काठमाडौँ, १५ साउन । रानीवनस्थित स्यारभन गुम्बामा बिहीबार विशेष पूजा सुरु गरिएको छ । दिवङ्गत धर्मगुरु १४औँ श्ह्यार कुनसिंग रिम्पोछेको पार्थिव शरीरको बिहीबार गरिने अन्त्येष्टि अगावै पूजा गरिएको हो ।
तिब्बती बौद्ध परम्पराअनुसार मृत्यु संस्कारका सम्पूर्ण पूजा विधि तथा पवित्र ग्रन्थको पाठ सम्पन्न गरेपछि मात्र उहाँको अन्त्येष्टि गरिने छ ।
अन्त्येष्टिका लागि भारतबाट आउनुभएका १७औँ कर्मापासहितका उच्च धर्मगुरुको सहभागितामा मृतात्माको शान्तिका लागि पूजा गरिएको हो । अहिलेको समय मृतात्मा अन्तर्भवमा अल्मलिरहने उनीहरुको विश्वासअनुसार यस्तो पूजा गरिन्छ । मृतात्मा देवलोकमा नपुगेको र मनुष्यलोकमा पनि नरहेको अवस्थालाई अन्तर्भव भनिन्छ ।
महायानी परम्पराअन्तर्गत काग्युपा सम्प्रदायका विभिन्न धर्मगुरुको पदवीलाई सर्मपा तथा कर्मपा भनिन्छ । यी दुवै पदीय जिम्मेवारी बोकेका धर्मगुरुले एक अर्काको गद्दी आरोहण तथा अन्त्येष्टिमा अनिवार्य सहभागी भई विधि विधानका संस्कार गर्नुपर्ने हुन्छ ।
धर्मावलम्बीले दिवङ्गत गुरु १४औँ सर्मपा भएको विश्वास गर्दै उहाँलाई अमिताभ बुद्धको रुपमा सम्मान प्रकट गर्ने गर्दछन् ।
तिब्बती बौद्ध धर्मका गुरु रिम्पोछेको पार्थिव शरीरको अहिलेसम्म स्वदेशी तथा विभिन्न मुलुकका कूटनीतिक र सर्वसाधारण गरी करिब एक लाख ३० हजार भक्तजनले दर्शन गरेको गुम्बाले जनाएको छ ।
उहाँको गत जेठ २८ गते जर्मनीमा हृदयाघातका कारण ६२ वर्षको उमेरमा मृत्यु भएपछि शवलाई मङ्गलबार मात्र सो स्थानमा ल्याइपु¥याई अघिल्लो दिनबाट दर्शनको व्यवस्था मिलाइएको थियो । उहाँको अनत्येष्टिका लागि सरकारका प्रतिनिधिलाई पनि निमन्त्रणा गरिएको रिम्पोछेका सहयोगी एवम् बौद्ध विद्वान टीका शेर्पाले जानकारी दिनुभयो ।
अन्त्येष्टिमा आएका भक्तजन तथा दर्शकको घुइँचोलाई व्यवस्थित गर्न करिब ५०० स्वयम्सेवक खटाइएको छ भने ठूलो सङ्ख्यामा खटिएका प्रहरीले पनि व्यवस्थापनमा सहयोग पु¥याइरहेका छन् ।
अन्तर्राष्ट्रिय तहमा बौद्ध शिक्षा तथा दर्शनलाई प्रवद्र्धन गर्नुभएका रिम्पोछेले नेपाल, भारत र भुटानलाई विशेष कर्मथलो बनाउनुभएको थियो भने दिवङ्गत गुरुको इच्छाअनुसार अन्त्येष्टि सोही गुम्बामा गरिन लागेको हो । आजै साँझसम्म अन्त्येष्टि हुने बताइएको छ ।














प्रतिक्रिया