काठमाडौं, २२ चैत । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा आफ्ना मन्त्री पठाएसँगै एमाओवादीले पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सरकार सञ्चालनमा सहयोग तथा समन्वय समिति बनाएको थियो, पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई जनताप्रति जिम्मेवार र जवाफदेही बनाउन ।
श्रेष्ठ संयोजक रहेको यो संयन्त्रले २३ बुँदे आचारसंहिता नै जारी गरेको थियो । धेरैले माओवादीले गरेको हल्लीखल्ली देखेर योपटक केही गर्ने लख काटेका पनि थिए ।
विगतमा एमाओवादीले गरेको गल्ती स्वीकार्ने आशा योपटक धेरैले गरेका थिए । तर, यो संयन्त्रले पनि विगतको जस्तै हल्ला बढी र काम भुत्लोभाङ केही नगरेको भन्दै एमाओवादीभित्रै असन्तुष्टि चुलिएको खबर छ ।
अरुलाई अनुशासित बनाउनु पर्ने संयन्त्रको संयोजकले नै ‘जो अगुवा उही …’ भनेजस्तो रवैया देखाउँदै अनावश्यक दबाब दिन लागिपरेको भन्दै स्वयं एमाओवादी मन्त्रीहरुले नै पार्टी अध्यक्षसमक्ष असन्तुष्टि पोखेको खबर छ ।
संयन्त्रको संयोजक भएपछि नारायणकाजीले मन्त्रीहरुको कामकारबाही नियालेर अनुशासनमा राख्नुपर्ने हो । सुरुका दिनमा उनले अनुशासनमा राख्न प्रयास गरेजस्तो पनि देखिएको थियो ।
मन्त्रीले नटेरेको भन्दै केही महिनाअघि उनले राजीनामा समेत दिएका थिए । तर, प्रचण्डको आग्रहपछि संयन्त्र संयोजक र आचारसंहिता भुलेर आफैं अनुशासनहीन बन्दै गएको गुनासो एमाओवादी मन्त्रीले गरेका छन् । साँघु साप्ताहिकमा खबर छ ।
















प्रतिक्रिया