२९ आश्विन २०८३, बिहिबार

विषादी छर्कनेलाई झन धेरै रोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bisadiझापा, १५ साउन । चियाबगानमा लगातार २५ वर्ष काम गरेका गंगाबहादुर दर्जीले भर्खरै अनिवार्य अवकाश पाए।

५८ वर्षका उनलाई बगानले दीर्घसेवाबापत केही रकम हातमा राखिदियो। तर, उनी खुसी हुन सकेनन्। बगानमा काम गरेकै कारण दुवै आँखाको स्वाभाविक दृष्टिक्षमता गुमाएका उनलाई दीर्घसेवाबापत आँखाको रोग बोक्नुपरेकोमा दुःख छ।

ज्यामिरगढीस्थित सतीघट्टा टी इस्टेटमा विषादी छिट्ने ड्युटीमा थिए उनी। अधिकांश समय विषादीको ट्यांकी बोकेर चियाका बुट्टाबुट्टा चहारे। ‘उमेर छँदै आँखा कमजोर भएका थिए,’ दर्जीले भने, ‘डाक्टरलाई देखाउँदा विषादीको असरले हो भने। आफ्नो कामै त्यही भएकाले चुपचाप गरेँ। अहिले पछुतो लाग्दै छ।’

चिया बगानमा सुरक्षात्मक उपायबिनै विषादीसँग दैनिक खेल्ने मजदुर झापामा सयौं छन्। मानव स्वास्थ्यका लागि अति घातक मानिने विषादीको संसर्गले उनीहरू अनेकौं रोगको उच्च जोखिममा छन्। तैपनि त्यसबाट जोगिने उपायबारे मजदुर बेखबर छन्। चिया बगान प्रतिष्ठानले पनि मजदुरको स्वास्थ्य सुरक्षाबारे गम्भीरता देखाएका छैनन्।

मजदुरहरूका अनुसार प्रत्येक बगानमा निश्चित संख्याका कामदारले वर्षभरि विषादीकै काम गर्नुपर्छ। चियाका बुट्टावरिपरिका झार मार्ने युडिसाइड, कीरा मार्ने पेस्टिसाइड र हरियो पत्तीको उत्पादन बढाउने फोलियरलगायत विषादीसँग खेल्नुपर्छ । यी तीनथरी विषादी वर्षभरि नै कम्तीमा तीन–तीनपटक प्रयोग हुन्छ। यी सबै विषादी मजदुरले बाह्रै महिना सुरक्षा कवचबेगरै प्रयोग गर्छन्।

चिया मजदुरलाई आँखाको रोग, नाकमा संक्रमणलगायत गम्भीर स्वास्थ्य समस्या देखिने गरेका छन्। ‘लामो समय काम गरेका अधिकांश मजदुरलाई आँखाको समस्या देखिएको छ,’ नेपाल चिया स्वतन्त्र मजदुर युनियनका अध्यक्ष भरत राई भन्छन्, ‘विषादी छिट्ने मजदुरलाई कतिपय बगानले सुरक्षा कवच दिँदैनन्, दिएको ठाउँमा पनि प्रयोग गर्न मजदुर झिँझो मान्छन्।’

उनका अनुसार झापामा मात्रै ५ सय हाराहारी मजदुर विषादी छिट्ने काममा छन् भन्दै आजको नागरिक दैनिकले समाचार छापेको छ । अन्य जिल्लामा पनि यो संख्या उच्च छ। महिनैपिच्छे कुनै न कुनै आन्दोलन चलिरहने बगानमा मजदुर संगठनले तिनै मजदुरलाई अघि लाएर आफ्नो शक्ति देखाउँछन्। तर, मजदुरको स्वास्थ्य सुरक्षाका उपायबारे उनीहरू कुनै आवाज उठाउँदैनन्।