२८ आश्विन २०८३, बुधबार

बामदेव गौतमज्यू, तपाईंले पद किन नछाड्ने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SAMSUNG

माननीय उपप्रधान तथा गृहमन्त्री अनि नेपाली जनताको त्याग र बलिदानबाट स्थापित जनताको गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सबाद लेलिनबाद (नेकपा एमाले) का उपाध्यक्ष बामदेब गौतमज्यू !

खोई यो खुल्ला पत्र प्रकाशित भएर तपाईँसम्म पुग्ला नपुग्ला । त्यही पनि तपाईका पछिल्ला क्रियाकलापले गर्दा आज सच्चा मातृभुमिप्रति माया गर्ने जो कोही नेपाली अनि दोस्रो संबिधानसभाको निर्बाचनमा दुई ठाउँबाट अमुल्य मत दिएर जिताउने ती महान नेपाली जनता एवम् एमालेको सिद्धान्तलाई अवलम्बन गर्ने जो कोही नेपालीले पनि आज धिक्कारी रहेका होलान ।

नेकपा एमालेका पदाधिकारी र बरिष्ठ नेताहरु मध्ये सबैभन्दा पहिला पार्टी सदस्यता लिने नेता भएपनि नेपाली जनताको पक्षमा तपाईंले माखोमार्न सक्नुभएको छैन । मदन आश्रितको हत्या गिरिजाले गरेका हुन् भनेर सड्क बितण्डा मच्चाउने अनि पटकपटक गृह मन्त्रालय सम्हाल्न पुग्दा पनि हत्याराको बारेमा गुत्थी पहिल्याउन नसक्ने तपाई नै हुनुहुन्छ । हालसम्म गरी तीनचोटी गृह मन्त्रालयको बागडोर सम्हाली सक्नुभएको तपाईँ खाली कर्मचारी तथा प्रहरी सरुवा बढुवामा केन्द्रित हुनुको अर्थ के ?

तपाईंको खाली प्रहार शान्ति सुरक्षाको क्षेत्रमा अहोरात्र खटिने ती बहादुर नेपाली आमाका सन्ततिप्रति किन हुन्छ ? २०५३ सालमा पहिलोपटक गृहमन्त्री हुँदा प्रहरी महानिरीक्षक पदमा बढुवा भएको ३६ दिनमै अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान बिभागमा सरुवा गरेर ध्रुब बहादुर प्रधानलाई महानिरीक्षक बनाउने क्रियाकलाप गरेजस्तै आफनो कर्तब्यनिष्ठमा अडिग रहेर अपराधीप्रति कठोर र इमान्दार छबि बनाएका प्रहरीलाई प्रोत्साहित गर्नुको साटो हतोत्साहित गर्ने तपाईँ, के प्रहरी संगठन तपाईको निज िसम्पत्ति हो र ? डीआईजीद्घय प्रतापसिंह थापा र बिरेन्द्रबाबु श्रेष्ठले तीन करोडको ब्रिफकेस बुझाएका कारण बढुवा सुचीमा पारियो रे आखिर किन ? देशको शान्ति सुरक्षा र अस्तित्वसमेत रहेको बिषयलाई पैसासँग तुलना गर्ने किन ? हत्या आरोपमा सर्वस्वसहित जन्मकैद सुनाइका ओखलढुङ्गाका एमाओवादीका पूर्बसभासद बालकृष्ण ढुङ्गेललाई अहिलेसम्म फेला नपरेको बताउने तपाई करोडौको ब्रिफकेस कहाँबाट र कसरी फेला पार्नुहुन्छ ? पञ्चायतकालमा कार्यकर्ताले दिएका ती लोकप्रिय नाम भैरब चौधरी अनि हली दाईको पँगरी आज बामदेब गौतमज्युलाई भारी लाग्यो कि क्या हो ?

bamdev-gautam

सत्ता र शक्तिको भरपुर उपयोग गर्न नपाएको झोक अनि २०५४ सालमा खड्कप्रसाद ओलीसँगको द्घन्द्घमा नेकपा एमालेलाई बिभाजन गरि नेकपा माले बनाउँदै पदको डिल गरी पुनः एमालेमा फर्किएपनि एमाले पार्टीको शाखलाई तपाईको क्रियाकलापले धमिल्याई रहेको छ । कानुनको संरक्षक बनेर गृह मन्त्रालय सम्हाल्न पुग्नुभएको तपाईँ नेपाली पोशाकमा ठाँटिएर रोड डिभाईडर नाघी नियम कानुनलाई कालोबुटले कुल्चने, अनि नेपाली जनतासँग माफी माग्नुको सट्टा जनताको वाक स्वतन्त्रता माथि लाठी बर्साउने काम भैरह्यो ।

एमाले नेता तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको आज जताततै चर्चा भइरहँदा तपाईंका क्रियाकलापप्रति नेपाली जनता किन उदास छन् ? हुन त संसदमा एमालेकै सभासदले शान्ति सुरक्षा कायम राख्न असफल भएको भनेर राजीनामा पनि मागेका थिए । समाचार लेखिएकै भरमा कारोबार दैनिकका कालिकोट संबाददाता रमेश रावललाई कालीकोटका प्रमुख जिल्ला अधिकारीबाट धम्की आएर जिल्ला छोड्नुपर्ने अबस्था आयो आखिर किन गृहमन्त्रीज्यू, कहाँ छ तपाईंको गृह प्रशासन ?

भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले सुस्ताका नेपाली जनतालाई कति यातना दिइरहेका छन् यसको बारेमा तपाई जानकार भएपनि केही गर्न सक्नुहुन्न किन ?

नेपाली जनतालाई थाहा छ, २०५७ सालमा एक नम्बर भष्ट्रचारी भन्दै टुँडिखेलबाट घोषणा गर्ने र पार्टी सदस्य मध्येबाटै अदालतमा समेत मुद्दा हाल्ने प्रक्रियासमेत चलेको थियो तपाईँका क्रियाकलापले तपाईँलाई । कुनै बेला माओवादीलाई दमन गर्न आतंककारी ऐन ल्याउने तपाई त्यसको दोष पखाल्न माओबादी पार्टीमा जान प्रचण्डसँग लबिङ नगर्नु भएको नि होइन, तर एमाओबादीले पत्याएनन् भन्ने खबर बाहिर आयो । तर, तपाईंले खाँटी कुरा कहिल्यै बोल्नुभएन । हुन त सुरासुन्दरी काण्डदेखि टिवडेवाला काण्ड अनि बिराटनगरका गिरीथरका कांग्रेसीलाई दुई करोड दिएको घटनासम्ममा बामदेब गौतमकै आखिर किन चर्चा हुने गर्दथ्यो र ?

तसर्थ बामदेब गौतमज्यू तपाईको क्रियाकलापले एमालेको शाख गिराउने पक्का छ । जनताको त्याग र बलिदानबाट बनेको यो गौरबशाली पार्टीको गरिमालाई बचाउनका लागि पनि तपाईँले गृहमन्त्रालय त्यागेर गोकर्ण बिष्ट, रबिन्द्र अधिकारी जस्ता युवापूस्तालाई ठाउँ दिन जरुरी छ । जसले गर्दा नेकपा एमालेको लोकप्रियता अझ बढछ् । देश, जनता, पार्टीभन्दा ठूलो तपाई जतिसुकै ओहोदामा रहेपनि हुन सक्नुहुन्न, लोकतन्त्रमा जनता मालिक हुन्छन् तपाईमा यो कुराको चेतना भया ।

(हाल: दक्षिण कोरिया)