१ कार्तिक २०८३, आइतबार

दार्चुलाका एकसय बढी दलित परिवार विद्युतबाट बञ्चित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दलित बस्तीको एक घर छेउमै गाडिएको विद्युतपोल
दलित बस्तीको एक घर छेउमै गाडिएको विद्युतपोल

– नरेन्द्रसिह कार्की
दार्चुला, १९ चैत । देथला गाविसको वडा नम्बर ६, ७ र ८ का दलित समुदाय विद्युतबाट वञ्चित भएका छन् । देथलाको दलित समुदाय बसोबास गर्ने तीन वडाका एक सय बढी घरधुरी विद्युत सेवाबाट वञ्चित भएका हुन् ।

गाविसको गैरदलित बस्ने अन्य वडाहरुमा विद्युतको लाइन घर घरमा भएपनि दलित बस्ने समुदाय अन्धकारमा बस्न बाध्य भएको देथला ८ का भागरथी लोहारले बताइन् । विद्युत सेवा नपाउँदा दलित समुदाय निराश भएका छन् । दलित भएकै कारण आफुहरुले विद्युत पाएनौ देथला ८ का सरस्वती दमाईले भनिन्, छोराछोरी पढाउन अहिले पनि टुकीको सहारा लिनुपरेको छ । परीक्षा चलिरहेको बेला छोराछोरीलाई टुकिको सहारा छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, स्थानीय विकास अधिकारी, सहदेव रायमाझी लगायत सुरक्षा निकायका प्रमुखहरु देथला पुग्दा दलित समुदायका महिलाहरुले विद्युतबाट आफुहरु बञ्चित गराएको बताएका हुन् ।

हाम्रै खेतमा विद्युतका पोलहरु छन्, देथलाबाटै नौगाड लघुजलविद्युत, र चमेलिया जलविद्युत आयोजना यहिबाट भएर गएको छ । गैरदलित हामी भन्दा माथिल्लो गाउँमा पनि छन्, उनीहरुको घरमा विद्युत बल्ने तर हाम्रो घरमा बत्ति किन बल्न सक्दैन, देथला ८ का धङ्के लावडले भने ।

दुई वर्षअघि गैरदलितले बत्ति बाले, राष्ट्रिय प्रसारण लाइन पनि यहिबाट भएर गएको छ , हामी दलित भएकै कारण बत्ति पाएनौ, देथला स्थानीय रमेश विक भन्छन्, विद्युतको लागि पटक पटक सडक अवरुद्ध गर्दा पनि पाउन सकेका छैनौ ।

राजनीतिक दलहरुले समेत हामीलाई हेर्न सकेनन् रमेश विकले भने, हामी सबै बाट पीडित भएका छौ । देथलाको वडा नम्बर ६ मा २५ घरधुरी, वडा नम्बर ७ मा ५५ र वडा नम्बर ८ का ४५ बढि दलित घरधुरी विद्युतबाट वञ्चित भएका छन् ।

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका प्राविधिक प्रमुख पदमबहादुर वमले पनि दलित वस्तीमा विद्युत दिन नसकिएको बताए । ०७०।७१ मा विद्युत लाइन विस्तार गर्दा सबै क्षेत्रका स्थानीयले विद्युत पाउन नसकेका हुन् । ठेकेदारमार्फत ढुवानी भएको विद्युतका पोलहरु उनीहरु आफ्नो गाउँमा लिन नसकेपछि विद्युत सेवा पाउन बाट वञ्चित भएका हुन् । पहुँच र लिन सक्ने घरमा विद्युत लाइन जोडिएकै हो उनले भने, दलित समुदायको टोलमा यस पटक प्राथमिकताका साथ लाइन वितरण हुन्छ, बमले भने, यस पटक विद्युत लाइन विस्तारको लागि पोल खरिद गर्न टेण्डर भइसकेको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दलित समुदायमा विद्युत समस्याबारे आफुले नेपाल विद्युत प्राधिकरण प्रमुख सँग कुराकानी गर्ने बताए । दलित बस्तीमा यस वर्ष विद्युत लाईन विस्तारको लागि म कार्यालय प्रमुखलाई भन्छु उनले भने । दलित भएकै कारण उनीहरुको घरमा बत्ति बल्नु सह्य हुँदैन, प्राथमिकताका साथ विद्युत र पानीको बारेमा कुराकानी गर्छु उनले भने ।