिएका माग कार्यान्वयनका लागि सकारात्मक प्रतिक्रिया दिनुभएको बताइएको छ ।