१६ कार्तिक २०८३, सोमबार

भूकम्पपीडित गाउँ-बस्ती पुनःनिर्माणको प्रक्रिया सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

House

हंसपुर (गोरखा), २२ चैत । गोरखाको गाउँ–बस्तीमा पुनःनिर्माण कार्य सुरु भएपछि अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित खुसी भएका छन् । अनुदान रकम लिएर बर्खाअघि नै घर बनाउन पाइने भएपछि भूकम्पपीडित हर्षित हुन् ।

सरकारले व्यक्तिगत घर बनाउन अनुदान रकम दिने निश्चित भएपछि भच्चेक बजारस्थित राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्नेको घुइँचो लागेको छ । पुनःनिर्माणका लागि अनुदान रकम लिन सरकारले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने नियम बनाएपछि पीडित खाता खोल्न बैंक पुगेका हुन् ।

इन्जिनियरको टोलीले विद्युतीय तथ्याङ्क सङ्कलन गरेपछि दिएको ‘सेतो कार्ड’ लिएकाले अनुदान रकम पाउँछन् ।

यस्तै पुनःनिर्माण प्राधिकरणले गाउँमा टाँस गरेको नामावलीमा नाम पर्नेले अनुदान रकम पाउने व्यवस्था मिलाइएको छ । घर भत्किएका पीडित र गाविस सचिवबीच सम्झौता भएपछि बैंक खातामार्फत पहिलो किस्ता ५० हजार वितरण गरिन्छ ।

“पुनःनिर्माणको प्रक्रिया सुरु भएकामा हामी खुसी छौँ । छिटो अनुदान रकम उपलब्ध गराएर घर बनाउनुप¥यो”, हंसपुर–४ काफलडाँडाका ठाकुर विकले भन्नुभयो । राजनीतिक खिचातानीले गर्दा पुनःनिर्माणको काममा ढिलाइ भएको बताउँदै उनले आउँदो बर्खाअघि नै घर बन्ने गरी द्रुत गतिमा काम हुनुपर्नेमा जोड दिए ।

हंसपुरका लुमनाथ लामिछानेले सरकारले जारी गरेको मापदण्डअनुसार बनेका घरका नक्साभन्दा अन्य नक्सामा आधार रही घर बनाउन पाउनुपर्ने बताए । “सरकारले बनाएको नक्साले भएन । हामी आफ्नै शैलीको नक्सा बनाउँछौँ”, उनले भने, “नक्सा फरक प¥यो भनेर पैसा रोक्न पाइँदैन ।”

भच्चेकमा बैंक भएकाले हंसपुरबाट पुनःनिर्माणको काम सुरु गरिएको पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाका प्रमुख गुणराज भट्टराईले बताए । “अनुदान रकम पाउनेको सूची टाँस गरिसकेका छौँ”, उनले भने, “चैत २८ गते पहिलो किस्ताको ५० हजार रुपैयाँ बैंक खातामा रकम पठाउँछौँ ।” अनुदान रकम पाएपछि भूकम्पपीडितले प्राधिकरणले खटाएको इन्जिनियरको सल्लाहअनुसार नयाँ घर बनाउनुपर्ने उनले बताए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार नामावलीमा नाम छुटेको भए पुनः दर्ता गर्न सकिन्छ । “वास्तविक पीडितको नाम छुटेको हुनसक्छ । प्राधिकरणका कर्मचारीको उपस्थितिमा नाम, थर, ठेगाना सच्याउन मिल्छ”, उनले भने । हंसपुरबाट पुनःनिर्माण अभियान सुरु गरिएको बताउँदै उनले ६० गाविस र दुई नगरपालिका क्षेत्रमा पनि क्रमशः पुनर्निर्माणको प्रक्रिया सुरु गरिने बताए । भूकम्पले गोरखाका करिब ७० हजार व्यक्तिगत घर भत्किएको तथ्याङ्क छ । रासस