१ कार्तिक २०८३, शनिबार

आप्रवासीद्वारा ग्रीक राजमार्ग अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Roadएथेन्स (ग्रीक), २३ चैत । युरोपका बन्द सीमामा आन्दोलनमा उत्रिएका आप्रवासी शरणार्थीहरुले ग्रीसको राजमार्गको दोस्रो भागलाई अवरुद्ध पारेका छन् ।

राजमार्गको मेसेडोनियातर्फको भागमा प्रदर्शनकारी अप्रवासीले सबै प्रकारका यातायातलाई दुवैतर्फको आवतजावतमा रोक लगाएका थिए ।

ग्रीक अधिकारीका अनुसार करिब १०० जना आप्रवासी तथा शरणार्थी सडकमा भेलाभई इभजोन सीमा नजिकबाट यातायात ओहोरदोहोरमा समस्या सिर्जना गरेको बताएका छन् ।

ग्रीकको ग्रामीण आइडोमेनी इलाका वरपर छरिएर रहेका शिविरबाट आई उनीहरुले राजमार्गमा अवरोध पु¥याएका थिए ।

सो इलाकामा पछिल्लो समय हजारौँको सङ्ख्यामा आप्रवासीले शिविरमा बसोबास गर्दै आएका छन् ।

मेसेडोनियाली अधिकारीले गएको महिना यहाँको पैदल बाटो हुँदै मेसेडोनिया आउने शरणार्थीमाथि व्यवधान पु¥याउन थालेपछि सो नाकाबन्द अवस्थामा थियो ।

यसैबीच सयौँ आप्रवासी शरणार्थीले पोलिकास्ट्रो सहर नजिक भएर दक्षिण जाने राजमार्गको वरपरका क्षेत्रमा प्रदर्शन गरी वैकल्पिक बाटो प्रयोग गरेर विभिन्न गन्तव्यमा हिँडेका मालबाहक ट्रक तथा अन्य गाडीहरुलाई प्रदर्शन गरी अघि बढ्न दिएका छैनन् ।

शरणार्थीहरुको विरोध प्रदर्शनका बीच पनि सोमबारदेखि टर्की पठाउने भनिएका आप्रवासीलाई ग्रीसले फिर्ता गर्न सुरु गरेको छ ।

सोमबारमात्रै २०२ जना ग्रीसमा शरणार्थीका लागि आवेदन नगरेका आप्रवासीलाई सोमबार टर्की पठाएको छ । उनीहरु पाकिस्तान, अफगानिस्तान, इराक तथा कङ्गोबाट त्यहाँ पुगेको बताइएको छ ।

ग्रीसको नागरिक सुरक्षा मन्त्रालयले बताएअनुसार एक महिलासहित १३६ आप्रवासीलाई लेसबसबाट फिर्ता पठाइएको जनाएको छ ।

यसरी फिर्ता पठाइएका आप्रवासीमा १२४ जना पाकिस्तानी, तीन बङ्गलादेशी, एक इराकी, दुई भारतीय, दुई श्रीलङ्काली र दुई जना सिरियाली नागरिक रहेको पुष्टि मन्त्रालयले गरेको छ ।

त्यस्तै अर्को ग्रीक टापु चिओसबाट पनि १० जना महिलासहित ६६ जनालाई टर्कीतिर फर्काइएको मन्त्रालयले जनाएको छ ।

यसमा अफगानी ४२, इरानी १०, पाकिस्तानी छ, कङ्गोली पाँच र एक÷एक जना भारतीय, सोमालियाली, आइभोरीकोस्टका नागरिक रहेको प्राप्त समाचारमा जनाइएको छ ।

यता टर्कीका प्रधानमन्त्री अहमेत दभुटोग्लुले प्रहरीलाई फिर्ता भएर आउने आप्रवासीलाई दयाभाव देखाउन आग्रह गर्नुभएको छ ।

उहाँले ग्रीसबाट टर्की फर्केका पहिलो नागरिकलाई हाम्रा नागरिकभन्दा फरक नसोच्न र सोहीअनुरुपको व्यवहार गर्न प्रहरीलगायत सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ ।

युरोपेली युनियन र टर्कीबीच केही हप्ताअघि भएको एक विवादास्पद सहमतिअनुरुप आप्रवासी शरणार्थीलाई टर्की पठाइएको हो ।

टर्कीको तटरक्षक टोलीले ग्रीसबाट टर्की फर्केका आप्रवासीलाई ग्रीसबाट टर्कीका लागि हिँडेका डुङ्गालाई सुरक्षासहित टर्कीतिर लगेको बताइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्थाले ग्रीसबाट शरणार्थीलाई टर्की पठाइनुलाई शरणार्थीको चाप व्यवस्थापन गर्ने ‘सामान्य नीति’ का रुपमा भएको जनाएको छ ।

तर, उक्त संस्थाले सहमतिलाई कसरी कार्यान्वयनमा ल्याइने छ यसलाई राष्ट्रसङ्घले निकट रहेर हेर्ने यूएनएचसीआर प्रवक्ता मेलिसा फ्लेमिङले बताउनुभयो । एएफपी